नेपालको लिच्छविकालीन इतिहासमा कैलाशकूट भवन चर्चित छ । लिच्छवि राजा शिवदेवको शासनकालमा इ.सं. ५९४ मा श्रीसामन्तका रूपमा देखा परेका अंशुवर्माले शक्ति संचय गर्दै सोही वर्ष ‘श्रीमहासामन्त’ र पछि राजासँग मिलेर द्वैध शासन समेत चलाएका थिए । राजकाजबाट अवकाश लिएर राजा बौद्ध भिक्षु भएपछि इ.सं. ६०५ मा अंशुवर्मा शक्तिशाली एकल शासक (बुङमतीको अभिलेख) बन्न पुगे । एकल शासन थालेपछि अंशुवर्माले नयाँ राजदरबार कैलाशकूटबाट आज्ञा, सनदहरू जारी गरेको पाइन्छ ।
साँगाको इ.सं. ६०८ को अभिलेखमा त्यस भवनलाई ‘पृथ्वी तलको टीका जस्तो, दुनियाँले आँखा झ्म्मि नगरी हेर्ने गरेको’ भनिएको छ । त्यस्तै, यंगालहिटीको इ.सं. ६४३ को अभिलेखमा ‘जूनले टल्केको हिमालयको टाकुरा झैं झ्लमल गर्ने संसारमा प्रसिद्ध’ र अनन्तलिंगेश्वरको अभिलेखमा ‘कैलाश जस्तो, आँखालाई आनन्द दिने, संसारमा प्रसिद्ध’ भनी प्रशंसा गरिएको छ ।
नरेन्द्रदेवको समयमा नेपाल आएका चिनियाँहरूले गरेको वर्णन ताङ्ग वृत्तान्तमा परेको छ । त्यस अनुसार कैलाशकूट भवनको बीच भागमा एउटा साततले बुर्जाकारको घर छ । तामाका पाताले छापिएका त्यसका छानाका चारै कुनामा जडिएका सुनौला गोहीहरूको मूर्तिका मुखबाट पानीको फोहोरा निस्कन्छ । असल–असल काठले बनेका घरका दलिन, खम्बा र कठवारमा मणिमाणिक्य जडिएका छन् । भित्ताहरू कालिगरीपूर्ण बुट्टाहरूले सजिएका छन् । कैलाशकूटको वर्णन गर्ने यस्ता अभिलेख धेरै भए पनि त्यो भवन कहाँ थियो, खुल्दैन । फ्रान्सेली अध्येता सिल्भाँ लेभीले सम्वत् ३० को हाँडीगाउँको अभिलेखका आधारमा त्यो भवन हाँडीगाउँमै कतै हुनुपर्छ भनी पहिलोपल्ट अनुमान गरेका थिए । अन्य अध्येताहरूमध्ये कसैले गोकर्ण त कसैले अन्यत्र अनुमान गरेका छन् । पुरातत्व विभागले ३० जेठमा चलाएको छलफलमा सहभागीमध्ये धेरैले लेभीलाई पछ्याएको पाइयो ।
कैलाशकूट भवन संयुक्त शासनकै बेला बनेको र एकल शासन थालेपछि अंशुवर्मा त्यसमा सरेको अनुमान गर्न सकिन्छ । उनी पछि उदयदेव, भीमार्जुनदेव, विष्णुगुप्त, नरेन्द्रदेव, शिवदेव द्वितीय, जयदेव आदिले त्यहींबाट शासन गरेकाले भवनको भव्यता अनुमान लगाउन सकिन्छ । नरेन्द्रदेवले आफ्नो लागि ‘भद्राधिवासभवन’ बनाएको भए पनि उनी पछिका शासकहरू कैलाशकूटमै बसेका थिए ।
केही दशकअघि काठमाडौं महानगरपालिकाले पनि कैलाशकूट भवन पुनर्निर्माण गर्ने घोषणा गरेको थियो, जुन हावादारी सावित भयो । पुरातत्व सम्बन्धी कामहरू त्यसै पनि संवेदनशील विषय हुन् । त्यसमाथि नेपालमा सम्पदाको हकमा हानिकारक समय चलेको छ । लुम्बिनीमा उत्खनन् पछि के गर्ने भन्ने लामो अन्योल पछि मायादेवी मन्दिरको अस्थायी समाधान खोजिएको थियो । काँक्रेविहारको उत्खनन्पछि त्यसको जगमा मन्दिर उठाइएको छ, जुन ऐतिहासिक नभएर काल्पनिक स्वरुप हो । नेपालमा उत्खनन्पछि कुनै संरचना ठड्याउनै पर्ने मान्यता विकास भएको यसले देखाउँछ । यता रानीपोखरीमा प्रतापमल्लकालीन स्केच हुँदाहुँदै राणाकालीन संरचना अनुसार बनाउने सुरसार हुँदैछ । यसलाई इतिहास मास्ने लक्षण भन्दा अर्थोक भन्न सकिन्न । यस्तो अवस्थामा त सम्पदाहरूलाई छोपेर राख्नु नै ठूलो उपलब्धि हुन्छ ।
एउटा सानो मन्दिरको जीर्णोद्धारका लागि विदेशीसँग हात फैलाउनुपर्ने अवस्थाबाट गुज्रनु परिरहेको अवस्थामा नयाँ उत्खनन्मा हात नहाल्नु नै बुद्धिमानी हो । भारतमा पहिचान भएर पनि उत्खनन् नगरी राखिएका पुरातात्विक स्थलहरू ६ हजारभन्दा बढी छन् । जमीनभित्र रहुन्जेल सम्पदा सुरक्षित हुने र उत्खनन्पछि अनेकौं चुनौतीमा पर्ने कारणले भारतीयहरूले यतिकै राखेको बुझन सकिन्छ । नेपालमा भने उत्खनन्मा हतारिने र सही ढंगले संरक्षण नगर्ने डरलाग्दो प्रवृत्ति छ ।
कैलाशकूट भवनको उत्खनन् पनि गर्ने मनसाय बजेट भाषणबाट बुझ्यिो । पहिलो त त्यो कहाँ छ भन्ने थाहा छैन, थाहा भए पनि उत्खनन गर्ने जनशक्तिको नितान्त अभाव छ । अरू मुलुकहरूले आफ्नो पुरातत्व क्षेत्रमा विदेशीलाई संलग्न गराउँदैनन्, तर नेपालमा पुरातत्व विभागको भूमिका दृष्टि साक्षी बस्नुमा सीमित छ । कैलाशकूटको अवस्थिति थाहा पाएर उत्खनन् नै भए पनि त्यसपछि के गर्ने भन्ने सोच बनिसकेको छैन ।
त्यसको जग देखाएर पर्यटकलाई लोभ्याउने सोच हो भने त्यो भवन लुम्बिनी जस्तो अन्तर्राष्ट्रिय रुचिको विषय होइन । त्यसलाई लिच्छविकालीन झ्ल्को दिने गरी पुनर्निर्माण गर्ने योजना हो भने त्यो बेलाको वास्तुशैली अज्ञात छ । आफूखुशी संरचना ठड्याउने हो भने इतिहास–संस्कृतिमाथि खेलबाड मात्र हुन्छ ।
अर्को कुरा, कैलाशकूट भवनको अवस्थिति थाहा नपाएर इतिहास अध्ययनमा बाधा परेको छैन । जमीनमाथि असरल्ल छरिएका सयौं सम्पदा जोगाउन नसकेको अवस्थामा कैलाशकूटको खोजी र उत्खनन् गर्ने जमर्को ‘सस्तो लोकप्रियता’ को प्रयासमा सीमित हुनेछ ।