१०-१६ असार २०७५ | 24-30 June 2018

तपाइँलाई राजा कस्तो लाग्छ ?

Share:
  
- भैरव रिसाल
विश्वेश्वरप्रसाद कोइरालालाई रासस प्रयोग गरौं भन्ने लागेछ क्यार, हाम्रो पुनर्लेखनलाई मानेर पोलिटिक्समा राजनीति घुसाइदिए।

कुरा २०३६ साल माघको हो, विश्वेश्वरप्रसाद कोइरालाले एक जना पत्रकार आएर आफूलाई ‘तपाईंलाई राजा कस्तो लाग्छ ?’ भनेर सोधेको बताए ।

राजा वीरेन्द्रले २०३६ जेठ १० गते बिहान ‘सुधार सहितको पञ्चायत कि बहुदल’, जनताले केf चाहने हो रोज्ने भनी जनमत संग्रहको घोषणा गरेका थिए । त्यसपछि राजनीतिक पार्टीहरूउपर लगाइएको प्रतिबन्ध निकै खुकुलो भयो । प्रतिबन्धित वा प्र. लेखेर पार्टीहरूका समाचार र नेताहरूका भाषणका सार प्रसारण गर्न सकिने भएको थियो । त्यस्ता संक्षिप्त भाषण राससले पनि दिन पाउने भयो । रत्नपार्कको खुलामञ्चमा प्र. नेपाली कांग्रेसको आमसभा थियो । पार्टी सभापति विश्वेश्वरप्रसादले त्यही सभालाई सम्बोधन गर्दा यो पनि भने, ‘तपाईंलाई राजा कस्तो लाग्छ भनेर सोध्ने पत्रकार अहिले यहीं छन् ।’

म राससको प्रमुख समाचारदाता थिएँ । २०३६ पुस १४ गते राजा वीरेन्द्रको जन्मोत्सवको मौकामा ‘श्री ५ को व्यक्तित्व’ विषयमा ‘अपञ्च’ नेताहरूको पनि अन्तर्वार्ता वा प्रतिक्रिया लिएर सार्वजनिक गर्ने क्रममा विश्वेश्वरप्रसादलाई मैले नै त्यो प्रश्न गरेको थिएँ । उनको उत्तर थियो, ‘मैले मेरो सानु घरको सानु झयालबाट हेर्दा नेपाल कस्तो देख्छु, राजाले ठूलो दरबारको ठूलो झयालबाट हेर्दा पनि उस्तै देख्छन् । नेपालको अवस्था उही हो, स्थिति राम्रो छैन । यो वस्तुगत अवस्था राजाले अवश्य बुझेका छन् । अवस्था राम्रो छ भन्छन् भने नदेखेको कुरा भन्छन्, जुन राम्रो होइन ।’

मैैले मेरा अतिथिले ‘नदिनू’ भनेको कुरा नदिने, ‘मैले भनेको नखुलाउनू’ भनेपछि त्यो कसैलाई नभन्ने आचारसंहिता बनाएको थिएँ । समाचार सूत्रलाई गोप्य र सुरक्षित राख्दा सबैले पत्याउने, सबैको विश्वासिलो हुनसकेको थिएँ । विश्वेश्वर, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी लगायत नेताले मलाई पत्याउने त्यसैले होला । विश्वेश्वर, टंकप्रसाद आचार्य, ऋषिकेश शाहहरूको अन्तर्वार्ता लिन निकै अप्ठेरो थियो । उनीहरूका राजनीतिक कुरा वा अडान राससले पचाउने भाषामा व्यक्त गर्न पनि असजिलो । राससका सम्पादक साथीहरूले राजा सम्बन्धी विश्वेश्वरको अन्तर्वार्ता यत्तिकै दिन सकिंदैन, पुनर्लेखन गर्नुपर्छ भनी अड्डी लिए । ‘उहाँको मन्तव्य त्यही हो, के लेख्ने त ? तपाईंहरू नै पुनर्लेखन गर्नोस्, मेरो बुद्धिले भ्याएन’ भनेपछि उनीहरूले नै लेखे ।

सम्पादकहरूले भरमारसँगले द्वैर्थक (दुई अर्थ लाग्ने) शब्दहरू प्रयोग गरे । अनि विश्वेश्वरप्रसादलाई मैले फोन गरेर ‘सम्पादकहरू त्यो अघिको भनाइ दुई÷तीन ठाउँमा ‘टेक्निकल्ली’ मिलेन भन्छन् अनि फोन गरेको’ भनें । उनले कस्तो लेख्नु भो सुनाउनुस् त भनेपछि मैले पुनर्लिखित वाक्यहरू विस्तारै पढें । उनले एकपल्ट फेरि पढ्न भने । त्यसपछि हाँस्दै ‘अब टेक्निकल्ली मिल्ने भो त ?’ भनेर मलाई उडाए पनि ।

राससले ती दोहोरो अर्थ लाग्ने शब्दहरूको आफ्नो अनुकूल अर्थ लगायो । प्रेसले कटाक्ष गरेपछि विश्वेश्वरले पनि आफ्नै अर्थ लाउँदै स्पष्ट पारे ।

विश्वेश्वरप्रसाद जस्ता नेताले हाम्रो छल नीति नबुझने कुरै थिएन । मैले शब्दहरू ‘टेक्निकल्ली’ मिलेन भन्दा उनले बुझ्हिाले । हामीले राजनीतिमा पोलिटिक्स घुसाएका थियौं । विश्वेश्वरलाई पनि रासस प्रयोग गर्न मन लागेछ क्यार, पुनर्लेखनलाई मानेर पोलिटिक्समा राजनीति घुसाइदिएका थिए ।

खुलामञ्चको आमसभामा विश्वेश्वरप्रसादले मेरो नाम लिएनन् । म यति फुलेल भएँ, त्यसको वर्णनै नगरुँ । त्यो उमेरको आँखाले त्यत्रो भीडमा मलाई कसरी देखेर ठम्याए, म छक्क परें । यस्ता घटनाबाट पत्रकार हुन पाउँदाको गर्वानुभूति हुन्छ । मलाई अन्तर्वार्ता वा प्रतिक्रिया दिंदा विश्वेश्वरप्रसाद सकेसम्म राससले प्रयोग गर्न, पचाउन सक्ने सकभर दुई–तीन अर्थ लगाउन सकिने शब्द र वाक्य प्रयोग गर्थे । उनी पूरा राजनीतिक मान्छे भएकोले कसलाई के भन्दा सजिलो–असजिलो के पर्छ बुझथे । परिपक्व राजनेताहरूमा यस्तो गुण हुनु स्वाभाविक हो ।

comments powered by Disqus

रमझम