२४-३० असार २०७५ | 8-14 July 2018

‘लक्ष्मीपुरले करोड भित्र्याउँछ’

Share:
  
- रोहितचन्द्र भट्टराई
साबिकको लक्ष्मीपुर गाविस हाल सूर्योदय नगरपालिका– १३ र १४ का १०० भन्दा बढी किसान परिवारले तरकारी खेतीबाट राम्रो कमाइ गरिरहेका छन्।

चार वर्ष अघिसम्म कच्ची घरमै बस्दै आएका इलाम सूर्योदय नगरपालिका–१४ की हेमकुमारी सुवेदी (६१) को परिवार अहिले दुईतले पक्की घरमा बस्छ ।

तरकारी खेतीबाट सुवेदी परिवारको जीवनशैली फेरिएको हो । उनीहरूको ७ रोपनी जग्गामा यो सिजनमा इस्कुसको मुन्टा, काँक्रा र खुर्सानी उत्पादन भइरहेको छ । अहिले उनीहरू हप्तामा २०० देखि ३०० मुठासम्म इस्कुसको मुन्टा स्थानीय व्यापारीलाई बेच्छन् । काँक्रा पनि हप्तामा २० देखि ५० गोटासम्म टिप्ने गरेको हेमकुमारी बताउँछिन् । उनी भन्छिन्, “अकबरे खुर्सानी, सिमी, रायोको साग लगायत तरकारी पनि लगाएका छौं । तरकारी बेचेरै हप्तामा रु.५ हजारसम्म हात पर्छ ।”

तस्वीरहरु: रोहितचन्द्र भट्टराई
किसान बिन्दु पौडेल इस्कुसको मुन्टा टिप्दै

सेनाको जागिर छाडेर तरकारी खेती गरिरहेका सूर्योदय नगरपालिका–१४ कै शिव राई पनि यतिबेला हप्तामा २०० मुठासम्म इस्कुसको मुन्टा बेच्छन् । पछिल्लो दुई वर्षदेखि इस्कुसको मुन्टा बेच्न थालेका राई प्राप्त मुनाफाबाट सन्तुष्ट छन् । उनी भन्छन्, “टुप्पा, फल र जरा बेच्न पाइन्छ । एक सिजनमा इस्कुसबाट मात्रै ७५ हजार जति कमाउँछु ।”

शिवले ६ रोपनी जग्गामा गरेको तरकारी खेतीकै आम्दानीबाट छोराछोरीलाई भारतमा पढाइरहेका छन् । छोराले इन्जिनियर र छोरीले नर्स पढ्दै गरेको उनले बताए । इस्कुसको मुन्टा बाहेक काउली, सिमी, खुर्सानीबाट पनि एक सिजनमा रु.१ लाखभन्दा बढी आम्दानी गर्ने उनको भनाइ छ ।

सूर्योदय नपा–१३ की टीका ढुंगेल (७३) पनि दुई रोपनी जग्गामा तरकारी खेती गर्छिन् । तरकारीबाटै अहिले हप्तामा रु.३ हजार कमाइ हुने टीका बताउँछिन् । छोराबुहारीसँग संयुक्त परिवारमा रहेकी टीका परिवारका अरू सदस्यसरह नै बारीमा काम गर्छिन् । उनी भन्छिन्, “म पनि आफूले सकेको काम गर्छु । नाफा लिन त इस्कुसलाई बिहानैदेखि हेरचाह गर्नुपर्छ ।” छोराले गाडी किनेर चलाउने गरेको र त्यही गाडीमा आफूले तरकारी बेच्न लैजाने गरेको उनले बताइन् ।

शिव राई घरमा मुन्टा मुठा पार्दै

सूर्योदय नपा–१४ कै बिन्दु पौडेल पनि अहिले हप्तामा २०० देखि ३०० मुठासम्म इस्कुसको मुन्टा बेचिरहेको बताउँछिन् । दुई रोपनी बारीमा लगाएको इस्कुसले उनको घरखर्च धानेको छ । उनी भन्छिन्, “अहिले इस्कुसको मुन्टाबाटै हप्तामा चार हजार जति कमाइ हुन्छ ।”

चैतदेखि नै उत्पादन भए पनि जेठदेखि भदौसम्म चार महीना इस्कुसको मुन्टा बढी मात्रामा उत्पादन हुने बिन्दु बताउँछिन् ।

हेमकुमारी, शिव, टीका र बिन्दु प्रतिनिधि किसान हुन् । साबिकको लक्ष्मीपुर गाविस हाल सूर्योदय नगरपालिका–१३ र १४ का १०० भन्दा बढी किसान परिवारले तरकारी खेतीबाट राम्रो कमाइ गरिरहेका छन् ।

चैतदेखि उत्पादन हुन थाल्ने इस्कुसको मुन्टा कात्तिकसम्म पनि टिपेर बेच्न सकिने भएकाले यसबाट राम्रो आम्दानी भएको किसानको भनाइ छ ।

हेमकुमारी सुवेदी बिक्रीका लागि लैजाँदै

बजारको विस्तार

पछिल्लो चार–पाँच वर्षयता झपा, काठमाडौं रभारतको सिलिगुडीसम्म तरकारी निकासी हुन थालेपछि व्यावसायिक रूपमै यहाँका किसान तरकारी उत्पादनमा लागेका हुन् ।

यो सिजनमा लक्ष्मीपुरबाट इस्कुसको मुन्टा बोकेर दिनहुँ दुई–तीन वटा पिक अप गाडीहरू बाहिरिन्छन् । गोलभेंडा, इस्कुसको दाना समेत भरिने ती गाडीमा लगिएको मुन्टा सबैभन्दा बढी झपाको चारआलीमा बिक्री हुने गरेको छ । त्यसबाहेक बिर्तामोड, दमक, सूर्योदय नपाकै फिक्कल बजार, पशुपतिनगर बजार तथा मेची राजमार्गका विभिन्न स्थानमा बिक्री गरिन्छ ।

स्थानीय तरकारी व्यापारी राम पौडेलका अनुसार आफू र अन्य व्यापारीले संकलन गरेको इस्कुसको मुन्टा दिनमै ३००० देखि ३५०० मुठासम्म लक्ष्मीपुरबाट बाहिरिन्छ । लक्ष्मीपुरमा राम जस्ता व्यापारी १० जना जति छन् । हरेकले १०० देखि ५०० मुठासम्म मुन्टा दैनिक खरीद गर्ने बताउँछन् ।

व्यापारी गोविन्द पौडेलको घरमा किसानबाट खरीद गरेर बिक्रीका लागि लैजान लागिएको तरकारी ।

स्थानीय व्यापारीले किसानलाई प्रति मुठा रु.१५ देखि रु.३० सम्म दिने गरेका छन् । मुन्टा निस्किने सिजनको शुरूआतमा एक मुठाको रु.३५ सम्म दिए पनि अहिले रु.१५ मा खरीद गरिरहेको रामले बताए ।

आफूले लक्ष्मीपुरबाट लैजाने मुन्टा मेची राजमार्गको कोल्बुङ क्षेत्रका फूटपाथ व्यापारीलाई बिक्री गर्ने उनले बताए ।

अन्य केही व्यापारीले पनि उनी जस्तै राजमार्गमै बिक्री गर्छन् । राजमार्गमा गुड्ने गाडीका यात्रुले धेरै तरकारी खरीद गर्ने भएकाले राजमार्ग किनारमा बग्रेल्ती तरकारी बेच्न राखिएको छ । अहिले त्यहाँ सबैभन्दा बढी इस्कुसको मुन्टा नै देख्न सकिन्छ ।

कतिपय व्यापारीले भने झपाका बजारमा तरकारी लैजान्छन् । भारतको नक्सलबाडी, पानीट्यांकी र सिलिगुडीसम्म पनि इस्कुसको मुन्टा पुग्ने गर्छ । चारआलीबाट साइकलमा साना व्यापारीले ती बजारमा मुन्टा लिएर जान्छन् । कहिलेकाहीं भारततिर तरकारी लैजान भारतीय भन्सारले रोक लगाएका बेला भने मुन्टा ती बजारमा पुग्दैन ।

हप्तामा तीन दिन झपाको चारआली र बिर्तामोडमा इस्कुसको मुन्टा पुर्‍याएर बिक्री गर्दै आएका स्थानीय व्यापारी गोविन्द पौडेल पनि दैनिक तीन हजार मुठा हाराहारीमा मुन्टा बाहिरिएको बताउँछन् । उनी भन्छन्, “भारततिर जान पाउँदा भाउ राम्रै हुन्छ, नत्र हुँदैन ।”

किसान शिव राईका अनुसार सिजनको शुरूशुरूमा प्रति मुठा रु.४० सम्ममा किसानले बेचेका हुन् । शिव भन्छन्, “हामीले भाउ राखेर नहुने, व्यापारीले भारततिर लैजान पाइएन, मुन्टा नै धेरै उत्पादन भयो भन्छन् । यहाँ अहिले एक मुठाको रु.१५ मात्र छ ।”

‘एक सिजनमा रु.१ करोड आम्दानी’

वर्षैभरि सिजन अनुसार तरकारी उत्पादन गर्ने यहाँका किसानले यतिबेला इस्कुसको मुन्टाबाट मनग्गे आम्दानी लिइरहेका छन् । लक्ष्मीपुरबाट एकै सिजनमा रु.१ करोड बराबरको इस्कुसको मुन्टा निकासी हुने सूर्योदय–१३ का वडाध्यक्ष धनबहादुर राई बताउँछन् ।

उनी भन्छन्, “ठ्याक्कै यति नै बिक्री हुन्छ भन्ने लगत त कसैले राखेको छैन, तर यसको कारोबार र ओसारपसार हेर्दा करोडको हाराहारीमा पुग्छ ।”

वडाध्यक्ष राईका अनुसार प्रत्येक दिन दुई–तीन वटा पिक अप गाडीमा मुन्टा बाहिर जान्छ । “स्थानीय आठ–दश जना व्यापारीले दिनमा तीन हजार मुठा भन्दा बढी बाहिर लैजान्छन्” राई भन्छन्, “उनीहरूले प्रति मुठा रु.३० देखि रु.३५ मा बेचे पनि एक सिजनमा करोड त भित्रिहाल्छ नि !”

comments powered by Disqus

रमझम