गत डिसेम्बरमा विश्वकपको ‘ड्र’ सार्वजनिक भएसँगै रोचक घटना, अप्रत्यासित नतिजा र समीकरणको अनुमान गरिएको थियो । किन भने कुनै पनि समूह ‘ग्रुप अफ डेथ’ को ट्याग लगाउन मिल्ने खाले थिएनन् । इटाली, नेदरल्यान्ड्स र चिली जस्ता बलिया टीम छनोट नहुँदा एकै समूहमा दुईभन्दा बढी महाशक्ति परेका थिएनन् ।
भइदियो त्यस्तै, सन् १९८२ पछि विश्वकपमा पहिलो पटक कुनै अफ्रिकी टीमले समूह चरण पार गर्न सकेनन् । एशियाबाट जापान मात्रै प्रि–क्वार्टर फाइनल प्रवेश गर्दा पेरु बाहेकका चार वटै दक्षिण अमेरिकी देशले पनि समूह चरण पार गरेका छन् । मेक्सिको अन्तिम १६ मा पुग्ने एक्लो उत्तर अमेरिकी मुलुक हो । यी बाहेक ‘नक आउट’ चरणमा छानिएका बाँकी १० टोली युरोपेली हुन् ।
साबिक विजेता जर्मनी समूह चरणबाटै घर फर्कनु जारी विश्वकपको ठूलो आश्चर्य मानिएको छ । हुन त यसअघिका दुई विश्वकपमा पनि साबिक विजेताहरू समूह चरणबाटै बाहिरिएका थिए । तर, जर्मनी जस्तो जबर्जस्त प्रदर्शन गर्ने टीम तीन अंकमै सीमित होला भन्ने अनुमान शायदै गरिएको थियो ।
उपाधिको दाबेदार मानिएका महारथीहरूको भेट दोस्रो चरणमै हुने पनि लगभग पहिल्यै तय थियो । दुई पटकको विश्वविजेता अर्जेन्टिना र एक पटक उपाधि चुमेको फ्रान्सको भिडन्त यसैको परिणाम थियो । यस्तो समीकरणले कमै अपेक्षा गरिएका टीमलाई प्रतियोगितामा लामो समयसम्म टिक्न मद्दत गर्छ । उनीहरुको सेमिफाइनल वा फाइनलसम्मकै बाटो पनि सहज हुन सक्छ, नयाँ इतिहास पनि बन्न सक्छ ।
यस्तो समीकरण जुराउन समूह विभाजन मात्रै नभएर ‘अन्डरडग’ मानिने क्रोएसिया, रुस, स्वीडेन, स्वीट्जरल्यान्ड, डेनमार्क लगायतका टोलीको अब्बल प्रदर्शनले पनि भूमिका खेलेको छ । महाशक्ति मानिने राष्ट्र विरुद्ध यी टीमको प्रदर्शन तारिफयोग्य रह्यो । विगत जस्तोसुकै भए पनि खेलको कुनै पनि समयमा यी टोली कमजोर देखिएनन् ।
फाइनल यात्राका लागि यसपटक परम्परागत प्रतिस्पर्धी राष्ट्रहरू एउटै बाटोमा परेका छन् । दोस्रो चरणमै उरुग्वे र पोर्चुगलको भेट भएको छ । यही सूचीमा ब्राजिल, मेक्सिको, बेल्जियम र जापान छन् । यीमध्ये जापान मात्र केही कमजोर देखिन्छ । अर्जेन्टिना र फ्रान्स पनि यही बाटोमा छन् । यो समूहमा रहेका टीमले कुल दश पटक विश्वकप जितिसकेका छन् । हुन त नक आउट चरणका जुनसुकै खेल तीव्र प्रतिस्पर्धात्मक हुने विश्वास गरिन्छ । तर, बलिया मानिएका टीम एकैतिर परेका कारण यो बाटोमा रहेका टीमबीचका हरेक खेल फाइनल सरह नै हुने अनुमान छ । अधिकांश खेल अतिरिक्त समय वा पेनाल्टीसम्म लम्बिने सम्भावना पनि छ । यसले दर्शकलाई भने भरपूर मनोरञ्जन दिनेछ ।
फाइनलको अर्को बाटोमा रहेकामध्ये स्पेन र इङ्गल्यान्ड मात्र ठूला टीममा गनिन्छन् । यी दुईले एक–एक पटक उपाधि जितेका छन् । क्रोएसिया र रुससँग एकपटक सेमिफाइनल खेलेको अनुभव छ । डेनमार्क, स्वीट्जरल्यान्ड, स्वीडेन र कोलम्बियालाई भने यसपटक यस्तो उँचाइ हासिल गर्ने अवसर छ ।
समीकरण अनुसार, स्पेन पराजित भए यीमध्ये कुनै एक देश दोस्रो पटक सेमिफाइनल पुग्न सक्छन्, यसो नहुँदा डेनमार्कलाई पहिलो पटक सेमिफाइनल पुग्ने मौका मिल्न सक्छ । इङ्गल्यान्ड हारेमा स्वीडेनले दोस्रो पटक सेमिफाइनल यात्रा तय गर्न सक्छ । कोलम्बिया र स्वीट्जरल्यान्डको सम्भावना पनि नकार्न सकिन्न, जुन उनीहरूका लागि अहिलेसम्मकै सबभन्दा ठूलो उपलब्धि हुनेछ ।
कहाँ चुक्यो जर्मनी ?
प्रशिक्षक योचिम लोको यो जर्मन टोलीलाई आकर्षक र तालमेल सहितको जुझारु भनी चिनिन्थ्यो । तर, यसपटकको जर्मनीमा त्यो छनकसम्म देखिएन । पहिलो खेलमा मेक्सिकोसँग पराजित हुँदा नै जर्मन टोलीको कमजोरी उजागर भएको थियो । ‘काउन्टर अट्याक’ को विशेषता बोकेको यो टोली त्यसैमा धरमर देखियो । डिफेन्सिभ मिडफिल्डर सामी खेडियरा सेन्टर ब्याक नजिक रहेर आक्रमणको तालमेल मिलाउन सक्नुपथ्र्यो तर विपक्षीले बल खोस्दा दुई सेन्टरब्याक मध्यभागमा एक्लै देखिन्थे । मेक्सिकोले यसैको फाइदा उठाउँदै काउन्टर अट्याकमै थुप्रै मौका सिर्जना गर्यो र त्यसैमा गोल गर्यो । स्वीडेनसँग पनि काउन्टर अट्याकमै गोल खायो ।
जर्मनीका लागि सामी खेडियरा, मेस्युट ओजिल र टोनी क्रुस मिडफिल्ड सम्हाल्ने मुख्य खेलाडी थिए । अघिल्लो विश्वकपमा यी तिनैको प्रदर्शन उत्कृष्ट थियो । तर, यसपटक क्रुस बाहेकको प्रदर्शन विर्सनलायक रह्यो । त्यसो त व्यावसायिक फूटबलमा पनि अरुको तुलनामा क्रुस नै चलेका थिए । युभेन्टस्का खेडियरा र आर्सनलका ओजिलको खेल एकनासको थिएन । त्यसको असर विश्वकपमा पनि देखियो । अर्का मिडफिल्डर थोमस मुलर र पिएसजीका जुलियन ड्रयाक्सलर पनि मैदानमा देखिए तर उनीहरूको खेल देखिएन ।
तीव्र गतिमा बल बढाउँदै, पास खेल्दै विपक्षीको डिफेन्स चिर्न खप्पिस लिरोय सानेलाई विश्वकप टोलीमै नराख्ने प्रशिक्षकको निर्णयको धेरैले आलोचना गरेका थिए । जर्मनीको हारले यो आलोचनामा बल दिएको छ । तर, एक्ला सानेले खेलेर मात्र टीमले सफलता हात पार्ने कुरामा पनि दम देखिन्न ।
टोलीमा आशा गरिएका युवा स्ट्राइकर टिमो वेरनरको प्रदर्शन पनि औसतमै सीमित रह्यो । तीनै खेलमा उनलाई मुख्य स्ट्राइकरको भूमिकामा राखियो । तर, गोल गर्ने उपयुक्त समयमा उनी विंगरमा पुग्ने समस्या पनि देखियो । उता, अनुभवी स्ट्राइकर मारियो गोमेजलाई कुनै खेलमा पनि शुरुआती एघारमा राखिएन ।
दबाबमा टीमलाई यस्तो खेलाडीको आवश्यकता हुन्छ, जसको प्रभाव र जादुयी खेलले उकास्न सकोस् । तर, ओजिल, ड्रयाक्सलर, क्रुस र मार्को रोइस आफैं दबाबमा देखिए । दक्षिण कोरिया विरुद्धको खेलमा कप्तानसमेत रहेका गोलकिपर मानुएल नोयर गोलपोष्ट छोडेर अघि बढेर दोस्रो गोल खाएको विश्लेषण गर्नुअघि घाइते भई आठ महीना मैदानबाहिर बिताएका उनलाई सोझै विश्वकपमा किन खेलाइयो भन्ने तर्क सान्दर्भिक हुन्छ ।