१३-१९ जेठ २०७५ | 27 May - 2 Jun 2018

पुनर्निर्माणको नमूना गाउँ

Share:
  
भूकम्पमा क्षतिग्रस्त निजी घरको शतप्रतिशत पुनर्निर्माण सम्पन्न गर्ने पहिलो गाउँ बनेको छ, दोलखाको आरोङ।

दोलखाको आरोङ गाउँ ।
तीन वर्षअघिको महाभूकम्पले बेघर बनाएका धेरै स्थानका पीडितहरूको ठूलो संख्या अहिले पनि बलियो छाना भएको आफ्नै घरमा सर्न पाएका छैनन् । त्यसको कारण हो– पुनर्निर्माणको कछुवा गति । तर, दोलखाको आरोङ त्यसमा अपवाद बनेको छ । आरोङमा भूकम्पपीडितका शतप्रतिशत घर पुनर्निर्माण भएका छन् ।

जिल्लाको विकट साविकको आरोङ गाविस र हाल विगु गाउँपालिका–२ मा पर्ने यो गाउँमा ५६० वटा निजी घरको पुनर्निर्माण सम्पन्न भई २९ वैशाखमा सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ । विगु गाउँपालिका–२ का वडाध्यक्ष कृष्ण खत्री भन्छन्, “गाउँलेहरूले अर्मपर्म गरेर एकअर्काको घर बनाउन सहयोग गरेकाले शतप्रतिशत पुनर्निर्माण सम्भव भयो ।”

स्थानीय लालबहादुर खत्रीका अनुसार घर बनाउनुअघि प्रत्येक परिवारका सदस्यलाई भूकम्प प्रतिरोधी घर निर्माण सम्बन्धी तालिम दिइएको थियो । आलोपालोमा समय दिन नभ्याउनेले भने घर निर्माणको काम ठेक्कामा दिए । “हाम्रो गाउँ यति चाँडै उठ्ला जस्तो लागेको थिएन” स्थानीय दुर्गा केसीले भनिन् ।

गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्काले गाउँमा अब भूकम्पपीडितका बन्न बाँकी घर नरहेको बताए । “लाभग्राहीको सूचीमा जम्मा ५६५ परिवारको नाम थियो” उनले भने, “तीमध्ये दुई जनाको मृत्यु भएको र तीन जनालाई घर बनाउन बोलाउँदा समेत नआएपछि पुनर्निर्माण सकिएको घोषणा गरेका छौं ।”

यी घर निर्माणका लागि अन्तर्राष्ट्रिय गैरसरकारी संस्था कारितास नेपालले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मार्फत रु.३ लाखका दरले अनुदान उपलब्ध गराएको थियो । कारितास नेपालका कार्यक्रम व्यवस्थापक मणिन्द्र मल्लका अनुसार यसबाहेक निर्माण सामग्री ढुवानीका लागि थप रु.५० हजार समेत दिइएको थियो । एउटा घर निर्माणमा लागेको सरदर ६० क्यूफिट काठमध्ये १५ क्यूफिट गाउँकै सामुदायिक वनले निःशुल्क उपलब्ध गराएको थियो ।

आरोङमा बनेका घरमध्ये ९० प्रतिशत दुई कोठाका छन् । थोरै जग्गा र अप्ठेरो भूगोलले गर्दा बनेका दुईकोठे घरमा परिवारका सबै सदस्य अट्न गाह्रो भएको गुनासो स्थानीय कामी तामाङले गरे । “दुईकोठे मात्र घर हुँदा भान्सा पनि बनाउन पाइनँ” उनले भने, “अब पैसाको जोरजाम भयो भने भान्सा छुट्टै बनाउनुपर्ला ।”

बुलुङ गाउँपालिका–६ र ७ मा समेत कारितासकै सहयोगमा ६७० निजी घर निर्माण भएका छन् ।

सुस्त गति जिल्लाको

१२ वैशाख २०७२ को भूकम्पमा तुलनात्मक रूपमा न्यून क्षति व्यहोरेको दोलखा २९ वैशाखको शक्तिशाली परकम्पमा भने जोगिएन । परकम्पकोे केन्द्रविन्दु दोलखाको सुनखानी बन्दा जिल्लाभर १७७ जनाको ज्यान गयो, ६६२ जना घाइते भए । रु.५० अर्बभन्दा बढीको भौतिक क्षति भयो, सदरमुकाम चरिकोट बजारका केही पक्की संरचना बाहेक गाउँका ९० प्रतिशत घर ध्वस्त भए । जिल्लाको प्रमुख व्यापारिक केन्द्र सिंगटी, पर्यटकीय क्षेत्र जिरी र ऐतिहासिक दोलखा भीमसेन बजारमा सबैभन्दा बढी क्षति भयो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार ध्वस्त भएका ६२ हजार ८३३ परिवारका घर लाभग्राही सूचीमा परे पनि अहिलेसम्म २२ हजार १९५ घर मात्र बनेका छन् । १४ हजार घरको निर्माण कार्य शुरू नै भएको छैन । “३७ प्रतिशत घर बनेका छन्” प्राधिकरणको दोलखास्थित समन्वय सचिवालय प्रमुख निर्मल दर्शन भन्छन्, “असारसम्म ५० प्रतिशत घर निर्माण गरिसक्छौं ।” दोलखामा क्षतिग्रस्त निजी घर निर्माणमा रु.१८ अर्ब खर्च लाग्ने अनुमान छ ।

क्षति भएका ३६६ विद्यालयमध्ये अहिलेसम्म ५६ वटाको मात्र पुनर्निर्माण भएको छ । भूकम्पमा क्षतिग्रस्त ३३ वटा सरकारी कार्यालय अस्थायी टहरामै छन् । क्षति पुगेका ८० वटा खानेपानी आयोजनामध्ये १२ वटा आयोजना मात्र पुनः सञ्चालनमा आएका छन् । खानेपानी आयोजना पुनर्निर्माण नहुँदा जिल्लामा खानेपानीकै समस्या देखिन थालेको छ । जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेय भन्छन्, “पुनर्निर्माणलाई तीव्रता दिन प्रत्येक स्थानीय तहमा पुनर्निर्माण सम्पर्क व्यक्ति तोकेका छौं ।”

दोलखामा भूकम्पबाट ध्वस्त संरचना पुनर्निर्माणका लागि ८ हजारभन्दा बढी दक्ष जनशक्ति आवश्यक छ । तर, डकर्मी तालिम लिएका ६ हजार ८९१ जनामध्ये १५ प्रतिशत जति मात्र निर्माण कार्यमा सहभागी भएकाले धेरैजसो डकर्मी बाहिरी जिल्लाबाट ल्याउनुपरेको जिल्ला समन्वय समितिका समन्वय अधिकारी तुलसीनाथ गौतम बताउँछन् । “यसले गर्दा पनि पुनर्निर्माणमा ढिलाइ भयो” गौतम भन्छन्, “यो समस्या नगरपालिका क्षेत्रमा बढी छ ।”

कल्पना भट्टराई, दोलखामा

comments powered by Disqus

रमझम