३१ असार - ५ साउन २०७५ | 15 - 21 July 2018

लाहुरेले देखेको मुगलान

Share:
  

नेपाली जनजीवनमा भिजेको शब्द हो, मुगलान । अहिले आएर मुगलानको दायरा झनै फराकिलो भएको छ । हिजो नेपालीको मुगलान भारत, बर्मा, भूटानसम्म थियो । आज मुगलान विस्तार भएको छ– छिमेकी मुलुक भारतदेखि दुनियाँको सबै कुना–कन्दरासम्म ।

हिजो छोरा मात्रै मुगलान जान्थे, आज छोरीले पनि परदेशको बाटो तताएका छन् । यसबाट अर्थतन्त्रसँगै विछोड र वेदनाको दायरा पनि फराकिलो भएको छ । नेपाली मनमा मुगलानले पारेको विविध प्रभावले नेपाली मुगलान साहित्यलाई समृद्ध बनाउन सघाएको छ ।

मुगलानी जीवनधाराको पृष्ठभूमिमा मुलुकबाहिर, बसाइँ, मुगलान, चपाइएका अनुहार जस्ता आख्यानात्मक कृति जन्मिए । लैनसिंह बाङ्देलकृत उपन्यास मुलुकबाहिर मा दोस्रो विश्वयुद्धका लागि भर्ती गराइएका गोर्खालीलाई युद्ध थामिएपछि खाली खुट्टा घर फर्काइएको प्रसंग छ । दौलतविक्रम विष्टको उपन्यास चपाइएका अनुहार मा बेलायतको तर्फबाट विश्वयुद्धमा होमिएका लाहुरेको कथा छ ।

अहिले समयले कोल्टो फेरेको छ, लाहुरे नै मुगलानको भोगाइ लिपिबद्ध गर्न तम्सिएका छन् । यसका दृष्टान्त हुन्, लेखनकर्ममा अनवरत जुटिरहेका पूर्वलाहुरे टिम गुरुङ । उनी आख्यानात्मक कृति अ ट्री कल्ड टेनल्पा लिएर पाठकमाझ आएका छन् ।

पुस्तक अ ट्री कल्ड टेनल्पा (उपन्यास)

लेखक टिम गुरुङ

प्रकाशक आईएसएसएल एण्ड कम्पनी लिमिटेड, हङकङ पृष्ठ २९६+८

मूल्य २.९९ अमेरिकी डलर

सन् १९८० को कुरा हो । टिम गुरुङ गोर्खा सैनिक बनेर हङकङ पुगे, जतिबेला उनी १७ वर्षका थिए । बेलायती सेनामा १३ वर्ष सेवा गरेपछि उनलाई फौजी जिन्दगानी मन परेन, स्वेच्छिक अवकाश लिए । तर हङकङ छाडेनन् । त्यहीं बसेर लेखन कार्य अघि बढाए । अहिले लेखनकर्म नै उनको पूर्णकालीन जागिर भएको छ ।

द कस्र्ड नेसन, अ सेलिब्रेसन अफ वुमन, ओल्ड म्यान डोन्ट क्राई, अ नेसन फर रेफुजिज, आफ्टरलाइफ, मिसनरी अर मर्सिनरी, फाइभ स्टेप्स, माई फर्गटन पाथ, द ब्रोकन पिपुल फ्रम द गड्स ल्याण्ड, द नमस्ते क्लब आदि उनले जन्माएका कृति हुन् । अंग्रेजीमा मात्र लेख्ने उनका अधिकांश कृति आख्यानात्मक छन् ।

अहिले उनी आफ्नो १५औं कृति द गुर्खाज् का लागि काम गरिरहेका छन्, जसलाई सन् २०१९ मा पाठकमाझ ल्याउने उनको तयारी छ । दर्जनभन्दा बढी पठनीय कृति जन्माएर पनि उनी चर्चाविहीन छन् । पश्चिमी गोलाद्र्धमा बसेर अंग्रेजीमा लेख्ने चुनिंदा लेखकहरूले राम्रै चर्चा कमाएका छन् । लेखनकर्ममै समर्पित भएर पनि समकालीन नेपाली साहित्यिक वृत्तमा गुरुङले अपेक्षित चर्चा बटुल्न सकेका छैनन् ।

अ ट्री कल्ड टेनल्पा मा मुगलानको कथा छ । यसले ६ जना हतभागी मुगलानीको भुक्तमान समेटेको छ । विस्थापन, बसाइँसराइ, जातीय भेदभाव, मातृभूमिको माया, परचक्री पाउ, मुगलानले थोपरेको मानसिक तथा शारीरिक यातनाकै सेरोफेरोमा कथावस्तु घुमिरहन्छ । कृति पढ्दै जाँदा रोटो र भोटो जुटाउन अरबको खाडीदेखि अमेरिकासम्म पुगेका नेपालीको अनुहार आँखासामु आउँछ ।

कृतिमा वर्णित प्रसंग परदेशको हो भन्ने थाहा हुन्छ, तर ठाउँको नाम कतै उल्लेख हुँदैन । कथामा पात्रले अनाम ठाउँमा भोगेका सास्ती र हैरानीका एक–एक हिसाब भेटिन्छ । भाषाशैली स्तरीय र मिठासपूर्ण छ । लेखाइमा वाग्धारात्मक अभिव्यक्तिको छेलोखेलो भेटिन्छ । वर्णन दृश्यात्मक छ । प्रत्येक घटनाक्रमको सपाट र सविस्तार वर्णन छ ।

एक अर्थमा लेखाइ अनौठो लाग्ने किसिमको छ । कृतिका सबै पात्र चरा हुन् । लेखकले कालो, पहेंलो, सेतो, खैरो रङका चरालाई पात्रका रूपमा खडा गरेका छन् । मानिस चराजस्तै एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्ने प्राणी भएकाले चरालाई पात्रको रूपमा खडा गरिएको अनुमान गर्न सकिन्छ । यस अर्थमा लेखाइ प्रतीकात्मक छ ।

यद्यपि, यहींनेर प्रश्न गर्ने ठाउँ पनि तयार हुन्छ । साहित्यमा पशुपन्छीलाई पात्रको रूपमा उभ्याउने चलन नयाँ होइन । मानिसलाई नै पात्र बनाएर कथावस्तुलाई सहज किसिमले अघि बढाउन सकिने ठाउँमा चरालाई पात्र बनाउन कति आवश्यक र सान्दर्भिक थियो भन्ने प्रश्न पाठकको मनमा उब्जिरहन्छ । गुरुङको यस प्रकारको पृथक् प्रयोगलाई हेर्दा कताकता असहज अनुभूति हुन्छ ।

नेपाली मुगलान साहित्यको दायरा फराकिलो हुँदै गइरहेका बेला अ ट्री कल्ड टेनल्पा ले बेग्लै उपस्थिति जनाएको छ । प्रवासी लेखनले मुगलान साहित्यको अर्को क्षितिज पनि उघार्दै लगेको छ, त्यो हो– डायस्पोरिक साहित्य । समयक्रममा नेपाली डायस्पोरिक साहित्य पनि समृद्ध हुँदै गइरहेको छ ।

नेपालीजन संसारभर फैलने र लेखनकर्ममा सरिक हुने बढ्दो परिपाटीले डायस्पोरिक साहित्यका लागि उर्वरभूमि तयार भएको छ । टिम गुरुङले प्रवासमा बसेर अघि बढाएको लेखनकर्म पनि यही परिपाटीको निरन्तरता हो ।

यमबहादुर दुरा


सत्कर्म सिकाउने बालकथा

अनुसन्धानले प्रमाणित गरिसकेको छ– टिभी हेर्दाभन्दा कथा सुन्दा वा पढ्दा बालबालिकाको मस्तिष्क थप विकसित हुन्छ । कथा सुन्दा वा पढ्दा वर्णित पात्र, दृश्य वा परिवेशप्रति बालबालिका कल्पनाशील वा सोचमग्न हुन पुग्छन् । जसले उनीहरूलाई सिर्जनशील हुन सघाउँछ । त्यस्तै, चित्रले पनि बालबालिकालाई कल्पना गर्न सघाउँछ । अझ भनिन्छ, एउटा चित्रले हजार शब्द बोलिरहेको हुन्छ ।

यही बाल मनोविज्ञानलाई ध्यानमा राखेर लेखिएका हेमलता राईका तीन सचित्र बालकथाका पुस्तक बजारमा आएका छन् । उनको बोल्ने हात कथाले बालबालिकालाई आवाज निकालेर बोल्न नसक्ने तर हातको इशाराले भावना व्यक्त गर्नेहरूलाई सम्मान गर्ने उच्च नैतिकता सिकाउँछ । त्यस्तै, सेतो हाँस र काली काग कथाले बालबालिकालाई रुपले भन्दा कर्मले अरुको नजरमा राम्रो भइने गुण सिकाउँछ । यस कथामा आत्मप्रशंसामा लीन हुने, अरुलाई वास्ता नगर्ने सेतो राजहाँसभन्दा परोपकारमा लाग्ने काली काग नै बालबालिकालाई मनपरेको सचित्र देखाइएको छ । उनको अर्को कथा रानीको छाउरो ले कुनै पनि प्राणीलाई उसको बाबुआमाबाट छुटाउन नहुने सहअस्तित्वको भावना सिकाउँछ ।

राईका यी तीनवटै कथा सांग्रिला पुस्तकले बजारमा ल्याएको हो । सांग्रिला प्रकाशनबाटै भवसागर घिमिरेका पनि दुई सचित्र बालकथा बजारमा आएका छन् । उनको देउता खुशी हुनुभयो कथाले मानिस खुशी भए नै देउता खुशी हुन्छन् र देउतालाई खुशी पार्न कुनै मानिसलाई पीडा हुने काम गर्नु ठीक होइन भन्ने बोध गराउँछ । त्यस्तै, उनको अर्को कथा पाठीलाई स्वेटर ले बालबालिकालाई अरुको पीडा बुझ्न सघाउँछ ।

comments powered by Disqus

रमझम