१७-२३ असार २०७५ | 1-7 July 2018

भान्सामा सफा रुमाल

Share:
  

बिक्रम राई
भान्सामा रहेका भाँडा, हात पुछ्ने रुमाल आदिबाट फूड प्वाइजनिङ्ग (खाद्य विषाक्तता) हुनसक्ने एक अनुसन्धानबाट पत्ता लागेको छ ।

युनिभर्सिटी अफ मरिसस्का वैज्ञानिकहरूले हालै गरेको अनुसन्धानले भान्सामा प्रयोग हुने रुमाल नियमित सफा नगर्ने, घाममा नसुकाउने र एकभन्दा धेरै काममा प्रयोग गरिंदा त्यस्ता रुमालमा हानिकारक जीवाणुको विकास हुने र ‘क्रस कन्टामिनेसन’ बाट मानव शरीरमा त्यस्ता जीवाणु पुग्ने गरेको पत्ता लगाएको हो ।

“परिवारको आकार, आहारको प्रकार र रुमालको बहुउपयोगले पनि ब्याक्टेरियाको विकासलाई प्रभावित पार्ने गरेको देखिएको छ”, युनिभर्सिटी अफ मरिसस, स्वास्थ्य विज्ञान विभागकी प्राध्यापक एवम् अनुसन्धान प्रमुख सुशीला डी बिरान्जिया–हर्दोयालले भनेकी छन् ।

१०० वटा भान्सामा प्रयोग गरिएका रुमालमा गरिएको अध्ययनमा ४९ प्रतिशतमा हानिकारक जीवाणु पाइएको थियो । चिसो छोडिएका रुमालहरूमा यस्तो ब्याक्टेरिया झन् धेरै भेटिएका थिए । त्यसैगरी, जुन भान्सामा मासु धेरै पाक्छ ती भान्साका रुमालमा हानिकारक ब्याक्टेरिया अझ धेरै उत्पादन भएको पाइएको थियो । ठूलो परिवार तथा बालबालिका भएका परिवारका भान्साका रुमालमा पनि ब्याक्टेरियाको उत्पादन धेरै हुने गरेको पाइएको थियो ।

बहुउपयोग (भाँडा पुछ्न, हात पुछ्न, तातो भाँडा समाउन) हुने रुमालमा एउटै काममा मात्र उपयोग हुने रुमालभन्दा धेरै हानिकारक जीवाणु हुने अध्ययनले देखाएको छ ।

ब्याक्टेरिया उत्पादन भएका ४९ नमूना रुमालमध्ये ३६.७ प्रतिशतमा कोलिफर्म, ३६.७ प्रतिशतमा इन्टरोककस एसपीपी ब्याक्टेरिया र १४.३ प्रतिशतमा एस. अरिअस ब्याक्टेरिया पाइएको थियो । सामाजिक–आर्थिक हैसियत कमजोर भएका र बालबालिका सहितका ठूलो परिवारका भान्साका रुमालमा एस अरिअस ब्याक्टेरियाको उत्पादन धेरै देखियो । त्यस्तै सुक्खा भन्दा चिसा रुमालहरूमा कोलिफर्म (एसेरेकिया कोली) उत्पादन धेरै भएको पाइयो । यस्तो कोलिफर्म एउटै रुमाललाई धेरै काममा प्रयोग गरिंदा र ननभेज खाना बढी पाक्ने भान्साका रुमालमा पनि धेरै देखियो ।

एसेरेकिया कोली मानव र अन्य जनावरको सानो आन्द्रामा पाइने एक प्रकारको ब्याक्टेरिया हो जुन मलसँगै निष्काशन हुन्छ । विशेषगरी मासु पाक्ने भान्साका रुमालमा यस्तो ब्याक्टेरिया पाइनुले मासुको स्वच्छतामा पनि प्रश्न उठाउँछ । रुमालमा भएका हानिकारक जीवाणु भाँडा वा खाना हुँदै हाम्रो शरीरमा प्रवेश गर्छन् जसबाट खाद्य विषाक्तता उत्पन्न हुन्छ । “चिसो रुमाल भान्सामा राख्नु र एउटै रुमाललाई विभिन्न प्रयोजनमा उपयोग गरिनुहुँदैन”, अनुसन्धान प्रमुख बिरान्जिया–हर्दोयाल भन्छिन्, “ठूलो परिवार र बालबालिका भएका परिवारले भान्साको सफाइमा अझ बढी ध्यान दिनु जरुरी छ ।”

ध्यान दिनुपर्ने कुरा

भान्सामा प्रयोग हुने रुमाल नियमित बदल्ने ।

हात, भाँडा र सतह पुछ्न बेग्लाबेग्लै रुमालको प्रयोग गर्ने ।

पुनः प्रयोग गर्ने रुमालहरू राम्रोसँग धोएर घाममा सुकाउने ।

भाँडा माझ्ने ठाउँलाई डिटरजेन्ट, तातोपानी र ब्रशले नियमित सफा गर्ने ।

खाना तयार पार्ने सतहको सफाइमा ध्यान दिने ।

पकाउनु नपर्ने खाद्य पदार्थ र मासु जस्ता खाद्य पदार्थका लागि बेग्लाबेग्लै चपिङ बोर्डको प्रयोग गर्ने ।

काँचो मासु जस्ता खाद्य पदार्थ छोएपछि हात धोएर सुक्खा पार्ने ।

सम्पूर्ण भान्सा सफा र सुक्खा राख्ने ।

comments powered by Disqus

रमझम