१३-१९ जेठ २०७५ | 27 May - 2 Jun 2018

कस्तूरीको बिना

Share:
  
- डा. तीर्थबहादुर श्रेष्ठ

सुसंग से सुसंग मिले जैसे श्रीखण्ड से कपुर

कुसंग से कुसंग मिले जैसे भाङ मे धतुर

संगत, साथ र साथीका कुरामा मेरा बुवा उपरोक्त श्लोकलाई अघि सार्नुहुन्थ्यो । तर आज बेग्लै प्रसंगमा श्रीखण्ड र कपुर अनि भाङ र धतुरका कुरा अगाडि सार्दैछु । यी वनस्पति हाम्रा जडीबुटी हुन् । भाङ र धतुरबाट नशालु पदार्थहरू प्राप्त हुन्छ भने श्रीखण्ड र कपुरबाट सुवासिलो तेल ।

नेपालको वानस्पतिक वैभवमा सुगन्धित तेलयुक्त वनस्पति तथा ती तेल सम्बन्धी ज्ञान, विज्ञान, प्रविधि, बजार र विकासका बेलीविस्तार लिएर ‘नेपालका वनस्पतिजन्य सुगन्धित तेल’ नामक पुस्तक वनस्पति विभागले प्रकाशित गरेको छ । पुस्तकका लेखक डा. सीताराम अधिकारी लामो समयसम्म विभागमा कार्यरत थिए । डा. अधिकारी रसायनशास्त्रका उच्च वैज्ञानिक त हुन् नै उनको परिचयको अर्को महत्वपूर्ण पाटो पनि छ । काठमाडौं विश्वविद्यालयको द्रष्टा र स्रष्टाको रुपमा दुई दशक रजिष्टारको जिम्मेवारी बहनलाई नेपाली समाजले उच्च मूल्यांकन गर्दछ । अहिलेको प्रसंग सुगन्धित तेल भएकोले श्रीखण्ड र चन्दनबाटै कुरा कोट्याउने जमर्को गर्दछु ।

हामी र हाम्रा आराध्य देवदेवीका निधारमा लगाउने श्रीखण्डको चन्दनलाई वैज्ञानिकहरू ‘स्यान्टालम अल्बम’ भन्दछन् । अंग्रेजीमा त्यसलाई ‘स्यान्टल उड’ नभनेर ‘स्याण्डल उड’ भनिन्छ । यसमा नेपाल एवं भारतका शब्दकोशहरू मौन छन्, कसैलाई वास्ता छैन । हामी मन्दिरमा खुट्टाको स्याण्डल फुकाल्छौं, माथामा स्याण्डल उडको चन्दन लगाउँछौं र स्याण्डल उडको धूप बाल्छौं । भन्नेले जे भनुन् चन्दनको सुवास घट्ने होइन । त्यसैले त शेक्सपियर लेख्छन्, “नाममा के हुन्छ र ?”

पुस्तक नेपालका वनस्पतिजन्य सुगन्धित तेल

लेखक डा. सीताराम अधिकारी

प्रकाशक वनस्पति विभाग

पृष्ठ १२४+१४

सुगन्धित तेल लगायत अरु जडीबुटीको व्यवस्थित विकास गर्न भनेर श्री ३ जुद्धशमशेर जंगबहादुर राणाका पालादेखि स्थापना भएको वनस्पति गोश्वारा र जुद्ध प्रयोगशालालाई श्री ५ को सरकारले आफ्नो योजनाबद्ध विकासको क्रममा वन मन्त्रालय अन्तर्गत वनस्पति विभागमा स्तरोन्नति गरेर विज्ञान र प्रविधिको बाटोमा नेपालका वनस्पति र जडीबुटी विकासलाई डोर्‍याउने काम गर्‍यो । वनस्पति विभाग अन्तर्गत शाही औषधि अनुसन्धानशाला, शाही वनस्पति उद्यान, वनस्पति सर्भे तथा हर्बेरियम, हर्वल फार्म तथा जडीबुटी व्यापार केन्द्र समेत गरेर पाँच शाखा स्थापित भए । डा. अधिकारीले ती शाखाहरू कसरी स्थापित भए, तिनले गर्ने गराउने काम के हुन् र तिनबाट जनताको हित एवं ज्ञान–विज्ञानको स्तरोन्नतिमा कस्ता प्रयास भए भन्ने कुराको जानकारी यस पुस्तकमा दिएका छन् । यसै गरेर वनस्पति विभागले जन्म दिएका शाही औषधि लिमिटेड, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड तथा औषधि व्यवस्था विभागका महत्वबारेका चर्चा पनि पढ्न पाइन्छ ।

विगतका बीस वर्षलाई नियाल्यौं भने माओवादी ‘जनयुद्ध’ को त्रासद कालखण्ड, त्यसपछिको अस्थिर राजनीतिक अवस्था, त्यसमाथि बल्झेको विनाशकारी भूकम्प तथा भारतीय नाकाबन्दीको सकसले थिलथिलो भएको अवस्थामा पनि दर्जनौं उत्कृष्ट वैज्ञानिक पुस्तकहरू प्रकाशनमा ल्याउन वनस्पति विभाग सफल भएको छ । हिमाल खबरपत्रिकाको जेठ ६–१२ को अंकमा ‘वनस्पतिको डेटा ब्यांक’ शीर्षकमा कमल मादेनजीको कलम चल्यो । त्यस पुस्तकले वनस्पति विभागको उच्च मूल्यांकन गरेको छ ।

वानस्पतिक ज्ञान, विज्ञान र प्रविधिको स्रोत बन्न सफल उक्त विभाग वन तथा वातावरण मन्त्रालयको संरचनाभित्रको पुनर्गठनमा खारेजी हुनसक्ने अवस्थामा पुगेको बुझिन्छ । वाम गठबन्धनको यो सरकार र दुई ठूला पार्टीको त्यो मिलन श्रीखण्ड र कपुरको मिलन जस्तै सुवासिलो बनाउन गहन अध्ययन र दूरगामी चिन्तनको आवश्यकता छ । हचुवा निर्णय गर्न हुँदैन । हिजोको उपलब्धिमा उँचाइ थप्नुपर्ने कुरा डा. अधिकारीले प्रष्ट पारेका छन्, यस पुस्तकमा । लेखकीयमा उनले वनस्पति विभाग कसरी प्रारम्भ र त्यसको विकासक्रमको चर्चाभित्र आफ्नो संलग्नतालाई समेत जोडेर पुस्तक लेख्नुको उद्देश्य प्रष्ट्याउन चाहेका छन् । विगतका उपलब्धिलाई लिपिबद्ध गरेर भविष्यका लागि सँगालिदिने पुस्तकको उद्देश्य छ ।

स्वभावतः वनस्पति एवं रसायनशास्त्रका विद्यार्थी, अन्वेषक, अनुसन्धाता तथा सुगन्धित तेलको उत्पादन, प्रशोधन र बजारीकरणमा लागेका व्यवसायीहरू यस प्रकाशनबाट लाभान्वित हुनेछन् । तर पुस्तकमा यो कहाँ पाइन्छ, कसरी पाइन्छ भन्ने जानकारी कतै भेटिंदैन । पुस्तकको मूल पाठ दुई परिच्छेदमा बाँडिएको छ । पहिलो परिच्छेदले सुगन्धित तेल के हो भन्ने कुरा कोट्याउन थाल्छ । तेल भनेपछि हामी भान्सामा खाद्य वस्तु तार्न वा पकाउन प्रयोग हुने चिल्लो तरल पदार्थ सम्झन्छौं– तोरीको तेल, सर्सिउँको तेल, तिलको तेल, भटमासको तेल, आलसको तेल, ओखरको तेल, ढटेलोको तेल, बदामको तेल आदि । यी कुनै पनि तेल सुगन्धित तेलको परिभाषाभित्र पर्दैनन् । बरु हामीले भान्सामा प्रयोग गर्ने विभिन्न मसला जस्तै जिरा, मरिच, ल्वाङ, सुकुमेल, अलैंची, तेजपात, दालचिनी आदिको वासना स्रोतलाई सुगन्धित तेल भनिन्छ ।

तेजपात वा टिमुरलाई प्रशोधन गरेर तेल निकाल्न सकिन्छ । तिनको वासना कडा हुन्छ र छिट्टै उडेर जान्छ । वनस्पति विशेषको सारतत्वको रुपमा प्राप्त हुने भएकोले तिनलाई इसेन्सियल ओयल भनिन्छ । यस्ता तेललाई बाहिर खुल्ला राख्दा यसै उडेर जान्छ । वाष्पशील भएकोले तिनलाई भोलाटाइल ओयल पनि भनिन्छ । तिनको वासना वा महकलाई एरोमा भनिन्छ । सुगन्धित तेलको प्रयोग गरेर रोगव्याधको उपचार पद्धतिलाई एरोमाथेरापी भनिन्छ । सुगन्धित तेलको अर्को नाम एरोमाटिक ओयल पनि हो । वर्तमान विश्वमा यस्ता तेलको प्रयोग खाद्य सामग्री, शृंगारका सामग्री, औषधि उपचारका सामग्रीदेखि हाम्रा दिनचर्याको सबै पक्षमा हुन्छ ।

सुगन्धित तेलको बहुआयामिक उपादेयतालाई यो पुस्तकले उजागर गरेको छ । परिच्छेद–२ ले सुगन्धयुक्त १५ वटा बिरुवाहरूको सविस्तार वर्णन गरेको छ । अनुसूची–३ तालिका ६ मा उल्लेख भएका २३१ वनस्पति मध्येबाट छानिएका ती वनस्पति वर्तमान बजारका बहुचर्चित सुगन्धित तेलका स्रोत हुन् । प्रत्येक बिरुवाको वानस्पतिक परिचय, उपलब्ध स्रोत, प्रशोधन विधि, रासायनिक गुण तथा तिनका उपयोगिता, बजार व्यवस्था आदिबारे विवेचना गरिएको छ । प्रत्येक वनस्पति र तिनका तेललाई लिएर भए÷गरेका वैज्ञानिक अध्ययन र अनुसन्धानको सन्दर्भग्रन्थ सूचीले भावी अनुसन्धानका लागि फराकिलो फाँट तयार गरिदिएको छ । यसै परिच्छेदको दोस्रो खण्डमा बाहिरबाट आयात गरेर नेपालमा खेती गरिएका बिरुवा र तिनका तेलबारे पूरा जानकारी छ । जडीबुटी व्यवसायमा राम्रो स्थान ओगटेका ८ वटा वनस्पतिको विवरण अति उपयोगी छ ।

पुस्तकमा तीन वटा अनुसूची छन् । वनस्पति विभागको बीजारोपण सम्बन्धी ऐतिहासिक अभिलेखहरू पुस्तकले उद्धृत गरेको छ । विक्रम सम्वत् १९९३ को खड्गनिशाना, २००० र २००४ सालको सनदले जडीबुटीप्रति सरकारको सरोकार र प्राथमिकता विशेष गरेर ‘पहाडी रैती दुनियाँहरूलाई सुविधा दिने विषयमा जुन बखत जे गर्नुपर्छ सो सबै डाइरेक्टर जनरलको तजविजबाट गर्ने गराउने...’ भन्ने किटान गरेको छ । लेखकले यी सब पक्षलाई समेट्दै वनस्पति विभागको गठन, गन्तव्य, गति र प्रगतिका आधिकारिक अभिलेख तयार पारेका छन् । हामी पुस्तकलाई किताब पनि भन्दछौं । यसले फारसी शब्द ‘खिताब’ अथवा अभिलेखतिर संकेत गर्छ । त्यस अर्थमा डा. सीताराम अधिकारीद्वारा लिखित यो सामग्री पुस्तक मात्र होइन, खिताब पनि हो ।

पुस्तकको अनुसूची–२ मा सुगन्धित तेलको आयात–निर्यातका तथ्यांकहरू छन् । त्यस अनुसार हामीले जति तेल निर्यात गर्न सकेका छौं त्यसको दोब्बर आयात गर्नुपर्ने स्थिति कायम छ । अनुसूची–३ ले नेपाली वनस्पति वैभवभित्र २३१ प्रजातिका वनस्पति छन् भन्ने पुष्टि गर्छ ।

पुस्तक तयारीमा साथ दिने वनस्पति विभागका वर्तमान महानिर्देशक सञ्जीवकुमार राई, सम्पादकमण्डलका ज्योति जोशी भट्ट, सुषमा उपाध्याय, तारादत्त भट्ट, शिशिर पन्थी र रवीन्द्र अर्यालका साथमा डा. सीताराम अधिकारी बधाइका पात्र छन् । पुस्तकलाई राम्रो अध्ययन गर्ने हो भने कस्तूरी मृगले आफ्नै नाइटोमा कस्तूरी बिना फेला पारेको अनुभूति हुनेछ भन्ने मलाई लागेको छ । तर, पुस्तक फेला पार्न पाठकले कस्तूरी मृग झैं भौंतारिन नपरोस् ।

प्रस्तुतिः कल्पना भट्टराई

comments powered by Disqus

रमझम