१७-२३ असार २०७५ | 1-7 July 2018

११ र १२ कक्षाका उत्कृष्ट ३३ विद्यालय

Share:
  

परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले ९ असारमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेसँगै विद्यार्थी राम्रो विद्यालयको खोजीमा छन् । अक्षरांकन पद्धतिबाट मूल्यांकन गरिएको एसईईमा सहभागीमध्ये ७५.९२ प्रतिशत विद्यार्थीको ग्रेड प्वाइन्ट एभरेज (जीपीए) १.६५ भन्दा माथि छ । शिक्षा ऐन, २०२८ को आठौं संशोधनपछि माध्यमिक शिक्षामा परिणत भएको कक्षा ९ देखि १२ नै विश्वविद्यालय प्रवेशको आधारशिला हो । एसईईपछि कक्षा ११ र १२ का लागि सकेसम्म राम्रो विद्यालयको खोजी हुनु अस्वाभाविक होइन । किनभने गुणस्तरीय शिक्षाका लागि विद्यार्थीको लगनशीलतासँगै राम्रो शैक्षिक संस्था पनि अपरिहार्य छ ।

तर कस्तो विद्यालयलाई राम्रो भन्ने ? यसबारेमा भने शिक्षाविद्हरूकै फरक फरक मत रहेको पाइन्छ । परीक्षाको नतिजा, सिर्जनशीलता, व्यावहारिक ज्ञान, विद्यालयको भौतिक पूर्वाधार, शिक्षक तथा सञ्चालकहरूको पृष्ठभूमि, पाठ्यक्रम, सिकाइ पद्धति आदि हेरेर राम्रो विद्यालय छान्नुपर्ने शिक्षाविद्को सुझव छ । विद्यार्थी र अभिभावकलाई राम्रो विद्यालय छनोटमा मद्दत पुगोस् भनेर हिमाल ले कक्षा ११ र १२ पढाइ हुने राम्रो विद्यालयको सूची प्रकाशित गरेको छ ।

देशभरिका ३५०० विद्यालय मध्येबाट उत्कृष्ट विद्यालय छनोट गर्दा राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षालाई आधार बनाइएको छ । विगत पाँच वर्षदेखि ३० जनाभन्दा बढी विद्यार्थीलाई परीक्षामा सहभागी गराएर कक्षा १२ मा निरन्तर ८० प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालय यसमा सूचीकृत भएका छन् ।

विगत डेढ दशकदेखि हिमाल ले एउटै मापदण्ड अनुसार उत्कृष्ट विद्यालय छनोट गर्दै आएको छ । यस वर्ष काठमाडौं उपत्यका बाहिरका १३ सहित ३३ विद्यालय उत्कृष्ट सूचीमा परेका छन् । गत वर्ष उत्कृष्टमा परेको बनेपाको सिद्धार्थ इङ्गलिस स्कूल यो वर्षको परीक्षामा ८० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन असफल भएकाले यो सू्चीमा छैन । गत वर्ष उत्कृष्टमा नपरेका दाङको तुलसी बोर्डिङ स्कूल, मोरङको मेरील्याण्ड सेकेण्डरी स्कूल, काठमाडौंको नोबेल एकेडेमी र बूढानीलकण्ठ स्कूल यो वर्ष उत्कृष्ट विद्यालयमा छनोट भएका छन् । लामो समयदेखि पहिलो स्थानमा रहँदै आएको ललितपुरको मानभवनस्थित प्रसादी एकेडेमी पहिलो स्थान सुरक्षित राख्न सफल भएको छ । उत्कृष्ट विद्यालयलाई पाँच वर्षको औसत नतिजाको आधारमा प्रस्तुत गरिएको छ ।

comments powered by Disqus

रमझम