१७-२३ असार २०७५ | 1-7 July 2018

ग्रीन कार्पेट विछ्याउने हतारो नगरौं

Share:
  

हिमाल खबरपत्रिकाको (१०–१६ असार) आवरण रिपोर्ट ‘प्रमको चीन भ्रमणः बेइजिङ सम्मति !’ ले नेपालको चीन र भारतसँगको सम्बन्धबारे बुझउने प्रयास गरेको छ । भारतलाई आश्वस्त पार्दै चीनको विश्वास जितेर साझ्ेदारीको ढोका खोल्न प्रधानमन्त्री ओलीले अपनाएको रणनीति प्रशंसनीय छ । प्रम ओलीको भ्रमणका क्रममा राखिएका नेपालका चासोमा बेइजिङले सम्मति जनाएको भनिए पनि दीर्घकालीन रणनीतिक स्वार्थमा चल्ने बेइजिङले आफ्नो नेपाल नीति सजिलै परिवर्तन गरिहाल्छ भनेर बुझनु चाहिं अलि हतार नै हुनेछ । प्रम ओलीको भ्रमण सफल वा असफल भन्न पनि भएका सहमति सम्झैताहरूको कार्यान्वयनले देखाउने कुरा हो ।

पुनम दाहाल, इमेलबाट

सरकारका आँखा खुलुन्

हिमाल १०–१६ असार रिपोर्ट ‘नेरु–भारु आबद्धताः कहिले हट्ला भारुसँगको भर ?’ ले नेपालको निरीहता औंल्याइदिएको छ । अब पनि भारुसँग स्थिर विनिमय आबद्धताबाट निस्कन पहल नगर्ने हो भने नेपाली अर्थ–व्यवस्थामा भारतीय प्रभाव अनन्तकालसम्म रहने पक्का छ । शक्तिशाली ओली सरकारले भारतीय प्रभाव हटाउने काम शीघ्र शुरू गरोस् ।

रमेशहरि पौडेल, अनलाइनबाट

जीवन बिगार्ने काम नगरौं

हिमाल १०–१६ असारको पर्यावरण सम्बन्धी रिपोर्ट ‘पूर्वपश्चिम एउटै शहरः बरबादीतिर पर्यावरण’ ले सरोकारवालाको आँखा खोलेको हुनुपर्छ । विना योजनाको शहरीकरणले एकातिर पर्यावरणलाई ध्वस्त त पारेको छ नै अर्कोतिर मानव जीवनमा नै घातक असर परेकोले समयमै सरकार र सम्बन्धित सरोकारवालाहरूको ध्यान जानु जरूरी छ । पर्यावरण भनेको हाम्रो जीवन पनि भएको हुँदा समृद्धि र विकासका नाममा यसलाई ध्वस्त पार्ने काम नगरौं । पर्यावरणको संरक्षणका लागि आजैदेखि जुटिहालौं, नत्र पछि पछुताउनुबाहेक केही हात लाग्ने छैन ।

विदुरकृष्ण न्यौपाने, अनलाइनबाट

सपना देखाउन छोडौं

हिमाल १०–१६ असारको पुनर्निर्माण सम्बन्धी टिप्पणी ‘हेलम्बुको सही बाटो’ सटिक छ । पुनर्निर्माणले थिलथिलो गाउँबस्तीको मात्र समाचार पढिरहेका बेला साँच्चै नै मन फुरुङ्ग हुने टिप्पणी पढ्न पाइयो । जनताको चहराइरहेको घाउमा मल्हमपट्टी गर्ने हो भने अहिलेको सरकारले चाँडोभन्दा चाँडो राहत रकम वितरण र पुनर्निर्माणको कार्य सम्पन्न गरोस् अनि हेलम्बु जस्तै बनोस् । भूकम्पबाट पीडित जनतालाई ओत चाहिएको हो, न कि सपनाको मेट्रो र चिनियाँ रेल । पूरा नहुने सपना देखाउनुभन्दा गाउँ समाजलाई नै सुन्दर बनाउनेतिर लाग्दा नै अहिलेको सरकारको सफलता पनि निहितार्थ हुनेछ । आफ्नो संस्कृतिलाई जोगाउँदै संरचना पुनर्निर्माण गर्न अग्रसर हेलम्बुवासीको सिको अन्यत्र पनि हुनुपर्छ ।

यदुनाथ सिजापति, इमेलबाट

चुक्दै ओली सरकार

हिमाल १०–१६ असारको टीआरसी ऐन संशोधन सम्बन्धी टिप्पणी ‘संक्रमणको छटपटी’ पढ्दा सरकार संक्रमणकालीन न्यायिक प्रक्रियामा चुक्दै गएको लाग्यो । पीडितलाई कहीं कतै सहभागी नगराई संक्रमणकालीन न्याय सम्बन्धी कानून र कार्यविधि तय गर्नु अन्तर्राष्ट्रिय मान्यता र अदालतद्वारा स्थापित नजिर विपरीत हो भन्ने जान्दाजान्दै सरकार त्यसैमा लागेको देखिन्छ । हुन त हिजोका मानवअधिकार उल्लंघनकर्ताहरू नै सरकारमा सामेल भएको अवस्थामा संक्रमणकालीन न्यायिक प्रक्रिया पीडितमैत्री हुन्छ भनेर कल्पना गर्नु नै व्यर्थ छ । बालकृष्ण ढुंगेल जस्तालाई माफी दिन उद्यत सरकारबाट के नै आशा गर्न सकिन्छ र !

वासुदेव शर्मा, अनलाइनबाट

आन्दोलनका लागि ऊर्जा चाहिन्छ

हिमाल १०–१६ असारको राष्ट्रिय जनता पार्टीका नेता वृषेशचन्द्र लालको अन्तर्वार्ता ‘आन्दोलनको अध्याय समाप्त भयो’ पढेपछि मधेशको हाल बुझन सहज भएको छ । निश्चय पनि यो आन्दोलनको बेला होइन । अब पनि आन्दोलनका नाममा जनतालाई दुःख दिनुभन्दा विकासका लागि सबैसँग सहकार्य गर्नु नै सबैको हितमा हुन्छ ।

गणेश श्रेष्ठ, अनलाइनबाट

पठनीय देहात संवाद

‘पियवा कइले फुन !’ (१०–१६ असार) देहात संवाद चोटिलो छ । स्मार्टफोन र इन्टरनेटले देहाती जीवनमा पारेको प्रभाव राम्रै गरी चित्रण गर्न सफल लेखकबाट अरू यस्तै आशावादी रिपोर्टको अपेक्षासहित ।

शरणबाबु यादव, अनलाइनबाट

खतराको घण्टी

विद्यालय शिक्षा सम्बन्धी रिपोर्ट ‘नीति फरक परिणाम उही’ (१०–१६ असार) ले अहिलेको शिक्षा क्षेत्रको यथार्थ देखाइदिएको छ । यसको असर त अहिलेको एसईई रिजल्टमा पनि देखिइसकेको छ । अझ् खतरनाक पाटो त विद्यार्थीको फेल नै नहुने मनोविज्ञान र अभिभावकलाई जसरी पनि ‘ए प्लस’ नै चाहिने आग्रहले भोलिका दिनमा झ्न् जटिलता उत्पन्न हुने देखिन्छ ।

तुलसी भुजेल, अनलाइनबाट

हिमाल सँग गुनासो

दुई दशकदेखि नम्बर वान हिमाल को कन्टेन्टमा तस्वीर प्रयोगमा देखिएको कन्जुस्याइँले घरी–घरी पिरोल्छ । हजार शब्दले भन्ने कुरा एउटै तस्वीरले बोल्छ भनेझैं कहिलेकाहीं त राम्रा तस्वीर देख्न पाइयोस् न ।

सचिता गौतम, अनलाइनबाट

comments powered by Disqus

रमझम