१०-१६ असार २०७५ | 24-30 June 2018

सानाको रवाफ ठूलालाई दबाब

Share:
  
- ज्ञानेन्द्र आचार्य
कम आँकिएका टोलीको अविश्वसनीय र अब्बल प्रदर्शनले जारी विश्वकप आश्चर्यजनक नतिजाको उत्सव बन्ने संकेत देखिंदैछ।

जर्मनी विरुद्ध मेक्सिको ।
विश्वकप फूटबलको ‘डेब्यु’ खेलमै अर्जेन्टिनालाई बराबरीमा रोकेर आइसल्याण्डले सनसनी मच्चायो । दुई वर्षअघि पहिलो पटक युरोकप खेल्दा नै आइसल्याण्ड टोलीले आफ्नो जुझारुपन प्रस्तुत गरेको थियो । इङ्गल्याण्ड विरुद्ध पछि परेको अवस्था उल्ट्याउँदै उसले जित हासिल गरेको थियो ।

अर्जेन्टिनासँग पनि त्यस्तै भयो । २० मिनेटमै गोल खाएको आइसल्याण्डले त्यसको चार मिनेटमै बराबरी गर्‍यो । विश्वकपको पूर्व विजेतासँग एक अंक खोस्नु आइसल्याण्डका लागि जित बराबर नै थियो । यो बराबरीबाट आइसल्याण्डले विश्व फूटबलमै आफ्नो क्षमता पुष्टि गर्‍यो ।

रक्षात्मक खेलेरै आइसल्याण्डले प्रशंसा बटुल्दा, अर्जेन्टिनाको भने निकै आलोचना भयो । विश्वस्तरीय अग्रपंक्तिका खेलाडीले भरिएको यो टीमले आइसल्याण्डको रक्षापंक्ति नै तोड्न सकेन । हुन त बल्लतल्ल विश्वकप छनोट भएको अर्जेन्टिनालाई यसपटक विश्वकप दाबेदार टोली मानिएको थिएन । अर्जेन्टिना फूटबल फेडरेसनले नै टोलीको लक्ष्य सेमिफाइनल भएको बताएको थियो । कप्तान मेसीले पनि ब्राजिल, फ्रान्स, जर्मनी र स्पेन नै अर्जेन्टिनाभन्दा निकै राम्रा टोली भएको बताएका थिए । क्रोएसिया विरुद्धको फिक्का खेलले पनि अर्जेन्टिनाको बेहाल प्रमाणित गर्‍यो । निकै आशा गरिएका मेसी पटक्कै चल्न सकेनन् । छनोट चरणमा मिडफिल्डबाट पर्याप्त मौका सिर्जना नहुँदाको दबाब यहाँ पनि देखियो । यसका लागि पहिलो खेलको जितबाट हौसिएको क्रोएसियाले पाँच मिडफिल्डर उतारेको थियो । क्रोएसियासँग ३–० को हारपछि अर्जेन्टिनाको विश्वकप यात्रा समूह चरणमै टुंगिने जोखिम बढेको छ ।

ब्राजिल विरुद्ध स्वीट्जरल्याण्ड ।
प्रतियोगिताको साबिक विजेता जर्मनीले पनि पहिलो खेलमा अप्रत्याशित हार बेहोरेको छ । एक वर्षअघि मुख्य खेलाडी विनै कन्फेडेरेसन कप खेल्न रुस पुगेको जर्मनीले मेक्सिकोलाई ४–१ ले पराजित गरेको थियो । तर, त्यो हारको बदला विश्वकपमा लिन मेक्सिकोले राम्रै रणनीति बुनेको देखियो । तीव्र गतिमा लगातार आक्रमण बुन्ने जर्मनीको परम्परागत शैली नै पछ्याएको मेक्सिकोका खेलाडीले लोभलाग्दो ‘काउन्टर अट्याक’ गरेका थिए । जर्मनीले ‘काँचै खाने’ अनुमान गरिएको मेक्सिको अन्ततः सबैलाई जिल्याउँदै जितको भागिदार बन्यो ।

यो विश्वकपमा ब्राजिललाई सबैभन्दा बलियो टोली मानिएको छ । दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनोटका शुरुआती ६ खेलसम्म भने ब्राजिलको खेलमा कुनै चमक थिएन । तर, प्रशिक्षकका रुपमा टिटे पाएपछि खेल एकाएक उकालो लाग्यो । टिटेले कलात्मक ढंगमा खेलिने मौलिक ब्राजिलियन शैली पुनस्र्थापित गराए । यसपछि ब्राजिलले छनोटका बाँकी १२ मध्ये १० मा जित र दुई खेल बराबरी गरेको थियो । टिटेले टीम हेरेयता ब्राजिल एक खेलमा मात्र हारेको छ । त्यसैले पनि जारी विश्वकपमा ब्राजिललाई सम्भावित विजेताको सूचीमा पहिलो स्थानमा राखिएको थियो ।

तर जर्मनी, अर्जेन्टिना र स्पेन जस्ता ठूला टीम झैं ब्राजिलले पनि पहिलो खेल जितेन । स्वीट्जरल्याण्ड विरुद्ध ब्राजिलको खेल नराम्रो थिएन । तर, तुलनात्मक रुपमा कमजोर स्वीट्जरल्याण्ड हार मान्न तयार देखिएन ।

विशेषतः नेयमार, कुटिन्हो र विलियानसँग उनीहरू निकै आक्रामक देखिए । ब्राजिलको कलात्मक फूटबल विरुद्ध स्वीट्जरल्याण्डले शारीरिक र तीव्र गतिको खेल खेल्यो । रक्षापंक्ति पनि जबर्जस्त देखियो । समूह चरणको दोस्रो खेलमा २–० गोलको जित हासिल गरे पनि ब्राजिललाई कोस्टारिकाले ९० मिनेटसम्मै गोल गर्नबाट रोक्यो । दुवै गोल इन्जुरी समयमा भएको थियो ।

अर्जेन्टिना विरुद्ध आइसल्याण्ड ।
हरेक स्थानमा युवा र नाम चलेका खेलाडी भएका कारण फ्रान्सलाई यस विश्वकप उपाधिको अर्को दाबेदार ठानिएको छ । फ्रान्सले अष्ट्रेलिया विरुद्धको पहिलो खेलमा जित त हात पार्‍यो तर त्यो जित कम कठिन थिएन । दोस्रो खेलमा पेरुलाई पराजित गरेर समूह चरण पार गरे पनि फ्रान्सको खेलमा सम्भावित विजेताको छनक देखिएकै छैन । फ्रान्सबाहेक पहिलो खेलमा जित हात पार्ने ठूला टीम बेल्जियम र इङ्गल्याण्ड हुन् । बेल्जियमले ३–० को प्रभावशाली जित दर्ता गरेको भए पनि उही समूहमा रहेको इङ्गल्याण्डले जितका लागि अन्तिम मिनेटसम्म कुर्नु पर्‍यो । समूहका ट्युनिसिया र पनामाले पनि दर्शक निराश भने पारेनन् ।

जारी विश्वकपमा आशा नगरिएको टीम हो जापान । तर, यही जापान दक्षिण अमेरिकी राष्ट्रलाई विश्वकपमा पराजित गर्ने पहिलो एशियाली मुलुक बन्यो । त्यसो त खेलको शुरुमै कोलम्बियाका एक खेलाडी रातो कार्ड पाएर बाहिरिएका थिए । तर खेल अवधिभर जापानले देखाएको बहादुरीकै कारण जित सम्भव भएको थियो ।

विश्वकप अघि खासै वास्ता नगरिएको घरेलु टोली रुसले पनि लय समातेको छ । पहिलो दुई खेल जितेसँगै रुस दोस्रो चरण पुगेको छ । जबकि विश्वकप अघि रुस आफ्नो समूहमा अन्तिम हुँदै बाहिरिने अनुमान गरिएको थियो । तर, अहिले रुस समूह विजेता बन्ने छाँट देखिंदैछ । रक्षात्मक भनिने रुसले पहिलो दुई खेलमै आठ गोल गरेको छ ।

समूह चरणबाटै घर फर्कने अनुमान गरिएका साना टीममध्ये धेरैले रक्षात्मक रणनीति अपनाएका छन् । केही भने सक्दो आक्रामक देखिएका छन् । तर रक्षात्मक टीमले पनि उपयुक्त मौका सिर्जना गरेर होस् वा विपक्षी डिफेन्सलाई गल्ती गर्न बाध्य तुल्याएर, गोलको मौका निकालिरहेकै छन् । त्यसैले पनि अपेक्षा नगरिएका टीमले समूह चरणमा केही आश्चर्यजनक नतिजा निकालेका छन्, जसले उपाधि भिडन्तको भविष्यवाणी थप जटिल बनेको छ ।

comments powered by Disqus

रमझम