१०-१६ असार २०७५ | 24-30 June 2018

काम नपुगेर हैरान

Share:
  
नेपालको पुरानो समरजङ्ग कम्पनीका कर्मचारी काम नहुँदा हाजिर गरेर दिन कटाइरहेका छन्।

गोपेन राई
५ असारमा प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने क्रममा काठमाडौंको सिंहदरबार अगाडि टाँगिएको नेपालको राष्ट्रिय झण्डा ।
चक्रपथ, धुम्बाराही चोकबाट करीब १०० मीटर उत्तर सडकको दायाँपट्टि हरियो रंगको पाँचतले घर छ । घरको दोस्रो र तेस्रो तलामा छ, समरजङ्ग कम्पनीको कार्यालय । एक शाखा अधिकृत, एक नासु, एक लेखापाल, एक टाइपिस्ट नासु सहित ३५ कर्मचारी रहेको कार्यालयमा बोर्ड वा अन्य संकेत भने छैन । सबै कर्मचारी फुर्सदिला छन् । “यहाँ काम नै छैन” नाम उल्लेख गर्न नचाहने एक कर्मचारी भन्छन्, “आफूले भ्याएको समयमा आउने, हाजिर गर्ने र सुस्ताएर फर्कने हो ।”

उनका अनुसार, यो कार्यालयमा वर्षमा मुश्किलले १० दिन काम हुन्छ– नेपालका सरकार प्रमुख वा राष्ट्र प्रमुख विदेश जाँदा–आउँदा र विदेशका सरकार प्रमुख वा राष्ट्र प्रमुख आउँदा–जाँदा सडक किनाराका पोलहरूमा राष्ट्रिय झ्ण्डा राख्ने, झ्क्निे । त्यसबाहेक दशैं, चैते दशैं, इन्द्रजात्रा र भोटो जात्रामा केही काम हुन्छ । त्यस्तै, असनको भैरव पूजा, वनकालीमा पूजा, इन्द्रजात्रा र भोटो जात्रामा यो कम्पनीको भूमिका हुन्छ । त्यस बाहेकका दिनमा यहाँ कार्यरत कर्मचारीको केही काम हुँदैन ।

राजतन्त्र रहँदासम्म कम्पनीको काम अलि बढी थियो । दरबारमा हुने जन्मोत्सव, पास्नी, विवाह, मृत्युको बेला यो कम्पनी खट्थ्यो । अहिले फुर्सदै फुर्सदमा दिन विताइरहेका यो कार्यालयका कर्मचारीले वार्षिक करीब रु.१ करोड तलब बुझछन् भने घरभाडा रु.१३ लाख छ । गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखाका प्रमुख चूडाराज न्यौपानेले समरजङ्ग कम्पनीको कामको प्रकृति नै फरक रहेकोले यो यसै चलिरहेको बताए ।

कर्मचारी स्वयम् भने विना काम बस्नुपर्दा दिक्क छन् । गत वैशाखमा वन मन्त्रालयमा भएको छलफल कार्यक्रममा कम्पनीका प्रमुख प्रकाश पन्तले मन्त्री शक्ति बस्नेतलाई काम दिन आग्रह गरेका थिए । उनी भन्छन्, “काम दिन नसके कम्पनी खारेज गर्दा पनि भयो ।”

वि.सं.१८५१ मा रणबहादुर शाहको राज्याभिषेकको बेला खडा गरिएको ५० जवानको अंगरक्षक दस्ता नै समरजङ्ग कम्पनीको प्रारम्भिक रूप थियो । त्यसपछिका गीर्वाणयुद्धविक्रम शाहको पालामा वि.सं. १८६१ मा त्यसलाई चपरासी कम्पनी भनियो । पछि त्यही चपरासी कम्पनी समरजङ्ग कम्पनी कहलायो । शुरूमा सेना अन्तर्गतको यो कम्पनी हाल गृह मन्त्रालय मातहत छ ।

मुकेश पोखरेल

comments powered by Disqus

रमझम