पूर्वदेखि पश्चिमसम्म करीब १४०० किलोमिटर साँध–सिमाना जोडिएर पनि अधिकांश नेपालीका लागि चीन विरानो मुलुक जस्तै छ । हिमालपारिको देश चिनियाँ किंवदन्तीको ड्रागन जस्तै रहस्यमयी छ, अधिकांशका लागि । आपसी नागरिक सम्बन्ध पातलो भएकै कारण चीनबारे अतिशयोक्तिपूर्ण धारणा र भ्रम पनि उत्तिकै छन् । पछिल्लो समय चीनसँग कूटनीति, आर्थिक लगायत सम्बन्ध विस्तार र आवतजावत बाक्लो भइरहँदा चीनबारे सामग्री पनि फाट्टफुट्ट प्रकाशित हुन थालेका छन् । चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सीआरआई), बेइजिङमा सञ्चार विशेषज्ञका रूपमा कार्यरत पत्रकार चेतनाथ आचार्यको पुस्तक चीन चियाउँदा ले चीनको इतिहास, भाषा–संस्कृति, जीवनयापन, अर्थतन्त्र आदिबारे जानकारी दिन्छ ।
तीव्र आर्थिक विस्तारसँगै थप शक्तिशाली बन्न अग्रसर चीन जति विशाल छ, त्यति नै विविधताले पनि भरिएको छ । यसको राजनीतिक–सामाजिक प्रणाली बाँकी दुनियाँको भन्दा फरक छ । चीनका यिनै अर्थ–सामाजिक पक्षलाई लेखकले २० आलेख मार्फत प्रष्ट्याउने कोशिश गरेका छन् ।
पुस्तकमा नेपाल–चीन सम्बन्धका केही सन्दर्भ पनि अटेका छन् । अन्य देशका नागरिकले शुल्क तिर्नु परे पनि नेपालीले निःशुल्क प्रवेश पाउने बेइजिङस्थित श्वेतचैत्य र यसका निर्माता बलबाहु (अरनिको) को सन्दर्भबाट पुस्तक शुरु हुन्छ । ७४० वर्ष पुरानो श्वेतचैत्य परिसरमा नेपाली दौरा–सुरुवाल र ढाकाटोपीमा ठाँटिएका अरनिकोको सालिक छ । पुस्तकका यस्ता प्रसंगले नेपाल र चीनको सम्बन्धलाई दर्शाउँछ ।
‘बदलिंदो बेइजिङ’ शीर्षकको आलेखले बेइजिङको भौतिक संरचना, पर्यावरण र संस्कृति बदलावको कथा भन्छ । चीनमा मध्यकालदेखि नै लोकप्रिय माच्याङ (पासा जस्तै खेल), खुल्दै गरेको यौन–बजार, चिनियाँ युवाको अमेरिका मोह, चीनका सार्वजनिक शौचालय, हावापानी, ठगी धन्दा, माओको शव राखिएको थिआनआनमन स्क्वायर, विवाह संस्कार, शिक्षा प्रणाली, चङ्गा महोत्सवका कथा रोचक तरिकाले वर्णन गरेर लेखकले चीनलाई नेपालीमाझ चिनाउन खोजेका छन् । विश्वमा चीनको शासन प्रणालीलाई अनुदार मानिए पनि यौन र व्यक्तिगत स्वतन्त्रतामा (राजनीतिकबाहेक) चीन निकै उदार छ । उपभोक्तावाद उसैगरी फैलिंदो छ । बदलिंदो चीनको यिनै आयामलाई लेखकले उदाहरण दिएर प्रस्तुत गरेका छन् ।
चीनमा आर्थिक, सामाजिक कारणले विवाह क्रमशः जटिल सामाजिक समस्या बन्ने क्रममा छ । विवाहका विभिन्न पक्ष र नातागोताका विषयमा लेखकले रोचक आलेख पस्किएका छन् । द्रुत शहरी जीवनसँगै सडक छेउमा तास खेलिरहेका चिनियाँका सन्दर्भ पनि पुस्तकमा समेटिएको छ ।
नेपालमा चीनको चर्चा गर्दा रेलको प्रसंग अक्सर छुट्दैन । भर्खरै प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा रेलमार्ग निर्माणको सम्झौता गरेर फर्किएपछि त यसको लाभ÷हानि र सम्भावनाबारे सार्वजनिक छलफल भइरहेका छन् । पुस्तकमा लेखकले चिनियाँ रेल विस्तार र योजनाबारे व्याख्या गरेका छन् । चिनियाँ वसन्त चाड र यसको बदलिंदो शैली, चिनियाँ सञ्चारमाध्यममा नेपालको समाचार, चीनको वायु प्रदूषण, कानूनी शासनको अभ्यास आदि विषयका आलेख पाठकलाई रुचिकर हुन सक्छ ।
चीनका युवाले ११ नोभेम्बरमा मनाउने ‘सिङ्गल डे’ को व्यापारिक पक्षबारे लेखकले रोचक आलेख लेखेका छन् । अलिबाबा को अनलाइन प्लेटफर्मले उक्त दिनको किनमेलमा दिन थालेको छुट संस्कृतिकै रुपमा विस्तार भएर ‘सपिङ डे’ बनिसकेको सन्दर्भ आलेखमा छ ।
प्रतिबन्धित फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जाल प्रयोग गर्न अपनाइने वैकल्पिक उपाय, चीनको आफ्नै सञ्जाल वी–च्याटको लोकप्रियता र उपयोगिताबारे पनि पुस्तकमा चर्चा छ । मासुका परिकार रुचाइने चीनमा शाकाहारी आगन्तुकले भोग्नुपर्ने सास्ती, भाषा–संस्कृतिको अन्तरले भोग्नुपरेका ठक्कर आदि रोचक प्रसंगले पुस्तकप्रति पाठक आकर्षित हुन सक्छन् । नेपालबारे धेरै चिनियाँ अनभिज्ञ छन्, थाहा पाएकालाई समेत थुप्रै भ्रम छ । नेपालबारेको चिनियाँ बुझाइलाई पनि लेखकले बुझाउने प्रयास गरेका छन् ।
छुट्टाछुट्टै विषयका कतिपय वर्णनात्मक र अनुभूतिजन्य आलेख समेटिएको पुस्तकले विश्व अर्थतन्त्रमा उदाउँदो चीनबारे गहिरो जानकारी र ज्ञान खोजेका पाठकको अपेक्षालाई सम्बोधन नगर्न सक्छ । भाषिक त्रुटि पनि एकाध भेटिन्छन् । यद्यपि, चीनबारे जान्न खोज्ने, चीनको भाषा, संस्कृतिबारे रुचि भएका पाठकलाई पुस्तक रुचिकर हुन सक्छ ।
रमेश कुमार
मिथकमय कविता
(हिमनदी, सागरलाई सलाम छ
हिमाललाई नमस्ते
वायुदेवलाई सोध्या’छ भन्दिनु)
मत्र्यमण्डलको प्रांगारिक माटो
कंक्रिटको बन्ध्याकरणले कक्रिन थालेपछि
त्राहिमाम् देउता–पितृले
नभमण्डलको बार्दलीबाट
विस्मयी आँखाले
भू–अपहरणको अश्लील अध्याय हेरे
मानौं,
छलपूर्वक पाठेघर फालिएकी
प्रजनन् क्षमताविहीन
विरुप स्त्रीलिङ्गी भविता भएँ म,
मानसम्मानको शिखर देउरालीमा आसीन थिएँ
महाजनको कामतकी रखौटी जस्ती भएँ म ।
(ओजोन तह, टापुलाई सलाम छ
सिमसारलाई नमस्ते
नागराजालाई सोध्या’छ भन्दिनु)
सुरेश हाचेकालीको तेस्रो कविता कृति पृथ्वी सवाई को अंश हो, यो । दिनानुदिन बिग्रँदो पर्यावरणप्रतिको चिन्ताबाट सिर्जित सबभन्दा लामो यो कविता कृतिको शीर्षक बनेको छ । बीचबीचमा गरिएको प्यारोडी शैलीको प्रयोगले यो कविताको मूल भावलाई लयात्मक रुपमा प्रभावशाली बनाएको छ । कुल ३२ कविता समेटिएको यो कृतिले हाचेकालीको कवित्वलाई उँचाइको तेस्रो मुकाममा पुर्याएको छ ।
यसअघि उनका सीमान्त आमाहरु (२०६६) र चक्रव्यूह नगरमा अभिमन्यु (२०७०) कविता संग्रह पढिएको हो । एउटै लामो कविताको सिंगो किताब हो, दोस्रो कृति । यस हिसाबले हेर्दा तेस्रो संग्रहमा २०६६ यताका बाँकी रचनाहरु समेटिएका छन्, शैलीगत विशेषताहरुको निरन्तरतासहित । हाचेकाली मूलतः परम्परा, धर्म र वर्चश्वको जडतामाथि युगबोध र नवआकांक्षाहरुले प्रहार गर्ने कवि हुन् । सेताम्य भुत्लैभुत्लाले छोपिएका उनका कविताहरुमा समयचेत र निमुखा–सीमान्तकृतका भावनाहरु सरल शैलीमा सशक्त रुपले मुखर भएका हुन्छन् । गीत, निबन्ध र समालोचना विधामा पनि जमेका उनका सुललित कवितालाई किरात मिथ र हिन्दूका पौराणिक पात्र–प्रसंगहरुले कथामय र बढी सम्प्रेषणीय बनाएको छ । पाटन क्याम्पसमा अंग्रेजी साहित्य पढाउने हाचेकालीका कवितामा ग्रीक मिथकको अभिशप्त लेथ नदीमा पानी उघाउन पुग्छन्, जमदग्नि ऋषि । मांसाहारी अर्चना, भाले संविधान जस्ता बिम्बहरुले कवितालाई सशक्त बनाएका छन् ।
पछिल्ला दशकका नेपाली कवितामा बढी ‘पोलिटिसाइजेसन’ र कम ‘पोइटिसाइजेसन’ भएको मान्यतामा सहमत कवि हाचेकाली ‘चक्रव्यूह संचेतना साहित्यिक आन्दोलन’ सँग पनि जोडिएका छन् ।
आनन्द पी राई
महाकवि लक्ष्मीप्रसाद देवकोटाको महाकाव्य शाकुन्तल मा पूर्वीय दर्शनको भावभूमि पर्गेल्ने प्रयास गरिएको यो पुस्तक एक गहन प्राज्ञिक अध्ययन हो । पुस्तकमा पूर्वीय दर्शनका साङ्ख्य, योग, न्याय, मीमांसा र वेदान्त दर्शनमा रहेको ईश्वरचिन्तन, जीवनजगत चिन्तन र त्यसैको आलोकमा देवकोटा र शाकुन्तल को दर्शन विश्लेषण गरिएको छ । “शाकुन्तलमा देवकोटा मूलतः ईश्वरीय सत्तासम्पन्न अध्यात्मवादी, प्राचीन आर्य सभ्यताकेन्द्री जीवनजगत चिन्तकका रुपमा देखिएका छन्”, त्रिभुवन विश्वविद्यालय नेपाली विषयका उपप्राध्यापक समेत रहेका लेखक ज्ञवालीको निष्कर्ष छ ।
अर्घाखाँचीको खिदिममा १९८१ सालमा जन्मिएका पण्डित नारायण गौतम जिल्लामा मात्र होइन, गुल्मेली र पाल्पालीका लागि पनि श्रद्धेय नाम हो । गौतमले उबेलै (२०१५ साल) तम्घासका हरिजन समेतलाई पढाउने गरी विद्यालय स्थापना गरेका थिए । उनको यो कदम विरुद्ध धर्मसभा नै बसेर शिक्षक स्वयंको भातभान्सा बार्ने निर्णय सुनाएको थियो । तर, शास्त्रले समेत शूद्रलाई शिक्षा नदिन नभनेको बताउँदै उनी त्यस विरुद्ध डटेर लडेका थिए ।
मोदनाथ प्रश्रित, डा. माधवराज गौतम, प्रा.डा. विष्णुराज आत्रेय, वासुदेव मरासिनी र तुलसीदास गौतमद्वारा सम्पादित यो पुस्तक शैक्षिक अभियन्ताका रुपमा गौतमको सत्कार्यको सम्झना हो ।