६-१२ साउन २०७५ | 22-28 July 2018

चनाखो हुनुपर्ने बेला

Share:
  
- टीकाराम राई
आमसंचार विधेयक निर्माणमा कतिपय सरोकारवालाका सन्दिग्ध भूमिका हेर्दा अब मुलुकका विधायकहरु नै बढी चनाखो हुनुपर्ने देखिन्छ।

३२ असारको मन्त्रिपरिषद् बैठकले सूचना तथा संचारप्रविधि मन्त्रालयलाई आम संचार सम्बन्धी विधेयक बनाउन स्वीकृति दिएकाले अब संविधान र उपलब्ध प्रविधि सुहाउँदो नयाँ प्रेस ऐन बन्ने निश्चित भएको छ ।

राष्ट्रिय आमसंचार नीति, २०७३ मा आमसंचार ऐन बनाउने उल्लेख छ । प्रकाशक संघ, पत्रकार महासंघ, जातीय पत्रकार संघ सबै संलग्न भई बनाएको हुनाले राष्ट्रिय आमसंचार नीति सबैको साझ दस्तावेज हो । ‘क्लिन फिड’, आमसंचार क्षेत्रमा विदेशी लगानीको सीमा, लगानी सघनता, विदेशी कामदारलाई प्रतिबन्धको व्यवस्था, समानुपातिक समावेशी र अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको व्यवस्था राष्ट्रिय आमसंचार नीतिको विशेषता हो ।

राष्ट्रिय आमसंचार नीति कार्यान्वयनका लागि ९ पुस २०७३ मा मन्त्रिपरिषद्को निर्णयबाट आमसंचार नीति कार्यान्वयन उच्चस्तरीय समिति गठन भयो । प्रशासकीय अदालतका प्रमुख काशीराज दाहाल संयोजक रहेको त्यो समितिले आमसंचार विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक र विज्ञापन नियमन सम्बन्धी विधेयक बनाई सरकारलाई बुझएको थियो ।

आमसंचार विधेयक प्रेस सम्बन्धी छाता ऐन हो । प्रेस काउन्सिल, गोरखापत्र संस्थान र राष्ट्रिय समाचार समिति सम्बन्धी विधेयकको मस्यौदा लेखन अन्तिम अवस्थामा पुगेर रोकियो । संचार मन्त्रालयको तत्कालीन प्रशासनिक नेतृत्व पूर्वाग्रही भएकोले त्यो विधेयकको मस्यौदा कार्य सम्पन्न हुन सकेन ।

समितिले मस्यौदा गरेको आमसंचार विधेयकमा आमसंचार प्राधिकरण, पत्रपत्रिका, प्रसारण, अनलाइन, श्रमजीवी र आमसंचार प्रशिक्षण प्रतिष्ठान सम्बन्धी व्यवस्था छ । आमसंचार प्राधिकरण संचार सम्बन्धी नियामक निकाय र यसका अध्यक्ष र सदस्यहरूको छनोट सभामुख संयोजक भएको समितिले गर्नेछ । हालको छापाखाना तथा प्रकाशन सम्बन्धी ऐनलाई विस्थापित गर्न पत्रपत्रिका सम्बन्धी व्यवस्था गर्न प्रस्ताव भएको छ । छापाखाना तथा प्रकाशन ऐन भारतीय मुद्रण तथा प्रकाशन ऐनको फोटोकपी हो । भारतीय मुद्रण तथा प्रकाशन ऐन बेलायती उपनिवेशवादी सोचबाट बनेको थियो ।

प्रसारण सम्बन्धी व्यवस्थामा प्रसारण माध्यमलाई सार्वजनिक, निजी र सामुदायिकमा विभाजन गरिएको छ । सामुदायिक रेडियो समुदाय केन्द्रित हुनुपर्ने र नेटवर्किङ विधिबाट प्रसारण गर्न नपाउने व्यवस्था छ । सामुदायिक रेडियोका संचारकर्मीहरूको क्षमता अभिवृद्धि र वृत्ति–विकासका लागि आमसंचार प्रतिष्ठान स्थापना गर्नुपर्ने व्यवस्था छ । आमसंचार प्रतिष्ठान स्थापना हुँदा श्रमजीवी पत्रकारहरूको समस्या समाधान गर्न सहयोग पुग्छ । अनलाइन सम्बन्धी व्यवस्थाले अनलाइन पत्रिकालाई नियमन गरेको छ ।

आमसंचार नीति कार्यान्वयन उच्चस्तरीय समितिले मस्यौदा गरेको आमसंचार विधेयकमा आमसंचार प्रतिष्ठानमा विदेशीलाई काम गर्न प्रतिबन्ध लगाइएको छ । २५ प्रतिशतभन्दा बढी विदेशी लगानी हुन नहुने र आमसंचारमाध्यमले ‘क्लिन फिड’ कार्यान्वयन गर्नुपर्ने व्यवस्था पनि छ । पत्रपत्रिकाको अभिलेखीकरण मात्र हुनुपर्ने व्यवस्था पनि छ । समग्रतामा, समितिले मस्यौदा गरेको आमसंचार ऐनले अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, समानुपातिक समावेशी सिद्धान्त र राष्ट्रिय स्वार्थलाई सर्वोपरि मानेको छ । आमसंचार सम्बन्धी संस्थाहरूमा योग्य व्यक्ति निष्पक्ष रूपमा छनोट गर्न सभामुख संयोजक भएको समिति बन्नुपर्ने प्रस्ताव गरिएको हो । राष्ट्रिय हितको संरक्षण गर्न क्लिन फिड, विदेशी लगानीको सीमा तोक्ने र विदेशी कामदारलाई ढोका बन्द गरिएको हो ।

पत्रकार महासंघले पनि आमसंचार विधेयक सूचना तथा संचार प्रविधि मन्त्रालयमा बुझएको छ, जुन राष्ट्रिय आमसंचार कार्यान्वयन उच्चस्तरीय समितिले मस्यौदा गरेको विधेयक भन्दा धेरै फरक छैन । विदेशी कामदारको सम्बन्धमा मौन हुनु महासंघको विधेयकको फरकपन हो । श्रमजीवी पत्रकारहरूको पक्षमा उभिनुपर्ने महासंघ विदेशी कामदारबारे मौन बस्नु आफैंमा खतरनाक छ । विदेशी कामदारको प्रवेशबाट नेपाली पत्रकारहरूको रोजीरोटी खोसिने खतरा मात्र नभई विदेशी विचार प्रोत्साहित भएर राष्ट्रिय स्वार्थ कमजोर हुने र अन्ततः हाम्रो सार्वभौमसत्तामाथि धक्का लाग्ने जोखिम बढ्छ । यस्तो गम्भीर विषयमा पत्रकार महासंघको मौनता निकै सन्दिग्ध लाग्छ ।

आमसंचार ऐनबाट आमसंचार प्राधिकरण, आमसंचार प्रतिष्ठान र न्यूनतम पारिश्रमिक समिति जस्ता संस्था जन्मिनेछन् । ती संस्थाहरू स्वायत्त र बलियो हुनु आवश्यक छ । स्वायत्त र बलियो नभए ती संस्थाले कुनै परिणाम दिन सक्ने छैनन् । अपेक्षित परिणाम दिने संस्थाहरूले मात्र राष्ट्रिय स्वार्थमा योगदान दिन सक्छन् । राष्ट्रको फाइदा सोच्ने कर्मचारी न्यून संख्यामा भएकोले यसबारे सांसदहरू बढी गम्भीर हुनुपर्ने देखिन्छ ।

comments powered by Disqus

रमझम