झ्मझ्म पानी परिरहेको त्यो बेला साह परिवारका पाँच र ग्यारेजमा १५ जना मस्त निदाएका थिए । हनुमन्ते खोलाको बाढी पसिसकेकोले दौडने अवस्था नभएपछि सबै जना ग्यारेजमा राखिएको एउटा बसबाट भागे । जिल्ला प्रहरी कार्यालय, भक्तपुरका अनुसार २७ असारको बाढीबाट ५०० घरपरिवार विस्थापित भए । तरकारी र पशुचौपाया गरी रु.४ करोडभन्दा बढीको क्षति भयो ।
कटुञ्जेमा जग्गा भाडामा लिएर गाईपालन गरेका प्रेमबहादुर बस्नेतका १५ मध्ये ५ वटा गाई बाढीमा बगे । वार्षिक रु.५० हजार जग्गा भाडा तिर्ने गरी गत चैतदेखि व्यवसाय थालेका उनले ८० बोरा दाना पनि गुमाए । त्यही ठाउँमै जग्गा भाडामा लिएर बंगुर पालन गरेका बिर्खमान मगरका माउ र पाठा गरी ५० वटा बंगुर बाढीमा परे । सुनापति गाउँपालिका–२ रामेछापका उनले व्यवसाय थालेको एक वर्ष पुग्दै थियो । “पहिलो छिमल पाठाबाट लागत उठ्ला भन्ने सोचेको बेला बाढीले बगायो” उनी भन्छन्, “धन्न ज्यान बच्यो ।” मगर र बस्नेतलाई बिहान प्रहरी टोलीले उद्धार गरेर सुरक्षित स्थानमा सारेको थियो ।
बाढीका कारण
२७ असार रातिको बाढीले भक्तपुरका राधेराधे, सल्लाघारी, कमलविनायक, इथुली, निकिसेरा लगायतका ठाउँ डुबाएपछि यसका कारणबारे अनेक अड्कलबाजी गरिए । कसैले विगतमा भन्दा ठूलो वर्षा भएर आएको बाढीले डुबाएको अड्कल काटे भने कसैले अतिक्रमणले खोला साँघुरो भएकोले बस्तीतिर बाढी पसेको ठाने । तर, दुवाकोटका प्रेम खत्री हनुमन्ते खोलालाई फोहोर फाल्ने ‘डम्पिङ्ग साइट’ बनाउँदा यो अवस्था आएको बताउँछन् । “अनियन्त्रित बसोबास र खोला अतिक्रमणका कारण मात्र यो भएको होइन” उनी भन्छन्, “फोहोरले पानीको निकास थुनिंदा खोलो बस्तीतिर पसेको हो ।”
हुन पनि, त्यो रात भक्तपुरको नगरकोटमा ११७ मिलिमिटर, चाँगुनारायणमा ७६ र भक्तपुरमा १२९.६ मिलिमिटर पानी परेको थियो । मौसमविद्हरूका भनाइमा, एक्कासी बाढी आउने गरिको वर्षा थिएन, त्यो । यसअघि योभन्दा ठूलो वर्षा हुँदा यसरी डुबान नभएको प्रेम खत्री बताउँछन् । जल तथा मौसम विज्ञान विभागका अनुसार, २८ साउन २०४७ मा भक्तपुरमा २६० मिलिमिटर, चाँगुनारायणमा ७ साउन २०५९ मा १६५ मिलिमिटर र १६ साउन २०४३ मा नगरकोटमा १७९.४ मिलिमिटर वर्षा भएको थियो ।
डुबान क्षेत्र डुल्दा पनि प्रेम खत्रीले भनेजस्तै देखियो । मिचिएर साँगुरो बनेको खोला किनारमा प्लाष्टिक मात्र होइन फोहोरका ठूल्ठूला बोराहरू पनि अड्किएका देखिए । बाढी पसेको खेत र घरआँगन समेत फोहोर प्लाष्टिकले भरिएका थिए । एक दशक अघिसम्म हनुमन्ते किनारमा खेत मात्र थियो, अहिले धेरैजसो ठाउँमा खोलालाई सिमेन्टका घरहरूले मिचेको छ । ती घर र टोलहरूका फोहोर खोलामै फालिन्छ । पूरै डुबानमा परेको निकिसेराको हनुमन्ते पुल छेउको टोलका शालिकराम पाण्डे सबैतिर सिमेन्टले लिपिएपछि आकाशबाट परेको पानी जमीनमा भिज्न नपाई जम्मा भएर बाढीमा परिणत भएको बताउँछन् । “पहिला साउनसम्म रोपाइँ हुन्थ्यो, अहिले पानी सोस्ने जमीन नै छैन” उनी भन्छन्, “घरको छाना र छतबाट पानी खस्नासाथ बाढी बनेर डुबान हुन्छ ।”
प्रेम खत्री
स्थानीय
निकिसेरा भत्तपुर
यो डुबानले हाम्रो योजना र कार्यशैलीलाई गिज्जाएको उनले बताए । भक्तपुरको पाठबाट सिकेर तत्काल योजनाबद्ध बस्ती विकासमा ध्यान दिनुपर्ने उनको भनाइ छ । हनुमन्ते खोलासँगै जोडेर मलिलो जग्गामा अहिले पनि धमाधम घरहरू ठडिंदैछन् । सल्लाघारीको एसएस चोक दक्षिणको होचो जग्गामा यसरी नै बस्ती बस्यो, जहाँ २७ असारको औसत वर्षाले ठूलो कहर ल्यायो । “खासमा यो खेतीको लागि उपयुक्त जग्गा हो” स्थानीय विष्णु बख्रेल भन्छन्, “खोलो हिंड्ने ठाउँमा घरहरू उम्रेपछि जे डुब्नुपर्ने हो, त्यही डुब्यो । यसमा कसलाई के भन्ने !”