१७-२३ असार २०७५ | 1-7 July 2018

विद्यालय सञ्चालक/प्राचार्यको सल्लाह

Share:
  

रमेश सिलवाल

प्रमुख कार्यकारी अधिकृत, गोल्डेनगेट इन्टरनेशनल सेकेण्डरी स्कूल

विद्यालय छनोट गर्दा सञ्चालकहरूको टीम, टिचिङ फ्याकल्टी, विद्यालयको पृष्ठभूमि, पढाइ बाहेकका अतिरिक्त क्रियाकलाप आदि थाहा पाउनुपर्छ । पूर्व विद्यार्थीको प्रतिक्रिया, भौतिक पूर्वाधार र शैक्षिक वातावरण बारेको जानकारी पनि विद्यालय छनोटका आधार हुन् । विषय छनोट चाहिं विद्यार्थीकोे रुचि अनुसार हुनुपर्छ ।

सुरेन्द्र सुवेदी

प्राचार्य, नेशनल सेकेण्डरी स्कूल

विद्यार्थीको सर्वाङ्गीण विकासको आधार गुणस्तरीय फ्याकल्टी, अतिरिक्त क्रियाकलाप, प्रयोगात्मक कक्षा र उपयुक्त भौतिक वातावरण हो, जसलाई हामीले उच्च प्राथमिकता दिएका छौं । त्यसैगरी अनुशासन र विद्यार्थी केन्द्रित सिकाइ हाम्रो विशेषता हो । विद्यालय छनोटको एउटा बलियो आधार परीक्षाको नतिजा पनि हो ।

डा. नगेन्द्र अर्याल

प्राचार्य, काठमाडौं मोडेल मावि

विगतको नतिजा, विद्यालयको आगामी योजना, विद्यालयको नेतृत्व गरिरहेकाहरूको पृष्ठभूमि ख्याल गर्नुपर्दछ । पढाइका साथै अतिरिक्त क्रियाकलाप, विद्यार्थीको विकासमा विद्यालयले गरिरहेको काम र पूर्व विद्यार्थीको दृष्टिकोण बुझनु पनि राम्रो हो । व्यापारभन्दा पनि शैक्षिक गुणस्तरमा केन्द्रित विद्यालय छनोटमा ध्यान दिनुपर्छ ।

सम्झना बस्न्यात

प्राचार्य, इन्टरनेशनल स्कूल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट

अन्तर्राष्ट्रियस्तरको पढाइ नेपालमै दिने हाम्रो अभियान हो । यसकै आधारमा हामीले भौतिक सुविधादेखि शिक्षण सिकाइलाई अगाडि बढाइरहेका छौं । हाम्रोमा होटल र टुरिज्म म्यानेजमेन्टको मात्रै पढाइ हुन्छ । योग्य शिक्षक, व्यावहारिक तथा प्रयोगात्मक शिक्षण सिकाइमा हामी प्रतिबद्ध छौं ।

प्रा. डा. श्रीराम भगत माथेमा

अध्यक्ष, जेभियर एकेडेमी/एआईटीएम

विद्यार्थीले उसको रुचिको विषय छान्नुपर्छ र अभिभावकले त्यो रुचि बुझेर साथ दिनुपर्छ । विद्यालयको विगतको नतिजा तथा शैक्षिक र भौतिक वातावरणलाई ध्यानमा राखेर विद्यालय छनोट गर्नुपर्छ । विद्यार्थीको चौतर्फी विकासको लागि विद्यालयले दिने सेवा तथा सुविधाबारे अभिभावक र विद्यार्थी दुवै सचेत हुनुपर्छ । आफूले छनोट गरेको विषयको क्षेत्र र भविष्य कस्तो छ भन्ने पनि ख्याल गर्नुपर्छ ।

नवीन श्रेष्ठ

प्राचार्य, नेपाल प्रहरी मावि, साँगा

विषय छनोट गर्दा आफ्नो रुचि, क्षमता र बजार ख्याल गर्नुपर्छ । नयाँ कोर्स पढेर बेरोजगार बस्नेहरू पनि छन्, त्यसप्रति अभिभावक र विद्यार्थी दुवै सचेत हुनुपर्छ । त्यसैगरी विद्यालय छनोट गर्दा ब्राण्डभन्दा सञ्चालक र शिक्षकहरूको टीमलाई महत्व दिनुपर्छ । प्रयोगात्मक कक्षामा जोड दिने, विद्यार्थी केन्द्रित पढाइ गर्ने विद्यालय रोज्नु उपयुक्त हुन्छ ।

दयाराम न्यौपाने

कार्यक्रम निर्देशक, द टाइम्स सेकेण्डरी स्कूल

विद्यार्थीकेन्द्रित, व्यावहारिक, प्रयोगात्मक र आधुनिक शिक्षण विधि भएका विद्यालय रोज्नुपर्दछ । विद्यालयले पनि पढाइ मात्रै नभएर विद्यार्थीका लागि आवश्यक मनोवैज्ञानिक शैक्षिक परामर्श, अतिरिक्त क्रियाकलापमा जोड दिनुपर्छ । त्यसैगरी विद्यार्थीको क्षमता र कमजोरीलाई पहिचान गरी भविष्यको मार्गनिर्देश गर्न सक्दा क्षमतावान र कर्मठ जनशक्ति उत्पादन हुन्छ ।

डा. स्वागत श्रेष्ठ

अध्यक्ष, काठमाडौं भ्याली सेकेण्डरी स्कूल

सकभर घरबाट नजिकको विद्यालय छनोट गर्नुपर्छ । विद्यालयबारे जानकारी लिने काममा विद्यार्थीसँगै अभिभावक पनि सहभागी हुनु जरूरी छ । भर्नाअघि सकभर विद्यालयबारे बुझ्नु वा जानकारी लिनु राम्रो हुन्छ । साथै विद्यालयको भौतिक पूर्वाधार पनि ख्याल गर्नुपर्छ ।

डा. माधवप्रसाद बराल

प्राचार्य, नेशनल स्कूल अफ साइन्स

विद्यालय छान्दा विज्ञापनको मात्रै भर नपरी पृष्ठभूमि आफैंले बुझनुपर्छ । भौतिक संरचना राम्रो हुँदैमा गुणस्तरीय पढाइ नहुन सक्छ । त्यसैले विगतको नतिजा र उक्त विद्यालयमा पढेका विद्यार्थीको सुझाव लिनु राम्रो हो ।

भूषण गुरुङ

एकेडेमिक हेड, सीजी एजुकेशन

हामीकहाँ गुणस्तरीय शिक्षकको टीम छ । शिक्षण सिकाइको लागि आवश्यक सबै शैक्षिक सामग्री र भौतिक संरचनाले सम्पन्न छ । त्यसका साथै विद्यार्थीकेन्द्रित पढाइ हाम्रो कलेजको बलियो पक्ष हो ।

रमेश घिमिरे

क्याम्पस प्रमुख, काठमाडौं कलेज अफ सेन्ट्रल स्टेट (इन्टेन्सिभ इन्टरनेशनल एकेडेमी)

राम्रो क्षेत्र र अवसर भएका विषय छनोट गर्नु उचित हुन्छ । विद्यार्थीले आफ्नो क्षमता पनि ख्याल गर्नुपर्छ । राम्रो जीपीए आउँदैमा विज्ञान नै पढ्नुपर्छ भन्ने खालको मान्यता राख्नुहुँदैन ।

हरिसिंह केसी

सहायक प्राचार्य, साउथ वेस्टर्न स्टेट सेकेण्डरी स्कूल

हामीले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानका साथै अनुसन्धान र सामाजिक गतिविधिमा आधारित अध्यापन गराइरहेका छौं । उत्कृष्ट नतिजा, गुणस्तरीय टिचिङ फ्याकल्टी र उचित भौतिक वातावरण हाम्रा विशेषता हुन् । साथै विद्यार्थीलाई समाजप्रति उत्तरदायी बनाउन, मानवीय मूल्य–मान्यता बुझाउन प्रतिबद्ध छौं ।

डा. एसपी सिंह

अध्यक्ष, पेन्टागन इन्टरनेशनल सेकेण्डरी स्कूल

विद्यार्थीले पढ्ने विषय अभिभावक र विद्यार्थी दुवैको सहमतिमा छान्नु उपयुक्त हुन्छ । आफ्नो रुचि मात्रै नहेरेर उक्त विषयको अवसर पनि हेर्नुपर्छ । विद्यालय छान्दा पढाइ, भौतिक पूर्वाधार, प्रयोगशालाका साथै शिक्षकबारे बुझ्नुपर्छ ।

एच.सी. लामिछाने

प्राचार्य, क्यापिटल सेकेण्डरी स्कूल (सीसीआरसी)

शिक्षकको टीम, परीक्षामा उत्तीर्ण विद्यार्थीको संख्या, पढाइपछिको ‘प्लेसमेन्ट’, उचित भौतिक पूर्वाधार हाम्रा विशेषता हुन् । विद्यालयले विद्यार्थीलाई पाठ्यक्रम अनुसार पढाउने मात्रै नभई समाजप्रति उत्तरदायी, व्यावहारिक र असल नागरिक बनाउन सक्नुपर्छ ।

लावण्य ढुंगाना

प्राचार्य, ओमेगा इन्टरनेशनल सेकेण्डरी स्कूल

घर नजिकको राम्रो विद्यालय रोजेर भर्ना राम्रो हुन्छ । उपयुक्त भौतिक पूर्वाधार, उज्यालो र प्रकाश छिर्ने कक्षाकोठा र पर्याप्त पाठ्य सामग्री सहितको पुस्तकालय भएको विद्यालय छनोट गर्नुपर्छ ।

वासुकीराज रेग्मी

प्राचार्य, चाणक्य सेकेण्डरी स्कूल

विद्यार्थीकेन्द्रित र प्रयोगात्मक पढाइ हाम्रो प्रमुख विशेषता हो । अतिरिक्त क्रियाकलापलाई पनि महत्व दिएका छौं । हाम्रा विद्यार्थीले परीक्षामा पनि उत्कृष्ट नतिजा हासिल गरिरहेका छन् । व्यवस्थापन संकायको मात्र पढाइ हुने भएकोले पनि हामीलाई विद्यार्थीकेन्द्रित पढाइ सञ्चालन गर्न सहज छ ।

डा. डम्बरसिंह ऐर

प्राचार्य, किस्ट कलेज एण्ड सेकेण्डरी स्कूल

विज्ञान र व्यवस्थापनमा हामी निश्चित कोटामा मात्रै विद्यार्थी भर्ना लिन्छौं । गुणस्तरीय पढाइ र विद्यार्थीको हेरचाहमा केन्द्रित छौं । अतिरिक्त क्रियाकलापको समेत पाठ्यक्रम बनाएर विद्यार्थीको सर्वाङ्गीण विकासमा ध्यान दिइरहेका छौं ।

मेदिन लामिछाने

प्राचार्य, यूलेन्स स्कूल

राम्रो जीपीए आयो भन्दैमा साइन्स नै पढ्नुपर्छ भन्ने मान्यता विद्यार्थी र अभिभावक दुवैले त्याग्नुपर्छ । विद्यार्थीले आफ्नो रुचि अनुसारको विषय र संकाय छनोट गर्दा सफलता मात्र हात पर्न सक्छ । हामीले विद्यार्थीको रुचि अनुसारको शिक्षण पद्धति अपनाएका छौं । विज्ञान र व्यवस्थापनमा निश्चित कोटामा मात्रै विद्यार्थी भर्ना गर्ने हुँदा गुणस्तरमा अगाडि छौं ।

सुमन बस्नेत

एकेडेमिक डाइरेक्टर, डीएभी स्कूल

शिक्षण सिकाइको लागि आवश्यक सबै पूर्वाधार, पुस्तकालय, प्रविधि भएको विद्यालय छनोट गर्नुपर्छ । त्यस्तै, गुणस्तरीय शिक्षा, दक्ष टिचिङ फ्याकल्टी र सञ्चालक पनि हेर्नुपर्छ । राम्रो नतिजा र कडा अनुशासन भएको विद्यालयमा भर्ना हुँदा सहज हुन्छ । विद्यार्थीले आफूले पढ्न सक्ने र रुचिको विषय छनोटमा ध्यान दिनुपर्छ ।

वरुण पन्थी

निर्देशक, नेपाल मेगा स्कूल

आफूले भविष्यमा के गर्न चाहन्छु भन्ने ख्याल गरेर विषय रोज्नु उपयुक्त हो । साथीभाइ वा अरूको लहलहैमा भन्दा आफ्नो क्षमतामा विश्वास गरेर विषय छनोट गर्नुपर्छ । रुचि र क्षमता अनुरूपको विषय छनोट गर्दा नै लक्ष्यमा पुग्न सकिन्छ ।

राजु महर्जन

अध्यक्ष, न्यू जेनिथ मोडेल स्कूल

हामीकहाँ व्यवस्थापन संकाय अन्तर्गतका विषय मात्रै पढाइ हुन्छ । गुणस्तरीय शिक्षामा विशेष जोड दिएका छौं । विद्यार्थीलाई सैद्धान्तिक भन्दा व्यावहारिक हिसाबले पढाउँदै आएका छौं ।

पुरुषोत्ताम विष्ट

निर्देशक, बर्नहार्ट सेकेण्डरी स्कूल

भवन र भौतिक संरचनाभन्दा सञ्चालकहरूको टीम र शिक्षकहरूको बारेमा बुझेर भर्ना हुनुपर्छ । विद्यार्थीले धेरै अवसर भएका विषय छनोट गर्नुपर्छ । कसैको दबाबमा नपरी प्रतिबद्ध भएर पढ्न सक्ने विषय छनोट गर्नु राम्रो हो । जुन विषय पढे पनि प्रतिस्पर्धी बन्न सक्नुपर्छ ।

केशवप्रसाद जोशी

प्राचार्य, अरुणिमा मावि

हामीकहाँ विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षाशास्त्र संकायमा पढाइ हुन्छ । सामूहिक नेतृत्वमा सञ्चालन भएकोले हामी सुलभ शुल्कमा गुणस्तरीय शिक्षा दिइरहेका छौं । उत्कृष्ट शिक्षण सिकाइको साथै अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थीको शारीरिक र मानसिक विकासमा जोड दिएका छौं ।

गोपाल सिंह

प्राचार्य, भीएस निकेतन स्कूल

भीएस निकेतन स्कूल ३८ वर्षदेखि शिक्षा क्षेत्रमा सक्रिय छ । हरेक वर्ष हाम्रा विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउँदै आएका छन् । विज्ञान र व्यवस्थापन संकायको पढाइ गर्ने हाम्रो स्कूलले पाठ्यक्रम बाहेक थप प्रयोगात्मक कक्षा चलाउँदै आएको छ ।

नरेश श्रेष्ठ

प्रमुख कार्यकारी अधिकृत, समृद्घि स्कूल एण्ड कलेज

हामी पहिलोपटक कक्षा ११ मा पढाइ शुरू गर्दैछौं । व्यवस्थापन संकाय अन्तर्गतका होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिजम म्यानेजमेन्ट जस्ता विषय पढाउँदैछौं । भौतिक संरचना र प्रविधिमा पनि हामीले विशेष ध्यान पुर्‍याएका छौं ।

पवनकुमार थापा

निर्देशक, बेलोर एकेडेमी

विषय छनोट गर्दा आज सजिलो भन्दा पनि भविष्यका लागि उपयुक्त र आफ्नो रुचि हेर्नुपर्छ । त्यस्तै, विद्यालयको पढाउने शैली, विगतको नतिजा, पुस्तकालय, सूचना र प्रविधिमा ध्यान दिनुपर्छ । महँगो शुल्क र तामझाम भएको भन्दा गुणस्तरीय शिक्षा दिने विद्यालय छान्नुपर्छ ।

श्रीकृष्ण विष्ट

सह–प्राचार्य, ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कूल

कुनै पनि विषय राम्रो वा नराम्रो भन्ने हुँदैन । विद्यार्थीले जुन विषयमा आफ्नो दक्षता प्रदर्शन गर्छ त्यही नै राम्रो हो । त्यसैले अभिभावकले विद्यार्थीलाई दबाब नदिएर उनीहरूकै रुचिमा साथ दिनुपर्छ ।

नन्दुप्रसाद कुशवाह

सह–प्राचार्य, रिलायन्स एकेडेमी

पढाइसँगै अनुशासन, संस्कार र व्यावहारिक ज्ञान सिकाउने खालका विद्यालय छनोट गर्नुपर्छ । विद्यालयले पनि किताबी ज्ञान मात्रै नभएर सकारात्मक सोच विकास गर्ने खालका थप कार्यक्रमहरू चलाउनुपर्छ । घरनजिकको विद्यालय छान्दा विद्यार्थीलाई थप सहज हुन्छ ।

comments powered by Disqus

रमझम