बलिया राष्ट्रहरूका लागि स्तब्ध पार्ने यस्ता घटना खोतल्दै जाने हो भने सन् १९६६ को विश्वकपमा उत्तरकोरियाको उदाहरण पनि लिन सकिन्छ । प्रतियोगिताकै दाबेदार इटालीलाई पाखा लगाउँदै उत्तरकोरिया विश्वकपको क्वार्टर फाइनल पुगेको थियो । सन् १९९० मा क्यामरुनले अर्जेन्टिनालाई हराउनु पनि कुनै प्रत्यासित नतिजा थिएन ।
विश्वकपको २१औं संस्करण यही १४ जून (३१ जेठ) बाट रुसमा शुरु हुँदैछ । र, अहिले विश्वकपका लागि छनोट ३२ राष्ट्र लक्ष्य अनुसार तयारीमा जुटेका छन् । केही दाबेदार टिमलाई प्रमुख खेलाडीको चोटले सताएको छ भने केहीलाई टिमको तालमेल कसरी सशक्त बनाउने भन्ने चिन्ता छ । ब्राजिल नेइमारलाई समयमै पूर्णतः फिट देख्न चाहन्छ, साबिक विजेता जर्मनीलाई कप्तान म्यानुअल नोयरको चोटले पिरोलेको छ ।
अर्जेन्टिनालाई विश्वकपमा छनोटमा झैं समन्वय अभावमा नराम्रो पराजय भोग्नुपर्ला कि भन्ने डर छ । स्पेन, फ्रान्स लगायत उपाधिका प्रत्यासीहरू पुरानो लय ब्युँताउन चाहन्छन् । तर विश्वकपमा छनोट हुनु नै ठूलो उपलब्धि ठान्ने साना र नयाँ राष्ट्रको क्षमता पनि कम आँक्न मिल्दैन । यहाँ ‘साना’ भन्नाले भू–आकार मात्रै नभएर सानो/उदाउँदो अर्थतन्त्र एवं विश्व फूटबलमा यसअघि दरिलो उपस्थिति नदेखाएका राष्ट्रका अर्थमा प्रयोग गरिएको छ ।
सानाका समस्या
विश्वकपमा छनोट हुने हालसम्मकै सानो देश आइसल्यान्डले पहिलो सहभागितामै कम्तीमा एउटा ‘जायन्ट किलिङ’ को लक्ष्य लिएको छ, जसको शिकार दुई पटकको विश्वविजेता अर्जेन्टिना पनि हुनसक्छ । जित पश्चात दर्शकसँग खुशी साट्ने उनीहरूको तरिका पनि गज्जबको छ, जसलाई ‘भाइकिङ सेलिब्रेसन’ भन्ने गरिन्छ ।
पनामा पनि विश्वकपका लागि नयाँ नाम हो । तर आइसल्यान्ड झैं पनामाबाट खेलप्रेमीले आशा गरेका छैनन् । पनामाको ‘ग्रुप जी’ बाट इङ्गल्यान्ड र बेल्जियमको दोस्रो चरण पुग्ने सम्भावना बलियो छ । त्यसैले उसको ध्यान कम्तीमा एक जित अर्थात् ट्युनिसिया विरुद्धको अन्तिम खेलमा केन्द्रित छ ।
त्यसो त ट्युनिसिया पनि विश्वकपमा बलियो टिम होइन । तर उससँग चार पटक विश्वकप खेलेको अनुभव छ । तर, कुनै संस्करणमा पनि समूह चरण पार गर्न सकेको छैन । यसपटक फिफा वरियतामा १४औं स्थानमा उक्लिएका उनीहरू पनामाका अतिरिक्त इङ्गल्यान्ड वा बेल्जियमलाई हराउँदै दोस्रो चरणसम्म पुग्ने जोडबलमा छन् ।
यसपटक २० वर्षपछि मोरक्कोले विश्वकपमा पुनरागमन गर्दैछ । त्यसकारण पनि उनीहरू दोस्रो चरण पुग्ने तर्क गरिराखेका छन् । तर यो समूह ‘बी’ मा पूर्व विश्वकप विजेता स्पेन र यूरो कप जितेको पोर्चुगल बाधक बन्न सक्छन् । तर, सन् १९९८ मा मोरक्कोलाई झन्डै समूह चरण पार गराएका मुस्तफा हाजी अहिले टिमका सहायक प्रशिक्षक छन् । उनको अनुभव हालका जोशिला खेलाडीलाई काम लाग्नेमा युभेन्टस्बाट व्यावसायिक फूटबल खेलिरहेका कप्तान मेहदी बेनासिया ढुक्क छन् ।
च्याम्पियन्स लिगको फाइनलमा मोहम्मद सालह घाइते हुनु इजिप्टको लागि टाउकोदुखाइ बनेको छ । लिभरपुललाई प्रिमियर लिगमा चौथो र च्याम्पियन्स लिगमा फाइनल पुर्याउन उत्कृष्ट प्रदर्शन गरेका सालह यस वर्ष प्रिमियर लिगका ‘प्लेयर अफ द सिजन’ पनि चुनिएका छन् । त्यसकारण पनि समूह चरण पार गर्न सक्ने इजिप्टको सम्भावना धेरै हदसम्म सालहमै भर पर्छ । इजिप्टको समूह (ए) मा उरुग्वे, रुस र साउदी अरेबिया छन् ।
पेरु पनि ३६ वर्षपछि विश्वकप खेल्दैछ । तर, विश्वकप अघि नै कप्तान पाब्लो ग्वेरेरो डोपिङका कारण प्रतिबन्धमा पर्नुले टोलीलाई ठूलो धक्का दिएको छ । फ्रान्स, अष्ट्रेलिया र डेनमार्क भएको ‘सी’ समूहबाट शीर्ष दुईमा पर्नु पेरुका लागि ‘फलामको चिउरा’ जस्तै हो । तर विश्वकप छनोट हुनसक्ने टिमले जित्न पनि सक्ने भन्दै समर्थकहरू हौस्याउन छाडेका छैनन् ।
सेनेगल सन् २००२ मा जस्तै अनपेक्षित नतिजा निकाल्ने दाउमा छ । यसका लागि कोलम्बिया, जापान र पोल्यान्डमध्ये कुनै दुईलाई पछि पार्नुपर्नेछ । यसका लागि टोलीसँग यूरोपमा चम्केका खेलाडी पनि छन् । पुरानो अनुभवले पनि सेनेगलले दोस्रो चरण तय गरे आश्चर्य हुने देखिन्न ।
स्वाभाविक हो, ठूला र बलिया टोली उपाधिकै लागि खेल्छन् । अनुभवी टोलीको दृष्टि कम्तीमा दोस्रो चरणमा पुग्ने हुन्छ । तर, विश्वकपमा नवप्रवेशीको सपना कम्तीमा एक खेल र त्यो पनि सके बलियो टोलीलाई हराउने हुने गर्छ । यसका साथै उनीहरू विश्व फूटबल इतिहासमा यस विश्वकपमा यस्तो छाप छोड्न चाहन्छन् जसले आउँदा खेलाडीलाई हौसला र प्रेरणा प्रदान गर्न तथा फूटबलप्रेमीको मन जित्न सकोस् ।