विख्यात डेनिस कथाकार हान्स क्रिश्चियन एन्डरसनले पक्षीको कथा मार्फत पहिचानको खोजीलाई बिम्बात्मक शैलीमा उतारेका छन् । एन्डरसनको सन् १८४४ मा प्रकाशित ‘द अग्ली डकलिङ’ (कुरुप टिउरो) शीर्षकको सर्वकालिक कथालाई नेपालका युवा नाट्यकर्मी नाजिर हुसेनले बेजोड नाटकमा रुपान्तरण र निर्देशन गरेका छन् । कथामा सेतो हाँसले कोरलेको अण्डामध्ये एउटाबाट अरुभन्दा ढिलो गरेर कालो टिउरो जन्मिन्छ, जसलाई सेता टिउराहरुले आफ्नो समूहमा लिंदैनन् । उसले ‘आई विलङ टु यू’ भन्दै कठोर संघर्ष गर्छ र अन्ततः सम्मानका साथ मूलधारमा स्वीकृत हुन्छ ।
एन्डरसनको मूल कथाको अन्त्यमा निराश कालो हाँस देखेर बच्चाहरू उत्सुक भएको र थप खानेकुरा दिइएको वर्णन छ । असंख्य हण्डर खाएको हाँसलाई त्यसरी बालबालिकाले जीवनमा पहिलो खुशी दिएका थिए । नाटकमा चाहिं कालो हाँस आफ्नै सेतो समूहमा समाहित भएर खुशी हुन्छ ।
मानिसका दमित मनोवैज्ञानिक आवेग र कुण्ठाहरू कला मार्फत प्रस्फुटित हुन्छन् । नाटक कलाको एउटा सशक्त माध्यम हो । हिन्दू आमा र मुस्लिम बावुबाट जन्मेको बालकले पनि कालो टिउराले जस्तै समाजमा अन्तरघुलित हुन कति संघर्ष गर्यो होला ! जुन निर्देशक नाजिर हुसेनले अत्यन्त प्रभावशाली र पृथक् शैलीमा रंगमञ्चमा उतारेका छन् । नाटकबाट सिनेमामा लहसिएका नाजिरले आफ्नो आत्मसंघर्षलाई व्यक्त गर्न नाटकमा सशक्त पुनरागमन गरेका छन् ।
लगभग संवादरहित शैलीमा एकघण्टा संकेत र संगीतका माध्यमबाट कुरुप हाँसको कथा÷व्यथा र सफलतालाई पर्दामा उतार्ने काइदाले दर्शकलाई कौतूहलमय र रोमाञ्चित बनाइराख्छ । कालो हाँसले गरेको संघर्ष हरेक व्यक्तिले आफ्नो जीवन भोगाइका क्रममा गरेको हुन्छ, त्यसैले नाटक हेर्ने प्रत्येक दर्शकले त्यो अचम्मको हाँसको कथासँग एकाकार भएको महसूस गर्छन् । नाटकको ब्रोसरमा विजय बरालले लेखेजस्तै नाजिरले रमाइलोसँग काम गरेका छन् तर कामसँग रमाइलो होइन । त्यसैले रुपान्तरित नै भए पनि ‘कुरुप हाँस’ नेपाली दर्शकका लागि मौलिक खजाना सावित भएको छ ।
लजालु स्वभावका देखिने नाजिर आफैं कुरुप हाँसको केन्द्रीय भूमिकामा छन् । हाँसको आमाको अभिनयमा विजया कार्की उम्दा लाग्छिन् । मिलन कार्की, विनिता गुरुङ, किरण श्रेष्ठ, विक्रम श्रेष्ठले नाटकको लय पक्रेर कला देखाएका छन् । अनामनगरको मण्डला थिएटरमा यो नाटक २१ जेठसम्म चल्नेछ ।
शंकर तिवारी