२७ जेठ - २ असार २०७५ | 10-16 June 2018

बजारको अर्को उत्सव

Share:
  
- मस्त केसी
विश्वकप फूटबल २०१८ को आगमनसँगै खेलप्रेमीमा छाएको उत्साह र व्यवसायीका आकर्षक ‘अफर’ ले बजार गुलजार बनाएको छ।

३१ जेठदेखि रसियामा हुने २१औं विश्वकप फूटबल प्रतियोगिताले यतिबेला संसारभरकै माहोल तताएको छ । स्वाभाविक हो, यो रापतापका कारण दक्षिणएशियाली मुलुक नेपालले पनि ज्वरो महसूस गर्न थालेको छ । त्यसो त विश्व क्रिकेटमा भर्खरै मात्र एकदिवसीय राष्ट्रको मान्यता पाएको नेपालले स्वदेशमा क्रिकेटका फ्यान ह्वात्तै बढाएको छ । तर, फूटबल अहिले पनि नेपालीमाझ् अत्यधिक रुचाइएको खेलका रूपमा कायम छ । आम नेपालीको प्रिय भएकै कारण यतिबेला फूटबलसँग सम्बन्धित मात्रै हैन, सबै उमेर, फरक क्षेत्र र व्यवसायमा आवद्ध व्यक्तिमा विश्वकप ‘लागेको’ छ ।

साहित्यकार बुद्धिसागर विश्वकप हेर्नकै लागि ४२ इन्चको टेलिभिजन किन्ने तयारीमा छन् । अर्जेन्टिनाका समर्थक उनी आफ्नो प्रिय टीमको कुनै पनि खेल छुटाउन चाहँदैनन् । फाइनल भने साथीहरूसँग रेस्टुरेन्टमै हेर्ने योजनामा छन् । “खेलले मनोरञ्जन मात्रै नभएर तनाव समेत कम गर्छ, सकारात्मक ऊर्जा र सद्भावका लागि पनि खेल महŒवपूर्ण छ”, उनी भन्छन्  ।

अभिनेत्री केकी अधिकारी पनि सानैदेखि अर्जेन्टिनाकै समर्थक हुन् । विश्वकपको एक महीना अवधिमा भने उनी आफ्नै ब्यानरमा निर्मित चलचित्र ‘कोहलपुर एक्सप्रेस’ को प्रदर्शनका लागि अष्ट्रेलियामा हुनेछिन् । तर पनि अर्जेन्टिनाको खेल नछुटाउने उनको योजना छ । मिलेसम्म फाइनल चाहिं साथी र फिल्म सहकर्मीहरूसँग बसेर हेर्ने उनको सोचाइ छ । केकी भन्छिन्, “विश्वकप मेरा लागि मात्रै नभएर हरेक खेलप्रेमीका लागि उत्सव र खुशीको बहाना हो ।”

डिजिटल टेलिभिजन सेवा प्रदायक कम्पनी डिस होमका प्रमुख कार्यकारी निर्देशक सुदीप आचार्यले सन् १९८६ को संस्करणदेखि नै विश्वकप फूटबल नछुटाई हेरिरहेका छन् । पढाइको सिलसिलामा अमेरिका हुँदा त आचार्यले सन् १९९४ को विश्वकपलाई रंगशालामै पुगेर हेर्ने दुर्लभ अवसर पाएका थिए । फ्रान्सको खेल मनपराउने आचार्य यो विश्वकपमा सकभर कुनै खेल नछुटाई हेर्ने योजनामा छन् । “टेलिभिजन सेवामै आवद्ध भएकोले अफिसमा वा घरमा जहाँ समय मिल्छ त्यहीं हेर्नेछु” उनी भन्छन्, “फाइनल खेल सकभर डिस होमकै पर्दामा आम दर्शकसँग बसेर सार्वजनिक स्थलमा हेर्ने योजना छ ।”

विश्वकपको रौनकमा व्यवसायीहरू पनि उत्तिकै जुर्मुराएका छन् । टेलिभिजन व्यवसायीहरूलाई त यो निकै उर्वर समय हो । प्रतिस्पर्धामा अगाडि देखिन विभिन्न कम्पनीले विश्वकप लक्षित योजना र आकर्षक ‘अफर’ सार्वजनिक गरिरहेका छन् । समय र प्रविधिको विकाससँगै उच्चस्तरीय एचडी प्रविधिका टेलिभिजनहरू बजारमा देखिन थालेका छन् । विश्वकप उपभोक्ताका लागि पनि घरमा नयाँ र प्रविधियुक्त टेलिभिजन भिœयाउने बहाना बनेको छ ।

अफरमा प्रतिस्पर्धा

औंला गनेरै विश्वकपको प्रतीक्षा गरिरहेका दर्शकका लागि विभिन्न कम्पनीहरूले लोभलाग्दा योजना र अफर अघि सारेका छन् । विशेषगरी टेलिभिजन बिक्रेता र टेलिभिजन सेवा प्रदायक कम्पनी विश्वकपबाट हौसिएका छन् । एचडी, एलईडी मोडलका नयाँ टिभीसँगै उनीहरूले विभिन्न योजना समेत सार्वजनिक गरिरहेका छन् ।

व्यवसायीका अनुसार अहिले बजारमा ४२ देखि ५५ इन्चसम्मका एलईडी टिभीको माग उच्च छ । र, यसको मुख्य कारण विश्वकप नै भएको उनीहरूको भनाइ छ । ‘पिक्चर क्वालिटी’ अब्बल हुने भएकाले पनि फूटबलको यो कुम्भ मेलामा व्यापारको पारो चढेको व्यवसायीहरू बताउँछन् ।

सन् १९२६ मा श्याम–श्वेत पर्दामा शुरू भएको टेलिभिजनको प्रविधि र गुणस्तरमा प्रत्येक वर्ष सुधार हुँदै गएको छ । पछिल्लो विश्वकपभन्दा अहिलेको विश्वकपका लागि कम्पनीहरूले उत्कृष्ट ‘पिक्चर क्वालिटी’, ब्लूटूथ, स्पोर्टस् मोड, यूएसबी कनेक्सन, डल्बी डिजिटलदेखि फूल एचडी प्रविधिका कर्भ सेटहरू पनि भिœयाएका छन् । अघिल्लो विश्वकपको समयमा विरलै देखिने भित्ते र क्यूलिड टेलिभिजन अहिले नौलो लाग्न छाडेको छ । “हरेक अन्तर्राष्ट्रिय खेलको समयमा टेलिभिजन व्यवसाय बढ्छ” स्काईवर्थ टेलिभिजनका बिक्री प्रबन्धक नवीन पोखरेल भन्छन्, “विश्वकप त टेलिभिजन व्यवसायीको लागि सुनौलो समय हो ।” यो अवसरमा बिक्री बढाउन विभिन्न योजना ल्याइनु स्वाभाविक भएको उनी बताउँछन् ।

विश्वकप फूटबललाई लक्षित गर्दै डिआरएन टेलिभिजनले विभिन्न उपहार योजना ल्याएको छ । कम्पनीले ५५ इन्चको स्मार्ट कर्भ टिभी किन्नेलाई डिआरएन २.१ स्पिकर, ४३ इन्चको स्मार्ट कर्भ टिभी किन्नेलाई डिआर–८८८ टेलिफोन सेट, ३९ इन्चको स्मार्ट कर्भ टिभी किन्नेलाई डिआर–१११ टेलिफोन सेट उपहार राखेको छ । त्यस्तै, ३२ इन्चको स्मार्ट कर्भ टिभी किन्नेलाई १० वटा ३ वाटको सिएफएल चिम र साधारण ३२ इन्चको एलइडी टिभी किन्नेलाई १० पिस दुई वाटको एलइडी बल्ब दिने योजना पनि सञ्चालनमा ल्याएको छ ।

कतिपय टेलिभिजन कम्पनीले यो वेला नगद छूट समेत दिन थालेका छन् भने केहीले क्यास ब्याक र उपहारको घोषणा गरेका छन् । स्काईवर्थ टेलिभिजनले नगद छूट सहितको विश्वकप अफर ल्याएको छ । स्काईवर्थले गुगल एन्ड्रोइड, स्मार्ट, एलईडी र ४–के यूएचडी टेलिभिजनमा २५ प्रतिशतसम्म नगद छूट दिएको छ । रोवा टेलिभिजनले एन्ड्रोइड ४–के स्मार्ट टिभी अन्तर्गत ४९, ५५ र ६५ इन्चका सेटमा २.२ अल्ट्रा राइसकुकुर उपहार दिइरहेको छ । त्यस्तै, एन्ड्रोइड स्मार्ट टिभीका ३२, ४०, ४३, ४९ र ५५ इन्चका सेटमा १.८ अल्ट्रा राइसकुकर उपहार रहेको कम्पनीले जनाएको छ । त्यस्तै, एलईडी क्रिस्टल टिभीको २०, २२, २४ र ३२ इन्चको सेटमा टि–सर्ट उपहार राखिएको छ ।

सामसङले ११ देखि २७ प्रतिशत क्यास ब्याक, दुई वर्षको वारेन्टी, शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सहित टर्किस एअरलाइन्स र केजीएम होटलबाट गिफ्ट भौचरको अफर गरेको छ । टेलिभिजन बिक्रेता एलजीले यो अवसरमा ३१ प्रतिशतसम्मको क्यास ब्याक अफर दिन थालेको छ ।

कम्पनीले हरेक एलजी टेलिभिजनको खरीदमा भायनेटको इन्टरनेट तीन महीनासम्म निःशुल्क प्रदान गरिरहेको छ । ग्राहकले ‘लक्की ड्र’ मार्फत हरेक साता ४३ इन्चको एलजी स्मार्ट टिभी पनि पाउनेछन् । क्यास ब्याक सँगै एलईडी टिभी, सुपर यूएचडी टिभी, यूएचडी टिभी, स्मार्ट टिभी तथा नर्मल एलईडी टिभीमा छूट अफर ल्याएको कम्पनीले जनाएको छ । त्यस्तै, एओएल प्रा.लि.ले टिसिएलका एलईडी टेलिभिजन सेटमा तीन वर्षको वारेन्टी र २५ प्रतिशत छूट दिएको छ भने सोनीले २० प्रतिशत क्यास ब्याक अफर गरेको छ ।

फूटबलको क्रेज र विभिन्न कम्पनीहरूले ल्याएका योजनाले यतिबेला टेलिभिजन व्यवसाय उकालो लागेको सामसङ इलेक्ट्रोनिक्स नेपालका कन्जुमर प्रमुख अलोककुमार गुप्ता बताउँछन् । “मूल्यभन्दा गुणस्तरीय सामग्री ग्राहकको रोजाइ बनेको छ”, उनी भन्छन् ।

प्रत्यक्ष हेर्ने ‘भाग्यशाली’

विश्व फूटबल महासंघ (फिफा) का आधिकारिक प्रायोजक र अफिसियल पार्टनरहरूले आफ्ना ग्राहकमध्ये केही भाग्यशालीलाई प्रत्यक्ष विश्वकप हेर्ने योजना ल्याएका छन् । तीमध्ये बहुराष्ट्रिय कम्पनी ‘कोकाकोला’ र गाडी निर्माता तथा बिक्रेता ‘हुण्डाई’ ले नेपालबाट समेत केही ग्राहकलाई रसिया पुग्ने अवसर जुराइदिएका छन् । सन् १९७८ देखि फिफाको मुख्य प्रायोजक रहेको कोकाकोला अन्तर्गतको ‘कोकाकोला नेपाल’ को ‘कोक खाम्, रसिया जाम्’ अफर अन्तर्गत ४० जना उपभोक्ता विश्वकपको फाइनल खेल हेर्न मस्को पुग्ने भएका छन्, जसको सम्पूर्ण खर्च कोकाकोलाले नै व्यहोर्नेछ । त्यसका अतिरिक्त कोकाकोलाका उपभोक्तामध्ये हरेक दिन दुई जनाले २४ इन्चको टेलिभिजन जितिरहेका छन् । २०० उपभोक्ताले दैनिक फिफाको लोगो अंकित उपहार जस्तैः स्पिकर, हेडफोन, पेन ड्राइभ जस्ता वस्तु उपहार पाइरहेका छन् । कोकाकोलाको विश्वकप अफरमा १२ हजार ६०० उपभोक्ताले कुनै न कुनै उपहार जित्ने कम्पनीले बताएको छ ।

हुण्डाई पनि फिफाको अफिसियल पार्टनर हो । नेपालका लागि हुण्डाई गाडीको बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले विश्वकप लक्षित ‘रोड टू रसिया’ योजना ल्याएको छ । यो अफर अन्तर्गत हुण्डाई गाडीका प्रयोगकर्तामध्ये दुई जनाले विश्वकपको फाइनल खेल प्रत्यक्ष हेर्ने अवसर पाउने छन् ।

नेपालीमा ‘कमेन्ट्री’

खेलप्रेमीलाई थप उत्साह र मनोरञ्जनका लागि डिजिटल टेलिभिजन सेवा प्रदायक कम्पनी डिस होमले आफ्नै ‘एक्सन स्पोर्टस्’ च्यानल मार्फत विश्वकपका सबै खेलको नेपाली भाषामा कमेन्ट्री सञ्चालन गर्ने भएको छ । यसबाट अंग्रेजी नबुझनेका लागि मात्र होइन, सबै खेलप्रेमीलाई अपनत्व अनुभव हुने डिस होमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यको दाबी छ । दर्शकलाई यो नौलो र विशेष खालको विश्वकप अफर भएको आचार्य बताउँछन् ।

विश्वकप नजिकिएसँगै डिस होम व्यवसाय पनि उकालो लागेको छ । “उच्च प्रविधिमा गुणस्तरीय पिक्चर क्यालिटी हेर्न चाहनेले डिस होम रोज्न थालेका छन्” उनी भन्छन्, “गाउँगाउँमा पनि डिस होमको बजार बढ्दो छ ।”

comments powered by Disqus

रमझम