२०-२६ जेठ २०७५ | 3-9 June 2018

‘निजगढ विमानस्थल हाम्रो अर्थतन्त्रको गेम–चेञ्जर हुनेछ’

Share:
  

रवीन्द्र अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्नासाथ निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आफ्नो पहिलो प्राथमिकता भएको घोषणा गरे। मन्त्रीका रुपमा १०० दिनभित्रै उनले विद्यमान संयन्त्र परिचालनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतका विमानस्थलहरूमा देखिने गरिको परिवर्तन गरे। आशाको नजरले हेरिएका नयाँ पुस्ताका थोरै नेतामध्येमा पर्ने अधिकारीसँग हवाई उड्डयन र पर्यटन क्षेत्रमा उनका कार्ययोजनामा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश:

बिक्रम राई
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको ईआईए स्वीकृत भएको छ, अब कसरी अगाडि बढ्छ ?

विमानस्थल निर्माण क्षेत्र र आसपासका रुख कटानको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय भएको छ । १४–१५ सय घर स्थानान्तरण र मुआब्जाको कुरा पनि छ । धनीपुर्जा नभएकाहरूको हकमा पनि कुनै व्यवस्था गर्छौं । स्थानान्तरण गरिएला, मुआब्जा पनि दिइएला, तर अब त्यहाँ बस्न पाइँदैन ।

कहिलेसम्ममा काम शुरु हुन्छ ?

अबको दुई वर्षभित्र विमानस्थल बन्ने ठाउँ र त्यसपछि वरपरको क्षेत्र खाली पार्ने काम हुन्छ । यसका लागि विभिन्न मोडलमा समानान्तर रुपमा काम गरिरहेका छौं । कोरियन कम्पनी ल्याण्डमार्क वल्र्डवाइडसँगको समस्या हल गरेका छौं । उसले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) उचित मूल्यमा किन्ने कुरा भएको छ । उसको डीपीआर नकिन्दा मुद्दा–मामिलाको झमेला भएर काम अघि नबढ्ने भएकोले किन्ने निर्णय भएको हो । उसले मूल्य निर्धारण गर्न बाँकी छ ।

यो विमानस्थलले यत्रो चर्चा पाउनुको कारण के हो ?

सबभन्दा ठूलो इकोनोमी भनेकै विमानस्थल हो । किनभने, विमानस्थल कार्गोसँगै ठूलो संख्यामा पर्यटक भित्रिने ठाउँ हो । जहाजसँगै इन्धन आउने ठाउँ पनि हो । यस हिसाबले निजगढ हाम्रो ठूलो इकोनोमिक हब हुनेछ, जहाँ २६–२७ देशबाट उडान हुनेछ । थुप्रै देशका जहाज त्यहाँ बस्न, इन्धन भर्न आउनेछन् । त्यसैगरी निजगढबाट धेरै ठाउँमा जान सकिन्छ । यो यस्तो विन्दु हुनेछ, जहाँबाट संसारका मुख्य–मुख्य ठाउँमा पुग्न सकिन्छ । कतिले यो त दिल्लीको धेरै नजिक भयो पनि भन्छन्, तर मौसम, पछिल्लो समय बढेको ‘कन्जेसन’ आदि कारणले दिल्लीको पनि विकल्प चाहिएको छ ।

ईआईए रिपोर्टमा विमानस्थल बनाउँदा साना ठूला गरी २४ लाख रुख काटिने उल्लेख छ नि !

त्यहाँ जति रुख काटिन्छ, त्यसको शोधभर्ना १:२५ को अनुपातमा हुनेछ । अर्थात् त्यहाँ एउटा रुख काटेर देशभर २५ वटा रुख रोपिनेछ ।

सिमरा विमानस्थललाई विस्तार गरेको भए यति धेरै रुख काट्नु पर्दैनथ्यो, होइन ?

निजगढ विमानस्थल निर्माणको लक्ष्य सिमराको विस्तारबाट पूरा हुँदैन । यसको जुन ‘लोकेसन’ र मौसम छ, त्यो सिमरामा छैन । जहाँसम्म रुखको कुरा छ, त्यसको छेउमै ‘एअरपोर्ट सिटी’ नबनाउने हो भने धेरै रुख काट्नु पर्दैन । पहिलो चरणमा हामी विमानस्थलका लागि मात्र रुख काट्छौं, ईआईएले ‘एअरपोर्ट सिटी’ का लागि समेत रुख काट्न अनुमति दिए पनि । एअरपोर्ट सिटी अलि बाहिर बनाएर ग्रीन एअरपोर्ट किन नबनाउने भन्नेबारे पनि हामी सोचिरहेका छौं ।

अब निर्माणको चरण कसरी अघि बढ्छ ?

एउटा कामले अर्को काम नरोकोस् भनेर धेरै काम सँगसँगै अघि बढाएका छौं । हामी यसमा ढिलो गर्नै चाहँन्नौं । अब नेपाली सेनासँग सहमति भएर रुख कटान शुरु हुन्छ । त्यसपछि मुआब्जा र बस्ती स्थानान्तरणको काम हुन्छ । हामीले आफ्नै डीपीआर पनि बनाइरहेका छौं । त्यसपछि ‘विडिङ’ मा जान्छौं । कुन मोडलमा ‘विडिङ’ गर्ने भन्ने तयारी पनि भइरहेको छ । अबको ६ महीनामा ‘विडिङ’ मा जान सकिने हाम्रो विश्वास छ ।

यस्तो हतार किन ?

किनभने यो वास्तविक रुपमा देशकै अर्थतन्त्रका लागि ‘गेम–चेन्जर’ हो । नेपाललाई संसारसँग जोड्न यो अत्यावश्यक छ ।

भैरहवा ‘रिजनल हव’ हुँदैछ, पोखरा क्षेत्रीय विमानस्थल बन्दैछ, विराटनगर, नेपालगञ्ज र जनकपुरको पनि चर्चा छ । काठमाडौं विमानस्थल छँदैछ । विमानस्थलमा हुने यति ठूलो लगानी हाम्रो अर्थतन्त्रले धान्न सक्छ ?

हामीलाई ठूलो अन्तर्राष्ट्रिय बजारमा उपस्थित हुने कनेक्टिभिटी चाहिएको छ । काठमाडौं, भैरहवा वा अरु विमानस्थलले त्यो आवश्यकता पूरा गर्न सक्दैनन् । त्यसकारण निजगढ धेरै ठूलो ‘ड्रिम प्रोजेक्ट’ हो । यो सामान्य एअरपोर्ट होइन ।

तपाईं काभ्रेमा आन्तरिक विमानस्थल निर्माणमा पनि लाग्नुभएको छ । नेपालजस्तो सानो देशमा पूर्व—पश्चिम रेल, काठमाडौं—वीरगञ्ज रेलको कुरा पनि भइरहेको छ । फेरि काभ्रेमा पनि विमानस्थल किन चाहियो ?

नागीडाँडा विमानस्थल रेल पुग्ने ठाउँका लागि होइन, हिमाली जिल्लाका लागि हो । खासगरी माउन्टेन फ्लाइट गर्ने पर्यटकका लागि । तर, काठमाडौं विमानस्थलका हेलिकप्टरलाई मात्र त्यहाँ सार्न सकियो भने पनि ठूलो काम हुन्छ । यो धेरै सोचविचार गरेर लिइएको निर्णय हो । पूर्वधारका हिसाबले होटलहरू पनि भएकाले पर्यटकहरू त्यहीं बास बस्न सक्छन् । भोलि प्रदेश राजधानी भयो भने पनि काभ्रेमा विमानस्थल चाहिन्छ । अर्को कुरा, काठमाडौंबाट २०–३० किलोमिटरको दूरीमा एउटा विमानस्थल नभई हुँदैन । अहिले केही आपत पर्दा चाहिने विमानस्थल नै छैन । काठमाडौं विमानस्थलमै डबल रनवे निकाल्न सकेको भए हुन्थ्यो, तर पेप्सीकोलामा पहिल्यै बस्ती बसाइएकाले त्यो पनि भएन ।

प्रसंग बदलौं । मन्त्री बनेपछि तपाईं धेरैतिर सक्रिय देखिनुहुन्छ । यो सक्रियतालाई अहिलेको हाम्रो सिस्टमले सपोर्ट गर्छ त ?

सरकारको १०० दिन पूरा हुँदा पनि भनेको थिएँ– हाम्रो कर्मचारीतन्त्र, पद्धति र हाम्रा सपनाबीच मेल छैन । प्रधानमन्त्रीज्यूले जुन सपना देख्नुभएको छ, हाम्रो प्रणालीले त्यसलाई समात्न त के छुन पनि सक्दैन । शुरुमा त यसले हाम्रा सपनालाई मजाक बनाउँछ । अलिअलि हो भन्ने लागेपछि ‘यो अमेरिका हो र !’ भन्न थाल्छ ।

हाम्रो प्रणालीको क्षमता छैन, नियत पनि खराब छ । थिंकट्यांक छैन, रिसर्च छैन, ‘एकेडेमिक व्याकअप’ छैन, प्रविधि पनि छैन । हाम्रा सबै निकाय टिप्पणी उठाउने, फाइल सदर र बदर गर्नेमै व्यस्त छन् । प्रक्रिया पुर्‍याउन मात्रै मन्त्रालय स्थापना भएजस्तो छ । हामीले वा अरु कोहीले ल्याएको विचार, सोच र योजना परीक्षण गर्ने ठाउँ छैन । जे कुराको लागि पनि विदेशीको भर पर्नुपरेको छ । यस्तो अवस्थामा पनि हामीलाई छिटो परिणाम चाहिएको छ । त्यसका लागि यही प्रणाली र संरचनाको क्षमता सुधार गर्नुको विकल्प छैन ।

नेपालको हवाई क्षेत्रको मुख्य समस्या के हो ? नीति नहुनु, पूर्वाधार नहुनु, संयन्त्र नहुनु वा भएका नीति र संयन्त्रले काम गर्न नसक्नु ?

नीति बनेका छन्, प्रश्न तिनको व्यावहारिकताको हो । संरचना पनि नभएको होइन, त्यो प्रभावकारी नभएको मात्र हो । पद्धति पनि छ, तर निकै लामो, झन्झटिलो र अस्वाभाविक खालको । हाम्रा योजनाहरू ‘रिसर्च’ मा आधारित छैनन् । लहडमा केही लाग्यो भने गरिहाल्ने प्रवृत्ति छ । मैले गरिरहेका काम पनि स–साना रिसर्चमा मात्र आधारित छन् । चाहिने रिसर्च हुनसकेका छैनन् । यो काम ३० वर्ष अगाडिबाटै हुनुपथ्र्यो ।

तपाईंको जुन सक्रियता देखिन्छ, त्यो कत्तिको टिकाउ होला ?

भैरहवा विमानस्थल निर्माणमा ब्रेक लागेको थियो, अहिले त्यसले गति लिएको छ । सम्पदा पुनर्निर्माणको कामले पनि गति लिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एअर ट्राफिक व्यवस्थापनको काम शुरु गरिएको छ । सक्रियता मात्र होइन, कतिपय कामको नतिजा पनि देखिन थालेको छ । यो दिगो हुन्छ÷हुँदैन भन्ने आशंका मलाई पनि छ । विश्वास छ– संरचना र पद्धति क्रमशः बलियो बनाउँदै लैजान सकिन्छ । मसँग त्यो इच्छाशक्ति छ । केही कर्मचारीमा राम्रो गरौं भन्ने भावना पनि पाएको छु ।

वर्षौंदेखि बन्द राजविराज, साँफेबगर लगायतका विमानस्थललाई सुचारु गर्ने पहल शुरु गर्नुभयो । ती हिजो किन बन्द भएका थिए, अब कसरी टिक्लान् ?

हवाई उडान ठूला विमानस्थलमा केन्द्रित भयो । सबैको नाइट स्टप र पार्किङ काठमाडौं एअरपोर्टमा बनाइयो । अब हामी विकेन्द्रीकृत गर्ने प्रयासमा छौं । नेपाल एअरलाइन्सले आन्तरिक उडानका लागि ६ वटा जहाज किन्दैछ, कुन–कुन ठाउँमा चल्न सक्छ भन्ने अध्ययन भइरहेको छ । बजार सर्भे पनि भइरहेको छ । साँफेबगर र राजविराज जस्ता विमानस्थलमा शुरुमा धेरै यात्रु नहोलान्, तर विस्तारै तिनले आफ्नो खर्च धान्न सक्छन् भन्ने हाम्रो विश्वास छ ।

सुर्खेतमा उडान शुरु गर्दा पनि चल्दैन भन्थे, तर चल्यो । एउटा उडान खाली भयो भन्दैमा चल्दैन भन्नु भएन । बानी पार्न पनि खाली चलाउन तयार हुनुपर्‍यो नि ! अब प्रादेशिक कनेक्टिभिटीका हिसाबले पनि हवाई उडान क्षेत्र विस्तार हुन्छ ।

जहाज नै नभएको र चीनबाट ल्याइएका जहाजहरू पनि त्यसै थन्केका बेला कसरी त्यो सम्भव होला ?

हो, चीनबाट ल्याइएका चार वटा साना जहाज उडेका छैनन् । ती जहाजका लागि श्रीलंकाबाट पाइलट ल्याउने प्रयास हुँदैछ । कुनै निजी कम्पनीले लिजमा लिन चाहन्छ भने ती जहाज दिन पनि सकिन्छ ।

काठमाडौं विमानस्थलको चापलाई कसरी कम गर्नुहुन्छ ?

मुख्य समस्या ट्राफिक व्यवस्थापन नै भएकाले त्यसमै ध्यान दिइएको छ । ‘कन्जेसन’ मा केही कमी आएको पनि छ । एअर ट्राफिक कन्ट्रोलरको समस्या पनि समाधान गर्ने प्रयास हुँदैछ । अर्को समस्या पार्किङ–वे र ट्याक्सी–वेको हो । एउटा जहाज रनवेमै अल्झिइरह्यो भने अर्को जहाज आउन पाउँदैन । त्यसका लागि रनवेको प्यारललमा ट्याक्सी–वे बनाउने प्रयासमा पनि छौं । एक वर्षमा यी काम सिध्याएर विमानस्थलका खोल्साखोल्सी पुरेर पनि थप पार्किङ स्पेस निकाल्छौं । आयल निगमको तेल भण्डार पनि अण्डर–ग्राउण्ड बनाउँदैछौं ।

अर्को कुरा, बेलुकी ८ देखि ११ बजेसम्मको पिक आवर सबै जहाजको प्राथमिकतामा पर्दा चाप थेग्न सकिने कुरै भएन । त्यसैले पिक आवरमा अलिकति महँगो र लेन आवरमा थप सुविधा दिने तयारी पनि गर्दैछौं । विमानस्थल सञ्चालन अवधि २१ घण्टा पुर्‍याएका छौं । पछिल्लो १२–१३ दिनको प्रतिवेदनमा ‘कन्जेसन’ उल्लेख्य घटेको छ ।

हामीले धनगढीमा रात्रि उडान शुरु गरेका छौं । नेपालगञ्ज, भैरहवा, विराटनगरमा पनि रात्रि उडान थालेपछि सजिलो भएको छ । नागीडाँडामा डोमेस्टिक एअरपोर्ट बनेपछि ‘कन्जेसन’ ३१ प्रतिशत घटेर जान्छ । चितवन, पोखरा, भैरहवा जाने सडक राम्रा भइदिएका भए मान्छेहरू गाडी चढ्थे । पोखरा–भैरहवा, पोखरा–चितवन उडान शुरु हुनुका पछाडि नारायणगढ–मुग्लिङ सडकको अवस्थाले काम गरेको छ । त्यसकारण, अब सडक सुधारमा पनि ध्यान दिनुपर्छ । प्रादेशिक कनेक्टिभिटी पनि बढाउनुछ ।

तपाईं धेरै पोखरा केन्द्रित हुनुभयो भन्ने आरोप छ नि !

म पोखरेली भएकाले पोखरामै केन्द्रित भयो भन्नुभएको होला, तर देशलाई सम्झेर काम गरिरहेको छु । अर्को कुरा, काठमाडौं बाहेक धेरै मान्छे जान चाहने गन्तव्य कुन हो भनेर घोत्लिने हो भने स्वाभाविक रुपमा पोखराको नाम आउँछ । अनि, विराटनगर–पोखरा सीधा उडान शुरु गर्दा पनि पोखरालाई महत्व दिइएको देखिने भो । अब त नेपालगन्ज–पोखरा उडानको पनि तयारी हुँदैछ ।

तपाईं संस्कृतिमन्त्री पनि हुनुहुन्छ । संस्कृतिमा पनि उड्डयन क्षेत्रमा जस्तै विना योजना काम भएको छ भन्ने मान्नुहुन्छ ?

त्यहाँ भएका उल्टा कामहरूलाई सुल्ट्याएर हिंडाउन लागिपरेको छु । गलत बाटो हिंड्नेलाई फर्काएर सही बाटो हिंडाउँछु । मन्त्री हुनेबित्तिकै रानीपोखरीको विषयमा पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभागका अधिकारीहरूलाई राखेर महानगरपालिकामा छलफल गरें । अनि परम्परागत स्वरुपमै बनाउने निर्णय भयो । अर्को, राष्ट्रिय अभिलेखालय सार्ने कुरा छ । त्यो ठाउँ सर्वोच्च अदालतलाई दिने भनिएको छ । त्यसबारे के गर्ने भनेर विचार गरिरहेका छौं ।

अहिले सम्पदा पुनर्निर्माणले गति लिएको छ । राष्ट्रिय संग्रहालय र छाउनीस्थित सैनिक संग्रहालय जस्ता धरोहरमा पनि ध्यान दिएको छु । पाटन संग्रहालय स्थानीय सरकारलाई जिम्मा दिइसकिएको छ । हनुमानढोका, भक्तपुर दरबार र अरु सम्पदा पनि स्थानीय सरकारलाई जिम्मा दिन्छौं । पाल्पाको रानीमहल पुनर्निर्माण गरिसकेपछि म आफैं गएर नगरपालिकालाई हस्तान्तरण गरें ।

सबै सिण्डिकेटको विरुद्धमा छन् । तपाईंको मन्त्रालय मातहत पनि हवाई सेवा, पर्यटन, ट्रेकिङ जताततै सिण्डिकेट छ नि !

दुर्गम क्षेत्रको हवाई सेवामा रहेको सिण्डिकेट हटाइसकेको छु । नियमित उडानकै जहाज चार्टर गरेर यात्रुलाई तीन–चार गुणा महँगोमा टिकट बेच्ने धन्दा सकिएको छ । हवाई भाडा अलिकति बढेको छ, तर सिण्डिकेट तोडिएकाले जनता खुशी छन् । जहाजमा पनि गाडीको जस्तै रुट परमिटको सिण्डिकेट र एअर ट्राफिक व्यवस्थापनमा हुने दादागिरी हटाएको छु । ट्रेकिङ व्यवसायमा ट्रेकिङमा गएका पर्यटकलाई जबर्जस्ती बिरामी बनाएर इमर्जेन्सी हवाई सेवा लिने खालको विकृति समेत रहेछ । अब यस्तो गर्नेहरू सीधै जेल जान्छन् र इजाजत पनि खारेज हुन्छ ।

अबका योजना के छन् ?

भर्खरै सरकारको नीति तथा कार्यक्रम र बजेट आएको छ । अब पाँचवर्षे दीर्घकालीन योजना बनाएर अघि बढ्छु । मेरो पहिलो प्राथमिकता पूर्वाधार निर्माण हुनेछ । त्यसका लागि विमानस्थल, होटल लगायतका पूर्वाधार निर्माण गरिनेछ । दोस्रो, हामीसँग अर्को अन्तर्राष्ट्रिय विमानस्थल नहुँदासम्म काठमाडौंको एअर ट्राफिक लगायत व्यवस्थापनको काम प्राथमिकतामा हुनेछ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनु, पर्यटनमा नयाँ गन्तव्यको खोजी र विकास मेरो प्राथमिकतामै हुनेछ । त्यसैगरी, पर्यटन विश्वविद्यालय स्थापना र पर्यटन उद्योगको लागि मध्यमस्तरको जनशक्ति उत्पादनका लागि एकेडेमिक आधार तय गर्ने काममा केन्द्रित हुनेछु ।

प्रस्तुतिः किरण नेपाल र रामेश्वर बोहरा

comments powered by Disqus

रमझम