३-९ असार २०७५ | 17-23 June 2018

सेतो छत

Share:
  

अमेरिका न्यू योर्क शहरको गुगल तस्वीर
अमेरिकाको न्यू योर्क शहर, जहाँ घरभित्रको तापक्रम कम गर्न र वातावरणीय सन्तुलन कायम राख्न छाना सेतो बनाउने अभियान नै चालिएको थियो ।
गर्मीमा शीतल घर सबैको चाहना हुन्छ । एयर कन्डिसनर, पंखा वा कुलरले कोठा शीतल बनाउन सकिए पनि यस्ता उपकरणले खपत गर्ने विद्युत् र कार्बन उत्सर्जनको प्रभाव नकारात्मक हुन्छ । त्यसैले घरको भित्री भागलाई प्राकृतिक रुपमै शीतल बनाउनु उपयुक्त मानिन्छ ।

घरलाई बढी तात्न नदिन छतको विशेष भूमिका हुन्छ । छतलाई कि त्यत्तिकै छाड्ने कि परम्परागत टायलको स्वरुप दिन रातो रंग लगाउने चलन छ । रंग नलगाइएका छतहरू पनि सिमेन्टको प्रकृतिका कारण गाढा रंगका हुन्छन् । गाढा रंगले सौर्य विकिरण अधिक सोस्ने हुँदा यस्ता छत दिउँसो निकै तातिन्छन् र रातिसम्म सेलाउँदैनन् । जसले घरभित्र मात्रै होइन वरपर पनि तातो बनाइरहेको हुन्छ ।

गर्मीयाममा कालो रंगको लुगा लगाउँदा बढी तातो भएजस्तै अष्ट्रेलियाको मेलबर्न विश्वविद्यालयले सन् २०११ मा गरेको अनुसन्धानले अन्य रंग लगाइएको भन्दा सेतो रंगको छत भएको घर बढी शीतल हुने निष्कर्ष निकालेको छ । अनुसन्धानमा सूर्यका किरणलाई परावर्तित गर्ने सेतो रंगले घरलाई तीन प्रतिशत बढी शीतल बनाउने र ऊर्जा बचत हुने उल्लेख छ ।

अमेरिकास्थित स्टानफोर्ड विश्वविद्यालयको एक प्रतिवेदनका अनुसार, सन् १९९२ देखि २००५ सम्ममा विश्वमा शहरी क्षेत्र दोब्बर भएको छ । अधिकांश भाग छाना र सडकले ढाकेका छन्, जसले पानीको वाष्पीकरण हुन पाउँदैन । परिणाम, वातावरण अत्यधिक तात्न पुग्छ ।

वरपरको वातावरणभन्दा बढी गर्मी हुने शहरी क्षेत्रलाई ‘हिट आइल्याण्ड’ भनिन्छ । यस्तोमा एसी जस्ता विद्युतीय उपकरणको प्रयोगले विद्युत् खपतसँगै कार्बन उत्सर्जन बढ्छ । कार्बनले वातावरणलाई थप प्रदूषित तुल्याउँछ । घरमा तापमान कम हुँदा विद्युत्सँगै पानीको खपत कम हुन्छ । खर्च पनि कम हुन्छ ।

विश्वव्यापी रुपमा सेतो छतको वकालत गर्दै आएको ह्वाइट रुफ प्रोजेक्टका अनुसार, सेतो छत भएका घरले ९० प्रतिशतसम्म सूर्यको किरण परावर्तन गराउने क्षमता राख्छ, जबकि कालो छतले करीब २० प्रतिशत । सेतो छतले विद्युत् महसुल पनि ३० प्रतिशतसम्म बचत हुने र जलवायु परिवर्तन जोखिम कम गराउने प्रोजेक्टको दाबी छ ।

छतमा मात्र होइन, तातोपन कम गर्न घरका बाहिरी भित्तामा पनि हल्का सेतो रंग लगाउन सकिन्छ । अचेल पिलर प्रणालीका घरहरूमा भित्ता एउटा इँटा बराबरका मोटो बनाउने चलन छ । बाहिरी भित्ता पातलो हुँदा पनि भित्रको वातावरण तातो हुन पुग्छ । भूकम्पीय जोखिम कम गर्न र तापमान अनुकूल बनाउन पनि घरको बाहिरी गारो मोटो बनाउनु उपयुक्त हुन्छ ।

घरलाई प्राकृतिक रुपमै शीतल राख्न बाहिर र भित्र हरियाली बनाउनुपर्छ । घरबाहिर दक्षिण र पश्चिम दिशामा रुखहरू हुँदा घरभित्र शीतल अनुभूति हुन्छ । कोठामा प्रशस्त मात्रामा हावाको आवागमन हुने भेन्टिलेसनले पनि शीतल राख्न मद्दत पुर्‍याउँछन् ।

comments powered by Disqus

रमझम