२७ जेठ - २ असार २०७५ | 10-16 June 2018

सलाह: इजिप्टका शान

Share:
  

सन् २०११ मा अफ्रिकी मुलुक इजिप्टमा ३० वर्ष लामो होस्नी मुबारकको सत्ता ढलेसँगै त्यहाँको सैनिक शासकले १८ वर्ष पुगेका सबै नागरिकले अनिवार्य सैन्य तालिम लिनैपर्ने उर्दी जारी गर्‍यो । २०१४ को एक दिन त्यही व्यहोराको पत्र इजिप्सेली युवा प्रतिभाको घरमा पुग्यो । जो, भर्खरै १८ वर्ष लाग्दै थिए ।

ती युवा थिए, मोहमद सलाह । सलाह त्यतिबेला स्वीट्जरल्यान्डको बासेल क्लबमा तहल्का पिटेर भर्खरै इङ्गलिस क्लब चेल्सीमा स्थानान्तरण भएका थिए । चेल्सीले उनका लागि १ करोड १० लाख पाउण्ड खर्चेको थियो । सलाहको चुलिंदो ख्यातिबारे जानकार तत्कालीन अन्तरिम प्रधानमन्त्री हाजेम अल बेब्लावीले सरकारी नीतिमा हस्तक्षेप गर्दै बयान नै दिनुपर्‍यो– ‘सलाह अहिले राष्ट्रको काममै जुटेका छन् । त्यसैले उनले तत्काल सैन्य तालिम गर्नु पर्दैन ।’

सलाह विश्व फूटबलका लागि ‘किङ अफ इजिप्ट’ हुन् । नहुन पनि कसरी, गत अक्टुबरमा कंगोविरूद्ध छनोट खेलमा ९५ मिनेटमा उनैले निर्णायक पेनाल्टी गोल गरे । यही गोल र उनको अद्भुत प्रदर्शनले २८ वर्षपछि इजिप्टलाई विश्व कपमा पुर्‍यायो ।

सलाह विश्वकपका ‘हट–केक’ हुन् । अर्जेन्टिनाका लिओनल मेसी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र ब्राजिलका नेइमारसँगै सबैभन्दा बढी ‘फ्यान फलोअर’ भएका खेलाडीमा उनको नाम परिसकेको छ । हालै इङ्गलिस क्लब लिभरपुललाई च्याम्पियन्स लिगको फाइनल पुर्‍याउन पनि उनको अहम् भूमिका थियो । लिभरपुलका लागि यो सिजन प्रिमियर लिगमा सर्वाधिक ३२ र च्याम्पियन्स लिगमा ११ गोल गरेका उनी प्रिमियर लिगमा सिजनकै उत्कृष्ट खेलाडी पनि घोषित भए ।

नाग्रिक गाउँमा जन्मिएका सलाह साताको पाँच दिन १० वटा बस बदलिएर ८ घण्टा टाढा पर्ने कायरोमा तालिमका लागि धाउँथे । उनले चार वर्षसम्म यस्तो कष्ट सहे । तर, २०१२ मा मैत्रीपूर्ण खेलका लागि स्वीस क्लब बासेलले इजिप्टको भ्रमण गर्‍यो । बासेल र स्थानीय यूथ २३ बीच भिडन्त हुने भयो । खेलको दोस्रो हाफमा मैदान पसेका उनले दुई गोल गरे । अनि त के चाहियो, उनी बासेलको स्काउट टोलीको नजरमा परिहाले ।

सलाह खेल मात्र होइन, मानवीय कार्यका लागि पनि चर्चित छन् । उनी फूटबलबाट कमाएको आधाभन्दा बढी रकम सामाजिक कार्यमा खर्च गर्छन् । विश्वकप छनोटमा कंगोलाई पराजित गरेपछि उनलाई सुविधा सम्पन्न घरको प्रस्ताव आएको थियो । तर, उनले घरको सट्टा गाउँका लागि एम्बुलेन्स किन्ने योजनालाई महŒव दिए । यसअघि उनले गाउँको खानेपानी योजनाका लागि ४ लाख ५० हजार डलर उपलब्ध गराएका थिए ।

सन् २०१४ मा उनको घर लुटियो । सलाहका बुवा सलाह घानीले सञ्चारमाध्यममा यो खबर सार्वजनिक गर्न खोजे । तर, सलाहले बुबालाई चोर विरुद्ध पुलिसमा हालेको रिपोर्ट समेत फिर्ता लिन लगाए । केही दिनपछि चोर समातियो । तर, चोरलाई सजाय गर्नुको साटो सलाहले थप केही रकम दिंदै जागिर खोजिदिने आश्वासन समेत दिए । यो खबर धेरैपछि मात्र बेलायती मिडियामा सार्वजनिक भयो । गत नोभेम्बरमा चेल्सी विरुद्ध गोल गरेपछि उनले पूर्व क्लबका साथीहरूलाई चोट पर्छ भनेर खुशियाली नै मनाएनन् । उनले यो सिजन इङ्गलिस प्रिमियर लिगको ३६ खेलमा एउटा पनि कार्ड पाएनन् । संवेदनशील मात्र होइन, उनी उत्तिकै अनुशासित पनि छन् । गत वर्ष मात्र उनले इजिप्ट सरकारलाई २ लाख १० हजार स्टर्लिङ पाउन्ड बराबरको मानवीय सहायता पनि गरे ।

सलाह इजिप्टमा कतिसम्म लोकप्रिय छन् भने– पछिल्लो पल्ट राष्ट्रपतिको निर्वाचन हुँदा वर्तमान राष्ट्रपति अब्दुल फताह अल–सिसी र मौसा मुस्तफा मौसा बीचको प्रतिस्पर्धामा १० लाख जनताले यी दुवैको पोस्टरमा सलाहको नाम लेखेर मतदान गरेका थिए ।

comments powered by Disqus

रमझम