केही क्यान्सर यस्ता छन्, जुन पहिलो वा दोस्रो चरणमा पत्ता लगाउनै गाह्रो हुन्छ । तेस्रोदेखि पाँचौं चरणको क्यान्सर उपचारबाट निको हुने सम्भावना रहँदैन । यस्तैमध्येको एक हो, पित्तथैलीको क्यान्सर । पहिलो चरणमै उपचार भए पित्तथैलीको क्यान्सर निको हुन सक्छ ।
कलेजोमुनि अवस्थित नासपाती आकारको पित्तथैलीको मुख्य काम कलेजोमा बनेको पित्तलाई सञ्चित गरिराख्ने र आवश्यक पर्दा सानो आन्द्रामा निष्काशन गर्नु हो । पित्तथैलीका क्यान्सर पनि एडिनोकार्सिनोमा, एडिनोस्क्वामाउस कार्सिनोमा, स्क्वामाउस सेल क्यान्सर लगायत विभिन्न किसिमका हुन्छन् ।
ठ्याक्कै यही कारण पित्तथैलीको क्यान्सर हुन्छ भन्न नसकिए पनि पित्तथैलीको ढुंगा, टाइफोइड, मोटोपनले यसको जोखिम बढाउँछ । मोटोपनले पित्तथैलीमा ढुंगाको सम्भावना बढाउँछ र ढुंगाले पित्तथैलीमा घाउ बनाउँदा क्यान्सरको सम्भावना रहन्छ । पित्तथैलीको क्यान्सर भएका चारमध्ये तीन जनामा ढुंगा भेटिन्छ । पित्तथैलीमा ढुंगा हुँदैमा क्यान्सर हुन्छ भन्ने होइन, तर क्यान्सर हुने सम्भावना भने ढुंगा नभएका व्यक्तिलाई भन्दा भएकालाई बढी हुन्छ ।
टाइफोइड भएका बिरामीमध्ये केहीको पित्तथैलीमा टाइफोइड गराउने जीवाणु लामो समयसम्म बस्न पुग्छ । टाइफोइडबाट संक्रमित व्यक्तिलाई संक्रमण नभएकालाई भन्दा पित्तथैलीको क्यान्सर हुने सम्भावना बढी रहन्छ । त्यसैले पहिले टाइफोइडकै उचित र पूर्ण उपचार हुनुपर्छ ।
पित्तथैलीको क्यान्सरको लक्षण शुरूआती अवस्थामै नदेखिएर रोग फैलिंदै जाँदा देखिन थाल्छ । सम्भावित लक्षणमा पेट दुख्ने, वाक्वाकी लाग्ने, बान्ता हुने, कमलपित्त देखिने, पेटमा डल्लो भेटिने, खान मन नलाग्ने, दुब्लाउने आदि हुन सक्छ । तर, यी लक्षण अन्य रोगमा पनि देखिन्छ, त्यसैले यी लक्षण देखिंदैमा क्यान्सर हुन्छ भन्ने होइन ।
ढुंगा निकाल्न पित्तथैलीको अपरेसन गरेपछि बायप्सीमा वा पेटको भिडियो एक्स–रे गर्दा पित्तथैलीमा ट्युमर देखियो भने पित्तथैलीको क्यान्सर भएको अन्दाज गर्न सकिन्छ ।
पित्तथैली क्यान्सरको शंका भए अन्य जाँच गर्नुपर्छ । मुख्यतः सिटीस्क्यान, एमआरआई गरेपछि रोग कति फैलेको छ भन्ने अन्दाज गर्न सकिन्छ । युएसजी अथवा सिटीस्क्यानद्वारा हेर्दै ट्युमर भएको ठाउँमा सियो पसाएर कोषिकाको परीक्षण पनि गर्न सकिन्छ । यसरी पित्तथैलीको क्यान्सर भए/नभएको थाहा पाउन सकिन्छ, भएदेखि त्यसको अवस्था यकीन गरेर उपचार गर्नुपर्छ ।
चेकजाँचपछि शल्यक्रिया गर्न मिल्ने वा नमिल्ने यकीन गरिन्छ । यसको मुख्य उपचार शल्यक्रिया भए पनि केही बिरामीलाई सीधै शल्यक्रिया गर्न सकिन्छ भने केहीको रगतमा भएको धेरै पित्त निकालेर मात्रै गर्न सकिन्छ । शल्यक्रिया गर्नै नमिल्ने बिरामीलाई दुखाइ भए कम गर्ने र पित्त धेरै भए कम गर्न आन्द्राबाट पाइप राखी निष्काशन गराइन्छ । केही बिरामीलाई आवश्यकता हेरी किमोथेरापी, रेडियो थेरापी वा दुवै दिइन्छ ।
पित्तथैलीमा ढुंगा भए अप्रेसन गर्ने, टाइफोइड भएको भए पूर्ण उपचार गर्ने र मोटोपन भए घटाउनुपर्छ, यसरी पित्तथैली क्यान्सरको जोखिमबाट बच्न सकिन्छ ।
आचार्य वीर अस्पतालको क्यान्सर रोग विभाग प्रमुख हुन् ।