३-९ असार २०७५ | 17-23 June 2018

मुख स्वास्थ्यमा विभेद

Share:
  
- डा. प्रेणितकुमार पोखरेल
सामान्यजन झैं सरकार पनि मुख स्वास्थ्यप्रति सचेत छैन ।

हामी को हौं ? मुहारले नै परिचय दिन्छ । आँखा चिम्लेर कसैलाई सम्झ्नु परे पहिले अनुहार नै याद आउँछ । घरबाट निस्कन लाग्दा ऐना हेरेर मात्र निस्कने हामी धेरैको बानी पनि छ । मुहारको हेरचाहमा पैसा, समय खर्चन हामी हिच्किचाउँदैनौं ।

हाम्रो शरीरको प्रवेशद्वार मुख हो । शरीर सञ्चालनको लागि चाहिने शक्ति खानाबाट प्राप्त हुन्छ । खाना मुख हुँदै दाँतले चपाएपछि शरीरभित्र पस्छ । खाना खान मात्र होइन, मुहारको चमक बढाउन, बोलीको शैली विकास गर्न पनि मुखको अहम् भूमिका हुन्छ । तर, त्यही मुखको बनावटमा सबैभन्दा महत्वपूर्ण भूमिका खेल्ने दाँत तथा मुखको स्वास्थ्य बारे खासै ख्याल नै गर्दैनौं ।

मानव जीवनमा दुई सेट दाँत आउँछन् । बाल्यकालका दाँतलाई हामी दुधे दाँत भन्छौं । ६ महीनादेखि २१ वर्षभित्रमा मुखमा ३२ वटा दात हुन्छन् । दुधे दाँत फेरिएर स्थायी दाँत आउने भएकोले कतिपयमा स्थायी दाँत फेरिएर अर्को दाँत आउने भ्रम पनि रहेको पाइन्छ ।

मुख स्वास्थ्यको सम्बन्ध मुटु रोगदेखि मधुमेहसम्म हुने कुरा धेरैलाई बुझउनै बाँकी छ । सफा र सास नगन्हाउने मुखले व्यक्तिको आत्मविश्वास बढाउने कुरा त भन्नै पर्दैन ।

सरकारले स्वास्थ्य नीतिमा सम्भवतः पहिलोपटक मुख स्वास्थ्यलाई सम्बोधन गरेको छ । तर बजेट विनियोजनमा फेरि पनि विभेद गरिएको छ । सरकारी सेवामा कार्यरत चिकित्सकहरू नै ‘लबिङ’ नपुगेर सरकारले बजेटमा भेदभाव गरेको बताइरहेका छन् । यसको अर्थ के हो भने सामान्यजन मात्र होइन, सरकार नै मुख स्वास्थ्यको महत्व जान्दैन, बुझदैन । त्यसो त ‘स्वस्थ मुख स्वस्थ जीवनको आधार, मिलेर तयार गरौं मुख स्वास्थ्य विकासको पूर्वाधार’ नारा पनि बेलाबेला गुन्गुनाउने गरेका छौं । तर, यो नारामै सीमित छ ।

फ्लोराइड सचेतना

मुख स्वास्थ्यका लागि सचेतना महत्वपूर्ण पाटो हो । बिहान बेलुका फ्लोराइडयुक्त दन्तमञ्जनले दाँत माझनाले मुखका धेरै समस्या निराकरण हुन्छन् । फ्लोराइड अति आवश्यक खनिज हो । दाँतको बाहिरी भागमा रहेको इनामेलसँग दाँत विकासको क्रममा फ्लोराइड मिसिंदा फ्लोरहाइड्रोअक्सिएपटाइट क्रिस्टल बन्छ, जसले दाँतलाई कीराले खानबाट जोगाउँछ । फ्लोराइडले कीटाणुलाई मार्नुका साथै वृद्धि प्रक्रिया रोक्न मद्दत गर्छ ।

फ्लोराइड सार्वजनिक स्वास्थ्य औजार हो । पश्चिमा राष्ट्रहरूमा यसलाई पिउनेपानीमा मिसाउने चलन छ । उपत्यकामा दशैंसम्ममा मेलम्चीको पानी आउने चर्चा छ । निश्चित रूपमा यो पानी फ्लोराइडयुक्त हुनेछ र यसले जनस्वास्थ्यमा आमूल परिवर्तन ल्याउनेछ भन्ने आशा गर्न सकिन्छ ।

हामीकहाँ बच्चाहरूको दुधे दाँतमा कीराले खाने समस्या विकराल छ । दाँत दुखाइकै कारण केटाकेटी स्कूल नजाने समस्या पनि छ । यसको मुख्य कारण भिटामिनको कमि हो । विकासका धरोहर यी बालकहरूको स्वास्थ्यप्रति सरकार, अनि हामी सबै जिम्मेवार हुन जरूरी छ ।

(दन्तरोग विशेषज्ञ डा. पोखरेल राष्ट्रिय चिकित्सक संघका कोषाध्यक्ष एवं राजधानीस्थित जेन्युन डेन्टल क्लिनिकका सञ्चालक हुन् ।)

comments powered by Disqus

रमझम