१७-२३ असार २०७५ | 1-7 July 2018

कार्यान्वयनको पर्खाइ

Share:
  
- टीकाराम राई
उत्तारी छिमेकको सफल भ्रमण गरेर फर्केका प्रम केपी ओलीलाई सिंहदरबारमा फाइल लुकाउनेहरूले अल्मल्याउने सम्भावना छ।

अघिल्लो पटक प्रधानमन्त्री हुँदा केपी ओलीले चीन भ्रमण (७–१४ चैत, २०७२) गरेर पारवहन तथा यातायात सम्झैता गरेका थिए । त्यसबेलाको संयुक्त वक्तव्यमा केरुङ–काठमाडौं–पोखरा र लुम्बिनी द्रुत रेलमार्ग निर्माणको विषयले प्रवेश पाएको थियो । पछिल्लो कार्यकालको भ्रमण (५–१० असार) मा केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्बन्धी समझ्दारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री ओलीले पारवहन तथा यातायात सम्झैताको कार्यविधि (प्रोटोकल) मा भने आगामी महीना मात्र हस्ताक्षर हुने जानकारी १२ असारको संसद बैठकलाई गराएका छन् ।

नेपाल–चीन संयुक्त वक्तव्यमा परेका विषयमध्ये पाँच वटा बढी महत्वपूर्ण छ, जसबाट चिनियाँ संवेदनशीलता बुझन र चीन–नेपाल सम्बन्धको ‘रोडम्याप’ ठम्याउन सकिन्छ । ओलीको अघिल्लो चीन भ्रमणको संयुक्त वक्तव्यभन्दा यो वक्तव्य महत्वपूर्ण छ, तर चर्चा चाहिं अघिल्लो वक्तव्यले बढी पायो । तिब्बत र ताइवान चीनको आन्तरिक मामिला, हिमालय सीमा वारपार बहुआयामिक कनेक्टिभिटी, नेपालको कृषि उत्पादन चीन निकासी, नियामक निकायहरूबीच सूचना आदानप्रदान, संघाई कर्पोरेसन संगठन (एससीओ) र सार्क लगायतका क्षेत्रीय संगठन–संयन्त्रबीच सहकार्य पछिल्लो संयुक्त वक्तव्यमा परेका महत्वपूर्ण विषय हुन् । यी विषय कार्यान्वयन हुनसके चीन–नेपाल सम्बन्ध साँच्चै नयाँ उँचाइमा पुग्न सक्छ ।

‘तिब्बत चीनको आन्तरिक मामला हो’ भन्ने विषयले यस अगाडिका संयुक्त वक्तव्यमा पनि स्थान पाउने गथ्र्यो । यसपटक भने यसमा ताइवान पनि परेको छ । राष्ट्रपति सी चिनफिङको उदय हुनुभन्दा अगाडि चीनको नेपाल नीति तिब्बतको सुरक्षामा आधारित थियो । केही वर्षयता अमेरिकाले भारतसँगको सहकार्यमा चीनलाई घेर्ने नीति लिएपछि चीनको नेपाल नीतिमा ‘ताइवान’ पनि संवेदनशील विषय बनेको देखिएको छ । अमेरिकाले चीनलाई घेर्ने सुरक्षा नीति अनुसार नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत करीब रु.४४ अर्ब १२ करोडको परियोजना संचालन गरेको भन्ने बुझइ छ ।

दोस्रो, यसपटकको द्विपक्षीय वार्ताहरू र संयुक्त वक्तव्यमा हिमालयन सीमा वारपार ‘बहुआयामिक कनेक्टिभिटी’ भन्ने शब्दावलीको अधिक प्रयोग भयो । यसअघिका नेपाल–चीन बैठक, वार्ता र वक्तव्यमा ‘कनेक्टिभिटी’ भन्ने शब्द प्रयोग हुन्थ्यो । चिनियाँ रुचिको ‘त्रिदेशीय’ भन्ने शब्द पनि यसपटक प्रयोगमा आएन । ‘त्रिदेशीय र कनेक्टिभिटी’ जोडेर ‘हिमालयन सीमा वारपार बहुआयामिक कनेक्टिभिटी’ भनिए जस्तो छ । चीनले तिब्बतलाई खुला राखेर नेपालसँग ‘कनेक्टिभिटी’ बढाउन चाहेको देखिन्छ, जुन कार्यान्वयन हुँदा भारतमाथि नेपालको निर्भरता घट्छ भने तिब्बतमा पनि आर्थिक गतिविधि बढ्नेछ ।

तेस्रो कुरा, नेपाली कृषि उत्पादन चीन निर्यातका लागि आवश्यक प्राविधिक तथा वित्तीय सहयोग र प्रयोगशाला अनि ‘क्वारेन्टाइन’ स्थापना पनि उसैले गरिदिने संयुक्त वक्तव्यमा उल्लेख छ । यसले नेपालको व्यापार घाटा घटाउन, नेपाली किसानको आय बढाउन र नेपाल आउने चिनियाँ रेललाई खाली नपठाउन मद्दत गर्नेछ । तर, कृषि क्षेत्रलाई उच्च प्राथमिकता नदिएको नेपालको बजेटले यो विषयलाई महत्व दिएको छैन ।

चौथो, ‘दुवै पक्षले कानून नियामक निकायबीच सूचना आदानप्रदान, क्षमता अभिवृद्धि र तालिममा सहकार्यलाई सुदृढ गर्ने’ संयुक्त वक्तव्यमा उल्लेख छ । चीनले नेपालको राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अध्यागमन विभागसँग सहकार्य बढाउन पहिल्यैबाट चासो देखाउँदै आएको हो । त्यही कारण उसले हूलका हूल नेपाली सुरक्षाकर्मीलाई चीन अध्ययन भ्रमण गराउने गरेको छ । अबका दिनहरूमा यो झ्न् बढ्छ नै । नेपालमा चिनियाँ सुरक्षा संवेदनशीलतालाई सम्बोधन गर्न र लगानी बढाउन यो उसका लागि आवश्यक भयो ।

पाँचौं, वक्तव्यमा एससीओ, सार्क लगायतका क्षेत्रीय संगठन तथा संयन्त्रमा सहकार्य/समन्वय गर्ने उल्लेख छ । यसलाई चीनले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई पुनः क्रियाशील बनाउन नेपालसँग सहमति गरेको रूपमा बुझनुपर्छ । दक्षिणएशियामा चीनको भरपर्दो साझेदार पाकिस्तानका प्रधानमन्त्री सहिद खकान अब्बासी गत फागुनमा नेपाल आएर सार्कलाई सक्रिय पार्न समकक्षी ओलीलाई अनुरोध गरेको यहाँ स्मरणीय छ । चीन–भारत सम्बन्धमा पनि सुधार भइरहेको अवस्थामा भएको नेपाल–चीन सहमतिबाट सार्क विरुद्ध नलाग्न भारतमाथि दबाब पर्न सक्छ । सार्कको विषयमा चीनलाई तानेको भनेर भारतीय संस्थापन ओलीसँग चिढिने सम्भावना पनि छ ।

संयुक्त वक्तव्यका यी बुँदाहरूले प्रम ओलीको पछिल्लो चीन भ्रमण उपलब्धिमूलक भएको देखाउँछ । अब कार्यान्वयन पक्ष हेर्न बाँकी छ । यातायात तथा पारवहन सम्झैताको फाइल लुकाए जस्तै यसलाई पनि गायव पार्न सक्रिय हुनेहरू सिंहदरबारको कोठा–कोठामा छन् । तिनले ओलीलाई अल्मल्याउन सक्छन् ।

comments powered by Disqus

रमझम