२४-३० असार २०७५ | 8-14 July 2018

पोखरामा प्युजो

Share:
  

नेपालका लागि प्युजो गाडीको आधिकारिक बिक्रेता सांग्रिला मोटर्स प्रालिले कास्कीको पोखरामा शोरुम स्थापना गरेको छ । पोखरामा गाडी बिक्रीको जिम्मा पाएको गण्डकी ट्रेड हाउसले प्युजो का हरेक मोडलमा एलईडी डे टाइम रनिङ लाइट, अल्मुनियम रुफ बार, फ्रन्ट एण्ड रियर पार्किङ सेन्सर, डिस्टेन्स अलर्ट लगायतका विशेषता रहेको जनाएको छ । त्यस्तै, रिभर्सिङ क्यामेरा, लेन डिपार्चर वार्निङ, डुअल जोन एअर कन्डिसन जस्ता उच्च प्रविधियुक्त विशेषता पनि छन् ।

कम्पनीले प्युजो का हरेक गाडीमा दुई वर्षको वारेन्टी र ८ पटकसम्म निःशुल्क सर्भिसिङ लगायतका सुविधा दिएको छ । प्युजो २००८ मोडलको मूल्य रु.८२ लाख, प्युजो ३००८ को मूल्य रु.१ करोड १३ लाख र प्युजो ५००८ को मूल्य रु.१ करोड ३४ लाख तोकिएको छ ।

गोरखामा जेसीबी को आउटलेट

नेपालको लागि जेसीबी ब्राण्डका निर्माण उपकरणको आधिकारिक बिक्रेता एमएडब्ल्यू अर्थमूभर्स प्रालिले गोरखाको हरनतारीमा नयाँ आउटलेट सञ्चालन गरेको छ । उक्त आउटलेटबाट ग्राहकले सेल्स, सर्भिस र स्पेयरको सुविधा पाउने छन् । योसँगै नेपालभर जेसीबी का आठ वटा आउटलेट सञ्चालनमा आएका छन् ।

इन्धन कम खपत गर्ने, मर्मत खर्च कम लाग्ने र सर्भिसिङको सहजताका कारण नेपालमा जेसीबी ब्राण्ड लोकप्रिय भएको कम्पनीको दाबी छ । जेसीबी का एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल बजारमा छन् । बेलायती हेभी इक्युपमेन्ट ब्रान्ड जेसीबी दुई हजार बढी डिलर मार्फत १५० देशमा बिक्री भइरहेको छ ।

नेपाल भित्रिंदै बिरा

भारतीय बियर ब्राण्ड बिरा नेपाली बजारमा भित्रिने भएको छ । ग्लोबल ट्रेडिङ कन्सर्न र बीजी वेभरेजले ‘बिरा ९१ ह्वाइट’, ‘बिरा ९१ स्ट्रङ्ग’ र ‘बिरा ब्लोण्ड’ गरी तीन भेरियन्टका बियर बजारमा ल्याउन लागेका हुन् । १ साउनदेखि बिरा का उत्पादन नेपालमा उपलब्ध हुने कम्पनीले जनाएको छ । ३३० मिलिलिटरका यी तीनवटै भेरियन्टको मूल्य रु.३०० तोकिएको छ । भारत र अमेरिकामा बिक्री भइरहेको यो बियर नेपालसँगै बेलायत, सिंगापुर, हङकङ, थाइल्याण्डमा पनि सार्वजनिक हुनेछ ।

एनआईसी एशिया ब्यांकले २० वटा शाखामा ब्यांकिङ कारोबारको समय बढाएको छ । ललितपुरको पुल्चोक, काठमाडौंको थापाथली, त्रिपुरेश्वर, नयाँबानेश्वर, कमलादी, सामाखुशी शाखामा कारोबारको समय बढाइएको छ । त्यस्तै; बुटवल, नेपालगञ्ज, नारायणगढ, पोखरा, वीरगञ्ज, विराटनगरमा रहेका शाखामा पनि कारोबारको समय थप गरिएको छ । कारोबार अवधि थप गरिएका शाखामा १९ असारबाट आइतबारदेखि बिहीबारसम्म बिहान ९ देखि साँझ ७ बजेसम्म ब्यांकिङ कारोबार गर्न सकिनेछ । त्यस्तै शुक्रबारको दिन बिहान ९ देखि साँझ ५ बजेसम्म कारोबार गर्न सकिने ब्यांकले जनाएको छ ।

राष्ट्रिय वाणिज्य ब्यांक लिमिटेडले तेह्रथुमको लालीगुँरास नगरपालिका–२ मा शाखा विस्तार गरेको छ । उक्त शाखाको राष्ट्रिय वाणिज्य ब्यांक सञ्चालक समितिका सदस्य रवीन्द्रलाल श्रेष्ठले उद्घाटन गरेका हुन् । योसँगै राष्ट्रिय वाणिज्य ब्यांकका ६९ जिल्लामा १९२ वटा शाखा खुलेका छन् । १३५ वटा एटीएम रहेको ब्यांकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म रु.१ खर्ब ५३ अर्ब निक्षेप संकलन र रु.१ खर्ब १२ अर्ब कर्जा लगानी गरेको छ ।

लक्ष्मी ब्यांक लिमिटेडले बाराको जितपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ । नयाँ शाखाले साना तथा लघु व्यवसायी तथा कृषि कर्जामा महत्वपूर्ण योगदान दिने ब्यांकले जनाएको छ । बारामा लक्ष्मी ब्यांकको यो दोस्रो शाखा हो । यस शाखाबाट इन्टरनेट तथा मोबाइल ब्यांकिङ सेवा पनि प्रवाह गर्ने ब्यांकले जनाएको छ । जितपुरसँगै लक्ष्मी ब्यांकको शाखा संख्या ८६ पुगेको छ । तीन हस्पिटल सेवा काउन्टर, १०४ एटीएम र ५१ शाखारहित एजेन्ट मार्फत पनि ब्यांकले सेवा प्रवाह गरिरहेको छ ।

comments powered by Disqus

रमझम