१७-२३ असार २०७५ | 1-7 July 2018

मौसम बताउने बेलुन

Share:
  
- मुकेश पोखरेल

मौसम पूर्वानुमानलाई थप प्रभावकारी बनाउन जल तथा मौसम विज्ञान विभागले काठमाडौंको वायुमण्डलबाट तथ्यांक संकलन गर्न शुरु गरेको छ ।

विभागले त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा गएको ६ असारदेखि रेडियो उपकरण जडित बेलुनलाई २५ किलोमिटरको उँचाइसम्म पठाएर वायुमण्डलको तथ्यांक लिन शुरु गरेको हो ।

तस्वीरः विक्रम राई
उडाउन तयारी अवस्थामा ।

त्रिभुवन विश्वविद्यालय परिसरमा स्थापित उच्च वायुमण्डलीय रेडियोसण्ड केन्द्र ।

बेलुनमा जडान गरिएको रेडियो उपकरणले काठमाडौं उपत्यका सहित आसपासका जिल्लाको अधिकतम २५ किलोमिटर उँचाइसम्मको वायुमण्डलीय सूचना जस्तैः तापक्रम, सापेक्षिक आद्र्रता, वायुको दिशा र गति त्रिभुवन विश्वविद्यालय हातामा रहेको रिसिभरमा पठाउँछ । त्यसरी प्राप्त हुने सूचनाका आधारमा गरिने मौसमको पूर्वानुमान पहिले भन्दा यथार्थ नजिक हुने विभागले जनाएको छ । उँचाइमा पुगेपछि वायुमण्डलीय चाप र बेलुनभित्रको हावाको चापको अन्तरका कारण बेलुन फुटेर जमीनमै खस्छ । साढे २ देखि ३ घण्टासम्म आकाशमै रहने बेलुन बढीमा ३०० किमी टाढासम्मको दूरीमा खस्ने विभागका महानिर्देशक ऋषिराम शर्मा बताउँछन् ।

त्रिभुवन विश्वविद्यालय परिसरमा स्थापित उच्च वायुमण्डलीय रेडियोसण्ड केन्द्रमा बेलुनमा ग्याँस भरिँदै ।

उडाइएको बेलुन निश्चित उँचाइमा पुगेर फुट्छ र जमीनमा खस्छ । यसरी खसेको अवशेष भेट्टाउनेले विभागमा बुझाइदिन गरिएको अनुरोध सहितको सूचना ।

कीर्तिपुरबाट उडाइएको बेलुन सबैभन्दा टाढा तनहुँको दमौलीसम्म पुगेर खसेको पाइएको छ । खसेको बेलुन र उपकरण भेट्टाउनेले विभागमा बुझाइदिन त्यसमा सूचना टाँस गरिएको हुन्छ । तर, अहिलेसम्म नुवाकोटबाट एक जनाले फोन गरेर उपकरण भेट्टाएको जानकारी दिए पनि उपकरण भने फिर्ता आएको छैन । उक्त बेलुन र उपकरण पुनः उपयोग गर्न भने सकिंदैन ।

वायुमण्डलबाट रेडियो उपकरणले पठाएको सूचना अध्ययन गर्दै विभागका कर्मचारी ।

महानिर्देशक शर्माका अनुसार अहिले विभागसँग दुई वर्षलाई पुग्ने बेलुन छन् । हरेक बिहान ५:३० देखि ५:४५ बजेभित्र त्रिभुवन विश्वविद्यालय परिसरबाट बेलुन उडाइन्छ । यसका लागि वार्षिक रु.१ करोड खर्च लाग्ने विभागले जनाएको छ ।

comments powered by Disqus

रमझम