६ असार २०७५ देखि बेलुन उडाएर मौसमी तथ्याङ्क लिन शुरू गरेको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्मा भन्छन्, “हाम्रो वायुमण्डलको मौसमी तथ्याङ्क आफैं लिन सक्ने भएका छौं।”
बेलुन त एउटा माध्यम मात्र हो । बेलुनमा सेन्सर जडान गरिएको हुन्छ । बेलुन उड्दै माथि पुगेपछि त्यसमा जडित सेन्सरले वायुमण्डलको मौसमी तथ्यांक पठाउँछ ।
सेन्सरले के–कस्ता सूचना उपलब्ध गराउँछ ?
वायुमण्डलको तापक्रम, वायुको गति र दिशा, सापेक्षिक आद्र्रता र वायुको चाप बारे सेन्सरले जानकारी दिन्छ । यो बेलुन जमीनको सतह भन्दा २५ किमी टाढासम्म पुग्ने भएकाले हरेक उँचाइको मौसमी तथ्यांक प्राप्त हुन्छ । मौसम पूर्वानुमानमा यसबाट धेरै सहयोग पुगेको छ ।
पहिलेको र अहिलेको प्रणालीमा के भिन्नता छ ?
अहिलेसम्म हामीले जमीनबाटै सूचना संकलन गरेर मौसम पूर्वानुमान गर्दै आएका थियौं । भारत र चीनको सहयोगमा प्राप्त हुने लखनऊ र तिब्बतको वायुमण्डलको तथ्यांक पनि हेथ्र्यौं । अब हामी आफैंले यहींकै वायुमण्डलबाट तथ्यांक लिन सक्ने भएका छौं । यसले गर्दा पूर्वानुमान थप सहज र सटिक हुनेछ ।
काठमाडौंको वायुमण्डलको सूचनाले समग्र देशकै मौसमको पूर्वानुमान कसरी भरपर्दो होला र ?
लखनऊ र तिब्बतको भन्दा त पक्कै पनि फरक पर्छ । अब काठमाडौं बाहेक विराटनगर र नेपालगञ्जमा पनि यही प्रणाली शुरु गर्ने योजना छ । तर, यो प्रविधि महँगो हुने भएकाले विराटनगर र नेपालगञ्जको योजना केही समयका लागि परीक्षणकै रुपमा रहनेछ ।
यो प्रणाली निकै खर्चिलो हो ?
एउटा बेलुन उडाउँदा रु.२० हजार खर्च हुन्छ । दैनिक बिहान साढे पाँच बजे बेलुन उडाउँछौं । एउटा बेलुन एकपटकका लागि मात्र काम लाग्छ । आगामी दुई वर्षका लागि विश्वब्यांकबाट सहयोग प्राप्त भएको छ ।