२७ जेठ - २ असार २०७५ | 10-16 June 2018

सानो क्षेत्रफलमा फलफूल

Share:
  

जीवनप्रसाद राई
एकीकृत योजना निर्माण विशेषज्ञ शम्भु राई (६२) ले ललितपुरको लगनखेलमा रङ्गको बट्टामा फलाएको कागती ।
थोरै क्षेत्रफलमा बनेका विशेषगरी शहरका घरमा आँगन र करेसाबारी हुँदैनन् । यस्तोमा फलफूलका बिरुवा लगाउनेबारे सोच्न पनि धौ–धौ ।

तर अलिकति काइदा पुर्‍याउने हो भने सानो क्षेत्रफल वा गमलामै भए पनि धेरै थरी फल फलाउन सकिन्छ । तरकारी लगाउनका लागि कौसीलाई नै बगैंचा बनाउने चलन पनि छ तर, फलका बिरुवा भने कमै घरमा देखिन्छन् ।

ठूला रुख हुने बिरुवा त सानो क्षेत्रफल वा गमलामा हुर्काउन सकिंदैन तर हाइब्रिड जातका र ग्राफ्टिङ (कलमी) गरिएका फलका बिरुवा सानो क्षेत्रफलमा हुर्काउन सकिन्छ । यस्ता बिरुवाले घरको सुन्दरता त बढाउँछन् नै ताजा फलफूलको मज्जा लिन पनि पाइन्छ ।

कलमी गरिएका र हाइब्रिड जातका सुन्तला, मुन्तला, जुनार, मौसम, आँप, आरु, आरुबखडा, कागती लगायत फलका बिरुवा गमलामै पनि रोप्न र फलाउन सकिन्छ ।

त्यस्तै आरु, अनार, आरुबखडा, एभोकाडो, हलुवाबेद, स्ट्रबेरी, अङ्गुर लगायतका हाइब्रिड जातका कलमी गरिएका बिरुवाहरू गमला र जमीनमै पनि सानो क्षेत्रफलमा फलाउन सकिने जोरपाटीस्थित ओम नर्सरीका सञ्चालक धनप्रसाद घिमिरे बताउँछन् ।

काठमाडौंको थापाथलीस्थित शिखा फ्लावर प्लान्ट नर्सरीकी सञ्चालक सावित्री सञ्जेल कलमी गरिएका बिरुवा गमलामा रोप्दा तीन फिटसम्म र जमीनमा ५÷६ फिटसम्म अग्ला हुने बताउँछिन् ।

“हाइब्रिड जातका फलफूलका बिरुवामा स्थानीय भन्दा धेरै फल लाग्छ र झाङ्गिदैन” उनी भन्छिन्, “साना–साना बिरुवाले घरलाई आकर्षक त बनाउँछन् नै, घरमै फलेको अर्गानिक फल खान पनि पाइन्छ ।”

जमीनमा एकदेखि दुई फिटको दूरीमा लगाउन सकिने यस्ता बिरुवा गमलामा रोप्दा गमलाबीचको दूरी पनि त्यति नै राख्नुपर्छ । सञ्जेलका अनुसार पछिल्लो समय हाइब्रिड जातका जापानी सुन्तला र बाह्रमासे कागतीको माग बढी छ । कलमी गरिएका विभिन्न जातका कागती र निबुवा गमलामै लगाए पनि लटरम्मै फलेको सञ्जेलको भनाइ छ ।

गमलामा २० देखि २५ वटा फल लाग्ने कागती जमीनमा लगाउने हो भने दुई फिटकै क्षेत्रफलमा पनि २०० सम्म फल लाग्छ । सुन्तला र कागतीलाई कलमी गरेर मुन्तला बनाइन्छ । स–साना गमलामा रोप्दा मुन्तला पाँच वटासम्म फल्छ भने ठूला गमलामा धेरै फल्छ ।

ओम नर्सरीका घिमिरे कलमी गरिएका सुन्तला, मुन्तला, अम्बा, कागती, जुनार जस्ता फलका बिरुवा केही ठूलो (१६ केजीको) गमलामा लगाउँदा ४० देखि ५० दाना फल लाग्ने बताउँछन् । उनी भन्छन्, “जमीनमा लगाउँदा १०० वटा दानासम्म फल दिने यी बिरुवा गमलामा तीन फिट र भुईंमा ६ फिट जति अग्ला हुन्छन् ।”

त्यस्तै कलमी अम्बा ३ देखि ४ फिटको दूरीमा रोप्न सकिन्छ । जमीनमा लगाउँदा ४ फिटसम्म अग्लो हुने कलमी अम्बाको बोट गमलामा भने २ देखि ३ फिटसम्म अग्लो हुन्छ । अचेल बजारमा गमलामा रोप्न सकिने थरीथरीका हाइब्रिड जातका अम्बाका बिरुवा पाइन्छन् । अन्य फलको तुलनामा अंगुर सबैभन्दा बढी फल्ने घिमिरे बताउँछन् ।

यसरी बिरुवा रोप्दा मल, पानी र गोडमेल भने जरुरी हुन्छ । स्थानीय जातका कलमी गरिएका बिरुवा धेरै वर्षसम्म फल दिन्छन् भने हाइब्रिड जातका बिरुवाले तीन वर्षसम्म फल दिने र त्यसपछि फेरि नयाँ बिरुवा रोप्नुपर्ने घिमिरे बताउँछन् ।

प्रस्तुतिः कल्पना भट्टराई

comments powered by Disqus

रमझम