कहाँ–कहाँ दुरवस्था
स्किल्ड बर्थ एटेन्डेन्स (एसबीए) तालिमप्राप्त जनशक्तिको उपलब्धतालाई मातृ मृत्युदर घटाउन महत्वपूर्ण मानिन्छ । डब्ल्यूएचओको तथ्यांकले नेपालमा हुने कुल वार्षिक जन्ममध्ये ५७ प्रतिशतमा मात्र त्यस्तो जनशक्ति सहभागी हुने देखाएको छ । यसबाट स्वास्थ्य मन्त्रालयले एसबीए तालिममा गरेको लगानी फलदायी नभएको प्रष्ट छ । जनशक्ति व्यवस्थापन नहुनु र खटाएका स्वास्थ्यकर्मी दुर्गममा नपुग्नुलाई सुत्केरीले दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा नपाउनुको कारण मानिएको छ ।
डब्ल्यूएचओका अनुसार, किशोरी अवस्थामा नै बच्चा जन्माउनेको संख्या दक्षिणपूर्वी एशियामा सबभन्दा बढी नेपालमा छ । नेपालमा प्रति हजार महिलामध्ये १०–१९ वर्षका ८८ किशोरीले बच्चा जन्माउने गरेको तथ्यांकले देखाएको छ । यो संख्या उत्तरकोरियामा सबभन्दा कम प्रति हजारमा ०.७ छ । बालविवाह, परिवार नियोजनका साधन बारेको अनभिज्ञता र जनचेतनाको अभावका कारण नेपालमा आमा हुने किशोरी संख्या बढेको हो । नेपालको स्वास्थ्य सेवा नै किशोर–किशोरी मैत्री हुन नसकेको विज्ञहरू बताउँछन् ।
प्रदूषणको डरलाग्दो तथ्यांक
डब्ल्यूएचओको तथ्यांकले नेपालमा प्रदूषण र यसको कारण हुने मृत्युदर पनि बढिरहेको देखाएको छ । तथ्यांकले नेपाललाई दक्षिणएशियामा यो कोटिको दोस्रो स्थानमा राखेको छ । त्यस अनुसार, नेपालमा हरेक वर्ष प्रति एकलाख जनसंख्यामध्ये वायु प्रदूषणका कारण १९३ जनाको मृत्यु हुने गरेको छ ।
प्रदूषणको कारण सबभन्दा बढी मृत्यु हुने देशमा उत्तरकोरिया (प्रति लाखमा २०७.२) परेको छ भने सबभन्दा कम माल्दिभ्स (प्रति लाखमा २५.६) देखाएको छ । नसर्ने रोगका अनुसन्धानकर्ता डा. कृष्ण अर्याल पेट्रोलियमदेखि दाउरा र गुईंठासम्मको धुवाँले प्रदूषणको दर बढाएको बताउँछन् ।
नेपालमा वातावरण प्रदूषणको मात्रा पनि डरलाग्दो छ । शहरी क्षेत्रमा पीएम २.५ को धूलोका कणको मात्रा वार्षिक ९९.५ माइक्रोग्राम प्रति घनमिटर रहेको देखाएको छ । सरकारले हावामा पीएम २.५ को मात्रा ४० माइक्रोग्राम प्रति घनमिटर तोकेको छ । डब्ल्यूएचओका अनुसार नेपाल अति प्रदूषित मुलुकहरूमध्ये पहिलोमा छ । सरसफाइको कमीबाट हुने मृत्युदरमा पनि नेपाल दक्षिणएशियामा पहिलो स्थानमा छ । नेपालमा यसखाले मृत्युदर प्रति लाख जनसंख्यामा १९.८ र माल्दिभ्समा सबभन्दा कम ०.३ छ ।
डब्ल्यूएचओको तथ्यांकले नेपालमा सडक दुर्घटनाका कारण प्रति लाखमा १७ जनाको मृत्यु हुने गरेको देखाएको छ । यो दर थाइल्याण्डमा सबभन्दा बढी प्रति लाखमा ३६.२ र सबभन्दा कम माल्दिभ्समा ३.५ छ । त्यस्तै, प्राकृतिक विपत्का कारण हुने मृत्युमा नेपाल विश्वको पहिलो स्थानमा छ । नेपालमा वार्षिक प्रति लाख जनसंख्यामा सात जनाको मृत्यु प्राकृतिक विपत्का कारण हुने गरेको तथ्यांकले देखाएको छ ।
‘युनिभर्सल हेल्थ कभरेज’ मा भने नेपाल दक्षिणएशियामा अन्तिममा परेको छ । डब्ल्यूएचओले यसमा नेपाललाई ४६ अंक दिएको छ, थाइल्याण्डलाई ७५ । ८० भन्दा बढी अंक पाए ‘युनिभर्सल हेल्थ केयर’ राम्रो भएको मानिन्छ । स्वास्थ्य सेवामा उपलब्ध जनशक्ति, पहुँच र सेवा लिन सक्ने क्षमता, स्वास्थ्य सेवा स्तरको मापन गरेर सम्बन्धित मुलुकको युनिभर्सल हेल्थ कभरेज निकालिन्छ । स्वास्थ्य सेवामा सबैको पहुँच पुग्न नसक्नु, दक्ष जनशक्तिको अभाव र आर्थिक संकटका कारण नेपालको ‘युनिभर्सल हेल्थ कभरेज’ दयनीय छ ।
सुधार भएका क्षेत्र
एचआईभी/एड्सको संक्रमण न्यूनीकरणमा नेपालले सफलता पाएको छ । डब्ल्यूएचओको तथ्यांकले नेपालको प्रति हजार जनसंख्यामा नयाँ एचआईभी संक्रमितको संख्या ०.०३ मात्र देखाएको छ । यो संख्या बाङ्लादेशमा अझ् कम प्रति हजारमा ०.०१ भन्दा कम छ । म्यानमारमा सबभन्दा बढी ०.२२ छ । त्यस्तै, नेपालमा एक वर्षमा प्रति लाख जनसंख्यामा १५४ जना क्षयरोगबाट संक्रमित हुने गरेको तथ्यांकले देखाएको छ । माल्दिभ्समा यो संख्या सबभन्दा कम प्रति लाख जनसंख्यामा ४९ र उत्तरकोरियामा सबभन्दा बढी ५१३ छ ।
तथ्यांकले नेपालमा मलेरियाको संक्रमण पनि घटेको (प्रति लाखमा ०.९) देखाएको छ । मलेरिया रोग निवारणका लागि सरकारले चलाएका कार्यक्रमको प्रभावकारिताका कारण यो जोखिम घट्दै गएको हो । नेपालले सन् २०२६ सम्ममा मलेरिया उन्मूलन गर्ने लक्ष्य राखेको छ । भारतमा मलेरिया संक्रमण प्रति हजार १८.८ र श्रीलंकामा शून्य छ । दिगो विकास लक्ष्य अनुसार, सबै मुलुकले सन् २०३० सम्ममा एड्स, क्षयरोग र मलेरिया निवारण गर्नुपर्नेछ ।
डब्ल्यूएचओको तथ्यांकले नेपालमा पाँच वर्ष मुनिका बालबालिकामा हेपाटाइटिस–बीको संक्रमणदर प्रति लाख जनसंख्यामा ०.३१ देखाएको छ । यो संख्या थाइल्याण्डमा सबभन्दा कम ०.१७ र सबभन्दा बढी म्यानमारमा २.०३ छ । बाल मृत्युदरमा नेपालको स्थान दक्षिणएशियामा बढी हुने मुलुकको चौथो स्थानमा छ । नेपालमा प्रति हजार जीवित जन्ममध्ये ३४.५ बालबालिकाको मृत्यु हुने गरेको छ । म्यानमारमा यो संख्या सबभन्दा बढी ५०.८ र माल्दिभ्समा सबभन्दा कम ८.५ छ । दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्ममा बाल मृत्युदरलाई प्रति हजार जीवित जन्ममध्ये १२ मा झर्नुपर्नेछ ।