१७-२३ असार २०७५ | 1-7 July 2018

कीर्तिनिधिको मृत्युघण्ट

Share:
  
- भैरव रिसाल
पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टले एक जमानामा ‘मृत्युघण्ट’ शीर्षकको कविता लेखेर पनि ठूलै हलचल मच्चाएका थिए।

मीनरत्न बज्राचार्य
शान्त स्वभावका भद्रभलाद्मी व्यक्तित्व कीर्तिनिधि विष्ट सामान्यतः मृत्युको घण्ट बजाउने कित्तामा पर्दैनन् । तर उनको त्यो कविताले पंचायती शासन व्यवस्थामा लामै समय हलचल मच्चाइरह्यो । पत्रकार मणिराज उपाध्याय स्मृति ग्रन्थमा स्वयं विष्टले लेखेका छन– ‘मेरो उक्त भनाइलाई अर्थको अनर्थ लगाएर टिङ्ग्याएर बङ्ग्याएर त्यो सम्प्रेषण गर्नु पत्रकारको भूल हो । म सहमत छैन यस्ता कुरामा । ... त्यसलाई अनेक अर्थ लगाएर, बङ्ग्याएर पत्रकार वर्गले लेखे, तर त्यसको सार के हो भन्ने बुझेनन् ।’ यसरी भनी चोखिएका छन्, विष्ट ।

कीर्तिनिधिको कविता यस्तो रहेछ–

नेपाली हौं, हिमशिखरमा बस्दछौं धक नमानी

देशको माटो भनी सकल यहाँ राख्दछौं शिर माथि ।

जस्ले गर्दा तन–मन–धनले जानी नोक्सान यस्को

होला मृत्यु पलक भरमा दास बन्दा सपुत्को ।।

कीर्तिनिधिको ‘मृत्युघण्ट’ अन्धाहरूले हात्ती छामेर त्यसको वर्णन गरेजस्तै भयो । कीर्तिनिधिको स्वभाव, आचरण, चरित्र, आनीबानीको समीक्षा गर्दा उनी अरूको विरुद्ध मृत्युको घण्ट बजाउनेमा ठहर्दैनन् पनि ।

सूर्यबहादुरको कालो टीका र अनशन

सूर्यबहादुर थापा २०२१ माघबाट २०२३ चैतसम्म मन्त्रिपरिषद्को अध्यक्ष भए । राजा महेन्द्रले संविधान संशोधन गरेर ‘जनताको नासो जनतालाई नै सुम्पने’ भने पनि प्रजातन्त्र दिएनन् । बरु, २०२३ चैत १५ देखि सूर्यबहादुरलाई मन्त्रिपरिषद्को प्रधानमन्त्री भनेर पानी माथि ओभानो हुन खोजे । सूर्यबहादुर यसपल्ट २०२५ चैतसम्म ओहोदामै रहे । २०३६ जेठमा जनमत संग्रह घोषणा पछि फेरि प्रधानमन्त्री नियुक्त भएर चार वर्ष लगातार कायम रहे ।

त्यसपछि राजा वीरेन्द्र अघाएर छोड भनेछन्, तर सूर्यबहादुरले टेरेनछन् । अनि आगो भएका राजाले २०४० असारमा राष्ट्रिय पञ्चायतमा महाभियोग लगाउन लगाएर प्रधानमन्त्री पदबाट हटाए । त्यो बेला राष्ट्रिय पञ्चायतका १४० सदस्यमध्ये १६ जना मात्र सूर्यबहादुरको पक्षमा उभिएका थिए ।

सूर्यबहादुर थापासँग राजा महेन्द्र अघाएकै थिए । वीरेन्द्र राजा भएपछि थापाले २०२९ साउन २९ गते काठमाडौंको इटुंवहालमा आमसभा गरेर प्रजातन्त्रका लागि १३ सूत्रीय माग प्रस्तुत गरे । माग चर्का थिए । त्यही साँझ् सूर्यबहादुर नजरबन्द गरिए । त्यतिबेला कीर्तिनिधि विष्ट प्रधानमन्त्री थिए । विष्ट थोरै–थोरै समय धेरैपल्ट गरी ५÷६ वर्ष प्रधानमन्त्री भए ।

चार महीनामा पनि काराबास मुक्त हुने छेकछन्द नदेखिएपछि सूर्यबहादुरले १ पुसमा जेलमै होम गरी कालो तिलक लगाए । प्रधानमन्त्री कीर्तिनिधि विष्टले बेलाबेला ‘मृत्युको घण्ट’ बजाउन थालेको पनि त्यही कालबाट हो । सूर्यबहादुरले २०२९ माघ २३ बाट अनशन थालेर २१ दिनमा आफैंले ग्लुकोज पानी खाएर अनशन तोडे । तैपनि कीर्तिनिधिले थापालाई जेलमुक्त गरेनन् ।

२०३० असारको अन्तमा सिंहदरबारमा आगलागी भयो, १ साउनमा नगेन्द्रप्रसाद रिजाल प्रधानमन्त्री भए अनि असोज १७ गते सूर्यबहादुर थापा साढे १३ महीना थुनिएर मुक्त भए । यस कारण कीर्तिनिधि विष्टको ‘मृत्युको घण्ट’ सूर्यबहादुर थापा विरुद्धको विषवमन हो भन्ने अर्थमा लिइएको थियो, त्यो बेला ।

एक–डेढ महीनायता मैले ऊ बेलाको ‘मृत्युघण्ट’ बारे केही पूर्वपञ्चसँग जिज्ञासा राख्दा ठोस जवाफ पाउन सकिनँ । पशुपतिशमशेर राणाले ‘थाहा छैन’ भने । लोकेन्द्रबहादुर चन्दले ‘व्यवस्था विरोधीहरूलाई भनेको हो क्यार ! त्यति बेला म यहाँ थिइनँ’ भने । केशरबहादुर विष्टलाई पनि हेक्का रहेनछ यो ‘मृत्युघण्ट’ को । दीर्घराज प्रसाईंले ‘इतर पक्षका पञ्चहरूलाई भनेको हो जस्तो लाग्छ’ भने । नारायणदत्त भट्टलाई सोध्दा उनी पनि अलमलिए ।

comments powered by Disqus

रमझम