सुशासन र समृद्धिको नारा उछाल्दै आएका प्रम ओली कर्तव्य ज्यान जस्तो फौजदारी मुद्दाका अपराधी सावित व्यक्तिलाई राजनीतिक पहुँच र स्वार्थका आधारमा अभयदान दिएपछि चौतर्फी विवादमा परेका छन् । कमजोर विपक्षी नेपाली कांग्रेसले यो घटनालाई ‘कम्युनिष्टमा निहित निरंकुशतावादी चरित्रको निरन्तरता’ को आरोप साध्ने उदाहरण बनाएको छ । तर, त्योभन्दा बढी द्वन्द्वकालीन घटनाको स्वतन्त्र छानबिन हुनुपर्ने माग राखिरहेका मानवअधिकारवादी र नागरिक समाज निराश भएका छन् ।
निराशा यसकारण पनि कि, ढुङ्गेललाई कानूनको जस्केलोबाट छुटाउने सरकारको निर्णयलाई अन्तरिम आदेशद्वारा रोक लगाउन सर्वोच्चमा परेको रिट निवेदनमाथि अन्तरिम आदेश पनि परकै विषय बन्यो । अदालतले यो घटनालाई सरकारको विशेषाधिकार भए झैं गरी व्याख्या गर्नुले थप संशय उत्पन्न गराएको छ ।
संयोगवश ढुङ्गेल त्यसबखत रिहा भएका छन्, जुन बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रम ओली संघीय समाजवादी फोरमसँग दुईबुँदे समझ्दारी मार्फत दुईतिहाइ समर्थनतर्फ अघि बढिरहेका थिए । दुईतिहाइको समर्थन मार्फत प्रमले शक्ति ‘कन्सोलिडेसन’ (सञ्चितीकरण) गरिरहनु, सरकारका सिफारिशप्रति राष्ट्रप्रमुख ‘रबरस्ट्याम्प’ सरह देखिनु र आफ्नै नजिर लत्याउँदै न्यायालय समेत मूकदर्शक देखिनुले कानूनी राजका दृष्टिकोणले अबका दिन अनिष्टकारी हुने संकेत देखिएको छ । न्याय अब निषेध भएको त होइन भन्ने सन्त्रास समेत फैलिएको छ ।
सुशासन विनाको समृद्धि
रेल, जलमार्ग, सडक र जलविद्युत् परियोजना जस्ता पूर्वाधारहरूको अनिवार्यता नै समृद्धिको पूर्व शर्त देख्ने प्रम ओलीले समृद्धिको आधारशिला सुशासन हो भन्ने कुरा चटक्कै बिर्सिएका छन् । भनिरहनु पर्दैन, सुशासनको आधारशिला नै कानूनी राज्य हो । मानव विकास सूचकाङ्कका शीर्ष स्थानमा रहेका मुलुक, खासगरी ‘स्केण्डिनेभियन’ राष्ट्रहरूले कानूनी सर्वोपरिताकै कारण समृद्धि हासिल गर्न सकेका हुन् ।
उदाहरणका लागि परसम्म जानै पर्दैन, हाम्रै सीमावर्ती भारतको बिहार राज्य केही वर्ष अघिसम्म अपराधको पर्याय झैं थियो । अपराध कर्मका कारण विकासको ग्राफमा नाकले भुईं रगडिरहेको बिहारलाई भारतकै अन्य राज्यहरू खिसिटिउरी गर्दथे । बिहारमा अंग्रेज शासनकै समयदेखि रेल गुडिरहेको थियो, ठूला ठूला कलकारखाना मौजूद थिए, सडकहरू त छँदैथियो, तर राज्यको सामाजिक र आर्थिक अवस्था भने दशकौंदेखि दारुण थियो ।
जब नितिश कुमार सन् २००५ मा लालु राज (लालुप्रसाद यादवको प्रत्यक्ष र परोक्ष शासन) अन्त्य गर्दै मुख्यमन्त्री बने, राज्य विस्तारै समृद्धि पथतर्फ लम्किन थाल्यो । बिहारले अन्य राज्यहरूको हाराहारी विकास गर्न थाल्यो, कतिपय राज्यलाई त पछि नै पार्यो । तब मुख्यमन्त्री नितिश कुमारमाथि प्रश्नहरू वर्षिन थाले, ‘बिहारमा यस्तो चमत्कार कसरी सम्भव भयो ? तपाईंको समृद्धि सूत्र के हो ?’ नितिश कुमारले समृद्धिको सूचकका रूपमा रेल, गाडी वा सडकलाई अघि सारेनन् । बरू भने, “अपराधप्रतिको शून्य सहनशीलता, जब मैले गुण्डा र अपराधी ठीक पारें कुशासन आफैं सुशासनमा रूपान्तरित भयो ।”
हाम्रा सञ्चारमाध्यमहरू दिनहुँ हत्या र बलात्कारका घटनाले भरिएका हुन्छन् । बलात्कार, तस्करी (उदाहरणका लागि ३३ किलो सुन प्रकरण) आदि घटनामा कानूनको रखवाली गर्ने प्रहरी स्वयं मुछिएको खुलासा भइरहेका छन् । न्यायालयले अपराधी करार गरेकाहरू फुक्काफाल सडकमा मात्र हैन प्रधानमन्त्री र राष्ट्रपति निवासमा समेत देखिन्छन् । तर, प्रम ओली भर्खरै घाँटी जोडिएका पुष्पकमल दाहालको स्वरमा ढुङ्गेल प्रकरणलाई सामान्य भनिरहेका छन् । हिजो दाहालको नेतृत्वको माओवादी हिंसाको प्रखर आलोचक ओलीले आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न माओवादी पार्टी मात्र होइन, तिनका ‘अपराध’ लाई समेत वैधानिक बनाउन उद्यत देखिएका छन् । कतै ढुङ्गेलको रिहाइ यसैको ‘कास्टिङ’ मात्र त होइन ? कतै माओवादी नेतृत्व हिजोका सम्पूर्ण आपराधिक गतिविधिबाट एकसाथ ‘पवित्र’ हुने ध्याउन्नमा ओलीको साथ त खोजेका होइनन् ? सत्य यही हो भने, त्यो सरकार र ओलीका लागि मात्र होइन, मुलुककै लागि दुर्भाग्य हुनेछ ।
ढुङ्गेल प्रकरणले द्वन्द्वकालीन घटनाका गम्भीर मुद्दाको सत्यतथ्य पहिल्याउन गठित बेपत्ता र सत्य निरुपण तथा छानबिन आयोगको भविष्यमा समेत प्रश्न खडा गरिदिएको छ । यसले द्वन्द्वपीडितसामु न्याय नै नरहेको आभास दिलाउनेछ । जसले अन्ततः दण्डहीनतालाई प्रोत्साहित गर्नेछ ।
कानूनको धज्जी उडेको र बेथितिले शासन–प्रशासनलाई नराम्ररी गिजोलिरहेको यस्तो अवस्थामा सुशासनको सपना देख्नु स्वैरकल्पना मात्र हुन सक्दछ । बालकृष्ण ढुङ्गेलको गिरफ्तारी प्रकरण पनि यही थियो । किनभने २०६६ सालमा सर्वोच्चबाट सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएका ढुङ्गेललाई गिरफ्तार गर्न मात्र आठ वर्ष लाग्यो, त्यो पनि सर्वोच्चबाट तत्कालीन प्रहरी प्रमुखका नाममा पक्राउ निम्ति परमादेश जारी भए पछि मात्र । सर्वोच्च अदालतबाट जन्मकैदको फैसला पछि पनि न्यायमूर्तिहरूलाई हाँक दिंदै उनी हामीबीच नै थिए । तर, प्रहरीका निम्ति भने उनी बलिउड चलचित्र ‘मिस्टर इण्डिया’ का नायक अनिल कपुर झैं ‘अदृश्य’ रहे ।
आठ वर्षसम्म न्यायालयको अनेकौं हुर्मत लिंदै फरार र मात्र सात महीना कैद सजाय भुक्तान गरेका ढुङ्गेल आज अचानक ‘असल चालचलन’ का कारण गणतन्त्र दिवसका दिन कैदमुक्त भएका छन् । यस्तै रवैया रहने हो भने उनी भोलि कानून मन्त्री बन्न पनि के बेर ! पाँच वर्ष शासनको सपना देख्ने ओलीले आफ्नो कार्यकालको मधुमास अवधिमै गरेका बालकृष्ण ढुङ्गेल नामको गर्भाधान समृद्धिका लागि पक्कै महँगो सावित हुनेछ ।
निर्वाचनताका वाम गठबन्धनलाई जनताले दिएको प्रचण्ड जनमत राजनीतिक स्थिरता र समृद्धिका लागि हो, सुशासनका लागि हो । तर, आफूलाई सेवक बन्न प्राप्त मतलाई सरकारले शासक ठान्ने प्राधिकार भएको भ्रम पाल्नुहुन्न । जनमतको अपमान जनताकै अपमान हो । बालकृष्ण ढुङ्गेलको रिहाइले जनतालाई अपमानित र स्तब्ध तुल्याएको छ ।