त्यसवेला चीनमा ताइपिङ्ग विद्रोहले उधुम मच्चाइरहेको थियो । त्यसकारण दोस्रो नेपाली प्रतिनिधिमण्डलले बाटामा हण्डर पनि बहुतै पाए । सबै जीवित आइपुग्न पनि सकेनन् । प्रतिनिधिमण्डलका नेता काजी सरदार नै बिते । यता भोटले पहिलेदेखि चलिआएका रितिथिति नाघेर नेपाल र नेपालीलाई बिझउँदै बीसौं अर्घेल्याईं गरिरहेकाले जंगबहादुरले त्यसमाथि युद्ध आकाङ्क्षा पूर्ण पार्ने निधो गरे । तर, भोटले चीनसँग सहायता माग्यो भने समस्या पर्ने हुनाले पहिले चीनसँग राम्रो सम्बन्ध बनाउनुपर्ने थियो ।
अघि सं. १८४५ मा शुद्ध चाँदीका टक र खोटा टकसँगको दरभाउ नमिल्दा नेपाल–भोट युद्ध भएको थियो । भोटको सहायतामा आएका चिनियाँ सेनापतिले भोटको अर्घेल्याइँ ठहराई मिलाप गराएका थिए । भोटले त्यो सन्धि पालना नगर्दा पुनः युद्धको स्थिति आयो, जसमा दुवैतर्फको धेरै क्षयव्यय भयो । ताइपिङ्ग विद्रोह दबाउन चीन बादशाहको सहायता गर्छु, भोटलाई पनि जित्छु भनेर जंगबहादुर १० हजार फौज लिएर भोट अभियानमा जान कस्सिए ।
अघि भीमसेन थापाले पनि जंगले जस्तै राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थिति बुझेका भए वा बुझने कोशिश गरेका भए अंग्रेजसँग युद्ध छेड्ने थिएनन् । त्यसवेला ब्रिटिशहरूले फ्रान्सको युद्धबाट विश्राम लिएका थिए । भारतमा वीर जाति शिख, मराठासँग पनि युद्ध चलिरहेको थिएन । त्यस्तो वेला विचार नपुर्याई युद्ध छेड्दा अंग्रेजहरूले नेपाललाई दबाउने मौका पाएका थिए । जंगले त्यही अंग्रेज बहादुरलाई पनि आफ्नो अनुकूलै पारी घरायसी गोलमाल चलेको चीन साम्राज्यलाई सघाउने र आभ्यन्तर कमजोरीले एकमत नभएको भोटलाई अँचेट्ने चातुुर्य देखाएका थिए ।
श्री ५ महाराजाधिराजले त सुखिमको ब्रिटिश संरक्षण झ्किेर नेपालको अधिकार कायम गराउन माग गर्दै अंग्रेजलाई अर्जीसौगातै पठाएका थिए । त्यसो भएको खण्डमा नजरबन्दमा रहेका बुढा राजा राजेन्द्रविक्रम शाहलाई सुखिममा थन्क्याएर उनको गनगन मेट्ने भन्ने पनि कुरा थियो । तर, युरोप भ्रमण सकेर काठमाडौं फर्के पनि कम्पनी सरकारका तर्फबाट सुखिम सम्बन्धी प्रस्ताव स्वीकृत हुने रूपरेखा देखिएन । ब्रिटिश साम्राज्यको शक्ति पहिचान गरेर फर्किएका जंगबहादुरले त्यो जुधेर होइन, लोलोपोतो गरेरै आफ्नो काम पटाउने निश्चय गरे । अंग्रेज शक्तिको सहानुुभूति लिएर युरोपबाट फर्किएका उनी भोटतर्फ शक्ति लाउनेमा निश्चित भएका थिए । उनले सं. १९०९ मा चीन गएको प्रतिनिधिमण्डल र ल्हासामा बस्ने नेपाली नाइकेबाट उताको सारा हालखबर लिइसकेका थिए ।
सधैं नाखुश रहेका, विरोधी भावना राखिराख्ने गोर्खाली लडाकु प्रवृत्तिलाई भोटतिरकै भंग्रालोका झेसिदिन पाए आफूप्रतिको वैरभाव पनि मत्थर हुँदै जाने सम्झ्ी अंग्रेजहरूले पनि भोटसँग युद्ध गर्ने जंगको नीतिमा केही हदसम्म सहमति जनाइरहे । उसले भोट–चीनको पक्ष लिने स्थिति पनि थिएन । त्यसवेला चीनमा विद्रोहको आगो दन्किएको थियो । त्यसले गर्दा भोटमा चीन साम्राज्यको पकड खुकुलिएको थियो ।
बादशाहको दर्शनमा हाजिर हुन आउने नेपाली प्रतिनिधिमण्डलको हेरचाह, सुरक्षा गर्न नसक्ने अवस्थामा रहेको चीनले भोट रक्षाको लागि मद्दत पठाउन सक्छ भन्ने कुरामा विश्वास गर्न सकिंदैनथ्यो । त्यसमा पनि राजधानी पेचिङमा विद्रोहको डढेलो नसल्कियोस् भनेर चीनका सारा फौज घेरा हालेर बसेको सूचना बचेर आएका सुुब्बा भीमसेन रानाबाट पाए, जंगले । त्यसपछि जंगबहादुरले श्री ५ मार्फत चीन बादशाहलाई एक पत्र लेखे । त्यसमा बादशाहको अनुमतिमा नेपाली सैन्य पठाउन पाए ‘एक पन्थ दो काज’ को सिद्धान्त अनुसार भोटलाई वश पार्ने अनि ताइचिङ्ग विद्रोह दबाउन चीनलाई सहायता पनि गर्ने कुरा लेखिएका थिए । त्यसका बुँदाहरू निम्न थिए–
बादशाहलाई मानी बसेका मानिसले अहिले विद्रोह गरी स्वयं बादशाहसँग लड्न लागिरहेछ भन्ने कुरा हाम्रा सुब्बा भीमसेन रानाको पत्रबाट मालुम हुँदा हामीलाई ज्यादा फिक्री लागेकोले सो विद्रोह दबाउन १० हजार फौज र ४० तोप, तोप हान्न जान्ने गोलन्दाजका साथ मुख्य वजीर जंगबहादुर कुवरलाई पठाउने,
यस फौजलाई चाहिने गोली–गठ्ठा, गिराफ–गोला यहींबाट पठाउने,
सिपाहीलाई खानाखर्चवापत महीना १ के रु.५ भत्ता चीनबाट दिनुपर्ने,
लड्ने सिपाहीको सामान–भारी बोक्ने पिपा जवान २५ हजार बन्दोबस्त गरिदिनुपर्ने,
यसले १ लाख कुत्याहासँग लड्न सक्ने र जहाँजहाँ विद्रोह हुन्छ त्यहाँ त्यहाँ गई युद्ध गर्ने, र
यस अतिरिक्त चीन बादशाहबाट आर्थिक सहायता दिएका खण्डमा अरू फौज भरना गरी तालीम दिई जोहो गरिराख्ने राजा मार्फत बादशाहलाई पत्र लेखेपछि उताबाट सहमति भए फौजसाथ लिएर आफैं गई चिनियाँ विद्रोह दबाउने अनि भोटलाई पनि अँचेटेर ल्हासामा नेपाली फौज र तोप राख्ने जंगको योजना थियो । यसो भएमा नेपालको १८७२ को युद्धको क्षतिपूर्ति पनि हुने, नेपालको एकलौटी तिब्बती बेपारबाट आर्थिक स्रोत पनि बढ्ने अनि नेपाली वीर जातिले काममाम पनि पाउने थिए ।
बादशाहले फौज पठाउने अनुमति नदिए पनि भोटसँग युद्ध गर्ने त जंगको निश्चित विचार छँदै थियो । त्यसका लागि युद्ध सामग्री तयार पार्न र भोटको सिमानामा नेपाली पल्टन पठाउँदै गर्न राम्रो बहाना भयो, चीनमा उठेको विद्रोह । हामीले मानेका महान् बादशाहलाई समस्या परेकोले सहायताका लागि यो फौजी तयारी हो भन्दा भोट नाजवाफ हुने र चीन पनि नाराज नहुने अवस्था थियो । त्यो बहानामा सैनिक संख्या बढाउन, नयाँ पल्टन खोल्न र युद्ध सामग्रीहरूको जोहो गर्न थालियो । नाकानाकामा फौज तैनाथ पार्ने आदेश पूर्वपश्चिम पठाउन लागियो र अरू युद्ध सामान जोड्नेमा पनि तीव्रता ल्याइयो । भोट जाने बाटाहरूको निरीक्षण, मर्मत र रेखदेख गर्ने काम धमाधम हुन थाले ।