३१ असार - ५ साउन २०७५ | 15 - 21 July 2018

गति समात्दै

Share:
  
- रमेश कुमार
महाभूकम्पबाट थला परेको पर्यटन उद्योगले क्रमशः समात्न थालेको लयले उत्थानको आशा दिलाएको छ।

युवराज श्रेष्ठ
अन्नपूर्ण बेस क्याम्प (एबीसी) पद यात्रामा विदेशी पर्यटक ।
नेपालमा १० लाख पर्यटक भिœयाउने लक्ष्य सम्भवतः यो वर्ष पूरा हुन्छ । मे महीनासम्मको पर्यटक आगमनको संख्या अघिल्लो वर्षको तुलनामा १२.५ प्रतिशतले बढेको छ । यो वृद्धिदर कायम रहे अहिलेसम्मकै सर्वाधिक पर्यटक यो वर्ष भित्रिनेछन् । गत मेसम्ममा ४ लाख ५४ हजार ८८५ पर्यटकले नेपाल भ्रमण गरिसकेका छन् । गत वर्ष सन् २०१७ मा ९ लाख ४० हजार ६५३ विदेशी नागरिक नेपाल आएका थिए । यो संख्या २०१६ को भन्दा करीब एक चौथाइ बढी हो । यो आँकडाले नेपाली पर्यटन क्षेत्रको परिदृश्य बदलिन लागेको देखाउँछ । नेपाल होटल एशोसिएसन (हान) का महासचिव विनायक शाह थुप्रै व्यवधानका बाबजूद पर्यटन क्षेत्रले फड्को मार्ने संकेत देखिएको बताउँछन् । उनी भन्छन्, “यसमा राजनीतिक स्थिरताले बल पुर्‍याएको छ ।”

अफ सिजन भनिने डिसेम्बर र फेब्रुअरीमा पनि चिनियाँ पर्यटक खचाखच हुन थालेका छन् । जूनदेखि अगस्टसम्मको वर्षे अवधिमा पनि पर्यटकको संख्या नघटेको व्यवसायीहरू बताउँछन् । स्वदेशी पर्यटकको बढ्दो संख्याले पनि पर्यटन उद्योग उत्साहित छ । नेपाल ट्राभल्स एण्ड टुर्स एशोसिएसन (नाटा) का पूर्व अध्यक्ष मधुसूदन आचार्य विश्वासै नगरेको कुरा भइरहेको बताउँछन् । आन्तरिक पर्यटक वृद्धिले पर्यटन उद्योग असाध्यै उत्साहित भएको उनको भनाइ छ ।

दशक लामो माओवादी हिंसात्मक विद्रोह र त्यसपछिको राजनीतिक अस्थिरतामा बढेको बन्द–हड्तालबाट त्राण पाउन थाल्दा २०७२ वैशाखको महाभूकम्पले पर्यटन उद्योग थला पर्ने स्थितिमा पुगेको थियो । व्यवसायीहरू पछिल्ला दुई वर्षमा बढेको पर्यटक संख्याले उत्थानको राम्रो सम्भावना देखाएको बताउँछन् । हानका महासचिव शाह भन्छन्, “भोलिको सम्भावना हेरेर पर्यटन उद्योगमा लगानी पनि ओइरिइरहेको छ ।”

पूर्वाधारको बाधा

बिक्रम राई
पाटन दरबार क्षेत्रमा विदेशी पर्यटक।
२०७२ को भूकम्पले थला पारेको पर्यटन क्षेत्र लयमा फर्कन थालेपछि सरकारले बजेट मार्फत सन् २०२० मा २० लाख पर्यटक भिœयाउने लक्ष्यसहितको ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरेको छ । सरकारले १९९८ मा ‘नेपाल भ्रमण वर्ष’ र २०११ लाई ‘नेपाल पर्यटन वर्ष’ घोषणा गरेको थियो । भ्रमण वर्षको तेस्रो संस्करणमा २० लाख अर्थात् अहिलेभन्दा दोब्बर पर्यटक भिœयाउने सरकारी लक्ष्य सजिलो भने नभएको व्यवसायीहरूको भनाइ छ । नाटाका पूर्व अध्यक्ष आचार्य भन्छन्, “आउँदो दुई वर्ष २० लाख पर्यटक ल्याउने पूर्वाधार र संरचना हामीसँग छैन ।”

हुन पनि, देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल थपिएका ठूला–साना विमानको चाप धान्न सक्ने अवस्थामा छैन । एउटा मात्रै धावनमार्ग भएको विमानस्थलबाट अहिले दैनिक ९१ भन्दा बढी अन्तर्राष्ट्रिय उडान भइरहेको छ । बढीमा ४० लाख अन्तर्राष्ट्रिय यात्रुलाई सुविधा दिनसक्ने क्षमता भएको मानिएको त्रिभुवन विमानस्थलले गत वर्ष ३८ लाख ८० हजारलाई सेवा दिएको थियो । अर्थात्, विमानस्थलको क्षमता ‘स्याचुरेशन’ मा पुग्दैछ । अध्ययन र रोजगारीका लागि विदेश जाने नेपालीको संख्या निरन्तर बढे पनि विमानस्थलको क्षमता विस्तार भएको छैन । एशियाली विकास ब्यांकको सहयोगमा करीब एक दशकअघि थालिएको विमानस्थलको क्षमता विस्तार परियोजनाले गति लिएको छैन । यो परियोजना सकिए ५८ लाख अन्तर्राष्ट्रिय यात्रु धान्ने आकलन छ । पर्यटन व्यवसायी आचार्य धेरै पर्यटक भिœयाउने घोषणाभन्दा विमानस्थल विस्तार र निर्माणाधीन विमानस्थलको काम सक्नेमा हतार देखाउनुपर्ने बताउँछन् ।

नेपालमा हवाई यात्रुको संख्या वार्षिक ८ प्रतिशतका दरले बढिरहेको छ । यो हिसाबले एक दशक पनि नपुग्दै हवाई यात्रुको संख्या दोब्बर हुन्छ । सरकारले सन् २०१९ भित्र त्रिभुवन विमानस्थल विस्तार र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सक्ने बताएको छ, तर त्यस अनुसारको काम भएको छैन । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले वार्षिक करीब ३० लाख यात्रु धान्न सक्छ । व्यवसायी आचार्य पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल पनि पूर्ण सञ्चालनमा आए मात्र ठूलो संख्यामा पर्यटक भिœयाउन सकिने बताउँछन् ।

गोपेन राई
काठमाडौं निर्माणाधीन दुई होटल शेराटन (ठमेल) र फेयरफिल्ड म्यारिओट (नक्साल) ।

आफ्नै ध्वजावाहक विमानको अभाव अर्को समस्या हो । नेपाल वायु सेवा निगमसँग अहिले भर्खरै आएका सहित पाँच वटा जेट विमान छन् । पर्याप्त विमान नहुँदा युरोप, अमेरिका जस्ता लामो दूरीमा उडान असम्भव भएको छ । यसले गर्दा एकातिर आफ्नै ध्वजावाहक मार्फत पर्यटक तान्ने अवसर गुमिरहेको छ भने अर्कातिर अन्य देशका विमान कम्पनीहरूको भाडा असाध्यै महँगो भएका कारण नेपाल आउन पर्यटक निरुत्साहित भइरहेको अवस्था छ । चिनियाँ शहरहरूमा समेत राष्ट्रिय ध्वजावाहकको उडान नहुँदा अरूले चर्को भाडादर कायम गरेका छन् । राष्ट्रिय ध्वजावाहकले उडान गन्तव्य बढाउने हो भने भाडादर ह्वात्तै घटेर पर्यटक बढ्ने व्यवसायीहरू बताउँछन् ।

सडकहरू गतिलो र भरपर्दो नहुनु पर्यटन क्षेत्रको अर्को समस्या हो । निरन्तरको दुर्घटना, छोटो दूरी पार गर्न लामो समय लगाउनुपर्ने अवस्थाले नेपाली पर्यटन क्षेत्रको छवि धमिल्याइरहेको छ । केही समयअघि काठमाडौं आएकी भारतीय अभिनेत्री जुही चावलाले यहाँको सडकको दुरवस्था देखाउने तस्वीर सहित ‘समयमै कार नआएर धुलिखेल जान ढिला भएको’ कुरा ट्वीटर मार्फत सार्वजनिक गरेकी थिइन् ।

होटलमा उत्साह

सार्वजनिक पूर्वाधार दुरवस्थामा रहे पनि निजी लगानीका होटल विस्तारले पर्यटन उद्योगको उत्थानमा आशा जगाएको छ । आगामी दिनमा पर्यटक संख्या बढ्ने आकलनले होटल व्यवसायमा लगानी बढेको छ । विश्वस्तरीय ब्राण्डदेखि स्थानीय लगानीकर्तासम्मको ध्यान सुविधासम्पन्न होटल निर्माणमा छ । काठमाडौं, पोखरा, भैरहवा, चितवन लगायतका ठाउँमा डेढ दर्जन हाराहारी पाँचतारे होटल बन्दैछन् । अन्य व्यवसायमा पकड जमाएका चौधरी, गोल्छा, वैद्य लगायतका औद्योगिक/व्यावसायिक घरानाहरू समेत होटलमा लगानी गर्न तम्सिएका छन् ।

होटल व्यवसायमा १५–२० वर्ष पछाडिको सम्भावना हेरेर लगानी हुन्छ । नेपालको पर्यटन उद्योगले भोलि फड्को मार्छ भन्ने विश्वासकै कारण अहिले लगानी भइरहेको हानका महासचिव शाह बताउँछन् । उनका अनुसार, अहिले देशभर अर्बौंका होटलहरू बनिरहेका छन् । काठमाडौं उपत्यकामा दुई दर्जन होटल निर्माणाधीन छन् । अन्तर्राष्ट्रिय चेन ब्राण्ड मेरियट, हिल्टन, अलोफ्ट, शेराटन साझ्ेदारीमा भित्रन लागेका छन् । अष्टे«लियाको सिल्भर हेरिटेज ग्रुपले लगानी गरेको रूपन्देहीको पाँचतारे होटल टाइगर प्यालेस रिसोर्ट भर्खरै सञ्चालनमा आएको छ । नेपाली मूलका अष्ट्रेलियाली अर्बपति शेष घलेले रु.१२ अर्ब लगानीमा ठमेलमा शेराटन होटल बनाइरहेका छन् ।

व्यवसायी पृथ्वीबहादुर पाँडेसहितको समूह ठमेलकै छायाँदेवी कम्प्लेक्समा पाँचतारे होटल सञ्चालन गर्ने तयारीमा छ । अर्का व्यवसायी शशिकान्त अग्रवालको समूह एमएसले ठमेलमै फेयरफिल्ड म्यारिओट काठमाडौं सञ्चालनमा ल्याइसकेको छ भने नक्सालमा पाँचतारे होटल बनाइरहेको छ । यो समूहले भक्तपुरमा पनि पाँचतारे होटल खोल्ने तयारी थालेको छ । शंकर समूहले बहुराष्ट्रिय होटल चेन ब्राण्ड हिल्टन होटल्ससँगको सहकार्यमा काठमाडौंमा पाँचतारे ‘डबल ट्री हिल्टन’ निर्माण गरिरहेको छ । त्यस्तै, चन्द्र ढकालको समूहले चन्द्रागिरी केबुलकारसँगै पाँचतारे रिसोर्ट निर्माण गरिरहेको छ ।

वैद्य अर्गनाइजेसन र गोल्छा समूहले पनि पाँचतारे होटलमा लगानी गर्दैछ । सरकारी स्वामित्वको नागरिक उड्डयन प्राधिकरणले पनि पाँचतारे होटल खोल्ने घोषणा गरिसकेको छ । त्यस्तै, अजयराज सुमार्गी अध्यक्ष रहेको मुक्तिश्री समूहले युरोपेली ब्राण्डसँगको सहकार्यमा पाँचतारे होटल खोल्ने घोषणा गरेको छ । सूर्य नेपाल प्रालिले पनि पाँचतारे होटल बनाउने तयारी थालेको छ । विराटनगरमा व्यवसायी मोती दुगडले पाँचतारे होटल बनाइरहेका छन् । लुम्बिनीमा व्यवसायी पवनकुमार हलवाईले पाँचतारे पवन होटल बनाउँदै छन् । उता नेपालगञ्जमा सोल्टी होटलले रु.४० करोडमा चारतारे होटल निर्माण गरिरहेको छ ।

चौधरी समूहले उपत्यकामा तीन वटा पाँचतारे होटल बनाउने घोषणा गरेको छ भने पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले लैनचौरमा पाँचतारे होटल निर्माण थालेका छन् । यो परिदृश्य नियालिरहेका पर्यटन व्यवसायी शाह अबको पाँच वर्षमा नेपाली पर्यटन उद्योग स्वर्ण युगमा प्रवेश गर्ने देख्छन् । यसका लागि विमानस्थल सहित पूर्वाधार निर्माणलाई तीव्रता दिनुपर्ने उनी बताउँछन् । अहिले भएका होटल र होमस्टेहरूले वार्षिक २५ लाखसम्म पर्यटकलाई सेवा दिन सक्ने बताउँदै शाह भन्छन्, “निर्माणाधीन होटल सञ्चालनमा आएपछि दुई–तीन वर्षभित्रै ५–६ हजार स्तरीय कोठा थपिन्छ ।”

comments powered by Disqus

रमझम