६-१२ साउन २०७५ | 22-28 July 2018

‘जापानसँगको खेलमा आफूलाई प्रमाणित गर्नेछौं’

Share:
  

आगामी १८ अगस्तदेखि २ सेप्टेम्बरसम्म इण्डोनेशियाको जकार्तामा आयोजना हुने १८औं एशियाली खेलकुदमा नेपाल पनि सहभागी हुँदैछ। प्रतियोगितामा यसपालिको विश्वकपमा राम्रो प्रदर्शन गरेको जापानसँग पनि खेल्ने अवसर बनेको नेपाली फूटबल टीमका कप्तान विराज महर्जन भन्छन्, “हामीले प्रतिस्पर्धामा आफूलाई प्रमाणित गर्नेछौं।”

लामो समयपछि नेपालले एशियाड खेल्दैछ, चुनौती कति छन् ?

हाम्रो अगाडि चुनौतीका चाङ छन् तर पनि राम्रो प्रदर्शनको आशा गरेका छौं । जापान, भियतनाम जस्ता बलिया टीमसँग प्रतिस्पर्धा गर्न त्यसै अनुसारको तयारी गरिरहेका छौं ।

जापान जस्तो बलियो टोलीसँगै एउटै समूहमा रहँदा कति सहज होला ?

पक्कै पनि सजिलो छैन । जापान र भियतनाम एशियाका ‘पावर हाउस’ मानिन्छन् । तर, हामी जित्नका लागि मैदानमा उत्रिनेछौं । यो प्रतिस्पर्धामा आफूलाई प्रमाणित गर्ने आशा राखेको छु ।

जापानी प्रशिक्षकबाट प्रशिक्षण लिइरहनुभएको छ, जापानलाई रोक्ने कुनै विशेष योजना ?

हामीले जापान र भियतनामलाई जित्नै नसक्ने भन्ने होइन । तर, जापान हरेक कुरामा व्यावसायिक छ । उनीहरुको टोली स्रोत र साधनले सम्पन्न छ । उनीहरु आधुनिक फूटबलमा धेरै अघि बढिसकेका छन्, हामी बामे सर्दैछौं । तैपनि हामीमा उत्साह छ । आत्मबल बलियो छ ।

हाम्रा खेलाडीलाई प्रशिक्षण पुगेन भनिन्छ नि !

केही कम भएकै हो । हामी डेढ महीनादेखि तयारी गरिरहेका छौं । प्रतियोगितामा सहभागी हुँदासम्म हाम्रो तयारी दुई महीना पुग्छ । यसलाई नराम्रै भन्न त मिल्दैन, तर यो पर्याप्त होइन ।

तपाईंको कप्तानीमा नेपालले बंगबन्धु कप, साफ गेम्स र सोलिडारिटी कप जित्यो, अहिले कस्तो प्रदर्शनको आशा छ ?

अहिले हाम्रो टोलीमा नयाँ पुस्ताका खेलाडीको वर्चश्व छ । उनीहरू अनुशासित र क्षमतावान् छन् । टीममा समावेश युवाको जोश र जाँगर देखेर राम्रो प्रदर्शन गर्ने आशा राखेका छौं ।

comments powered by Disqus

रमझम