१०-१६ असार २०७५ | 24-30 June 2018

टीभी हेर्दाका समस्या

Share:
  

बिक्रम राई
जापानको ओसाका विश्वविद्यालयका प्राध्यापक तुरु सिराकावा नेतृत्वको टोलीले सन् २०१४ मा सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार लगातार लामो समय टेलिभिजन हेर्दा मानिसमा ‘पल्मोनरी इम्बोलिजम’ (नसामा रक्तप्रवाहमा अवरोध) को जोखिम अत्यधिक हुन्छ । टोलीले १९ वर्ष लगाएर ८६ हजार २४ जना स्वस्थ मानिसको स्वास्थ्य स्थिति, जीवनशैलीको अध्ययन गरेको थियो । तीमध्ये ५९ जनाको अध्ययनकै क्रममा ‘पल्मोनरी इम्बोलिजम’ का कारण मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।

अध्ययनमा दैनिक साढे दुई घण्टाभन्दा कम र पाँच घण्टाभन्दा बढी समय टेलिभिजन हेर्नेलाई समेटिएको थियो । दैनिक साढे दुई घण्टाभन्दा कम समय टेलिभिजन हेर्नेमा नहेर्नेको तुलनामा ‘पल्मोनरी इम्बोलिजम्’ को जोखिम ७० प्रतिशतले बढी हुने र पाँच घण्टाभन्दा बढी टेलिभिजन हेर्नेहरुमा यसको जोखिम २५० प्रतिशतले बढी हुने अध्ययनको निष्कर्ष छ ।

सन् २०१६ मा अमेरिकन हार्ट एसोसिएसनले ४५ देखि ६४ वर्ष उमेर समूहमा गरेको सर्वेक्षण अनुसार लामो समय टेलिभिजन हेर्नेलाई नहेर्नेको तुलनामा ‘भिनस थ्रोम्बोइम्बोलिजम’ हुने सम्भावना १७ गुणा बढी हुन्छ । टीभी हेर्दा एउटै आसनमा धेरैबेर रहँदा हात, गोडा र फोक्सोको नसामा ‘ब्लड क्लटिङ’ को समस्या आई मुटु रोग लाग्ने सम्भावना ३० प्रतिशत बढ्ने सर्वेक्षणले देखाएको छ ।

अमेरिकी प्राध्यापक मेरी कुसमेनका अनुसार ‘टेलिभिजन हेर्दा शरीर निष्क्रिय हुन्छ र खानेकुरा चपाइरहने बानीले मोटोपन थप बढाउँछ ।’

‘स्टडी इन द जर्नल सर्कुलेसन’ मा प्रकाशित अमेरिकी डा. नोरम्यान साफ्राको लेखमा धेरै समय टेलिभिजन हेर्दा आँखा सुक्खा हुने समस्या देखिने उल्लेख छ । उनी लेख्छन्, “आँखाको परेलामाथि ४० र तल्लो भागमा २५ वटा ग्रन्थी हुन्छन् । दिनमा पाँच घण्टाभन्दा बढी टेलिभिजन हेर्दा, कम्प्युटर वा मोबाइल चलाउँदा यी ग्रन्थीमा असर पर्छ । त्यसैले लामो समय टेलिभिजन हेर्दा केही समय आँखा बन्द गर्ने र चिसोपानीले आँखा धुने गर्नुपर्छ ।”

अमेरिकन एकेडेमी अफ अप्थाल्मोलोजीका डा. ली डूफ्नेरका अनुसार टेलिभिजनबाट निस्कने किरणले थकान महसूस गराउनुका साथै आँखालाई सुक्खा बनाउँछ र ‘भिजन सिन्ड्रोम’ को जोखिम बढाउँछ ।

कसरी हेर्ने ?

रेन्ससिलर पोलिटेक्निक इन्ष्टिच्यूट अन्तर्गतको लाइटिङ रिसर्च सेन्टरले गरेको ‘न्यू स्टडी टेस्ट द इफेक्ट्स अफ वाचिङ टीभी इन अ डार्क रुम– २०१७’ अनुसार टेलिभिजन हेर्दा आँखा र टेलिभिजन स्क्रिनको उँचाइ बराबर हुनुपर्छ । स्क्रिन आँखाको तहभन्दा माथि वा तल भएमा ढाड र घाँटीको नसामा पनि समस्या देखिन्छ । पुराना प्रविधिका टेलिभिजन सेटभन्दा एचडी, फोर–के र फ्ल्याट स्क्रिन भएका टेलिभिजन आँखाका लागि सुरक्षित मानिन्छन् । अध्ययनले भनेको छ, ‘टेलिभिजनको प्रकाश धेरै मधुरो वा चम्किलो बनाउनुहुँदैन ।’ रंगीन बत्तीमा पनि टेलिभिजन नहेर्न अध्ययनले सुझाएको छ ।

टेलिभिजन हेर्दा बीचबीचमा आराम गर्ने, बाहिर टहलिने र पानी पिउनुपर्ने डा. ली डूफ्नेरको सुझाव छ ।

डा. सिराकावा नेतृत्वको टोलीले दिनभर कतिबेरसम्म भन्दा पनि निरन्तर कति लामो समय टीभी हेरिन्छ भन्ने महत्वपूर्ण भएको उल्लेख गरेको छ । निरन्तर एकै ठाउँमा बसेर टीभी हेर्दा स्वास्थ्यका लागि खतरनाक हुने अध्ययनको निष्कर्ष छ ।

comments powered by Disqus

रमझम