१३-१९ साउन २०७५ | 29 Jul - 4 Aug 2018

‘हिजो राति डा. गिरीले राजा भेट्यो’

Share:
  
- भैरव रिसाल
त्यो दिन सेनाका जवानले भनेछन्, ‘बाजे, थाहा पायौ ? हिजो राति डा. तुलसी गिरीले सरकारको दर्शन गरे नि !’

हिमाल आर्काइभ
डा. तुलसी गिरी ।
“हिजो राति डा. गिरीले राजा भेट्यो” सूर्यप्रसाद उपाध्यायले भने, “त्यसो भन्ने मान्छे सरकारी गुप्तचर थियो ।”

गुप्तचर विभाग गृहमन्त्री मातहत थियो भने उपाध्याय गृह र कानूनमन्त्री थिए । प्रधानमन्त्री थिए, विश्वेश्वरप्रसाद कोइराला । डा. तुलसी गिरीले २०१७ भदौ ३० गते नै परराष्ट्रमन्त्री पदबाट राजीनामा दिएका थिए, ‘सरकारले जति काम गर्न सक्थ्यो त्यति गरेन’ भनेर ।

राजनीतिको अन्तर्यमा अनिष्टका अनेक शंका–उपशंका उब्जिसकेका थिए । राजा महेन्द्रले संसदीय पद्धति विरुद्ध केही गर्दैछन् भन्ने गाइँगुइँ कूटनीतिक क्षेत्रमा थियो । डा. गिरीले सरकारको काम–कारबाहीप्रति असन्तुष्टि देखाई राजीनामा दिनु र गोप्य रूपमा राजालाई भेट्नु आँधीबेरी आउनुअघि आकाशमा देखिएका अनिष्ट जस्तै थिए । नभन्दै राजदरबारमा कोइराला सरकार ढाल्ने खिचडी पाक्दै रहेछ ।

सूचनाको साँचो

राजदरबारले गर्ने सरकार विरुद्धको षड्यन्त्र स्वयं सरकारलाई नै थाहा नहुने रहेछ । डा. गिरीले राजालाई भेटेको त्यो सूचनाले सरकारको आँखा खुल्न लागेछ । उपाध्याय भन्दैथिए, “त्यो पाँच शब्दको सूचनाले धेरै कुराको संकेत दियो ।”

गुप्तचरको पोशाक बेढंगको हुन्थ्यो– धोतीमाथि कमिज र कोट, कोटमाथि उपर्ना, टाउकोमा टोपी, बगलीभरि पशुपतिनाथको चन्दन र फूल–प्रसाद ।

ती गुप्तचर सधैंजसो बिहान पशुपतिबाट टीका र फूल–प्रसाद लिई राजदरबारको पश्चिम ढोकामा गई सेनाका अफिसरदेखि जवानसम्मलाई प्रसाद दिने, टीका लाइदिने गर्थे । सानादेखि ठूलासम्मलाई आशीर्वाद पनि दिन्थे, ठूलो स्वरमा भट्याईभट्याई । क्षण–क्षणमा उनले सिपाहीहरूसँग विना सिलसिला, विना प्रसङ्ग र बेतुकका कुरा पनि गर्थे । यदाकदा हल्का खालका अपशब्द पनि प्रयोग गर्ने बानी थियो तिनको । सेनाका जवानहरूलाई मनोरञ्जन दिई दरबारका कुरा थाहा पाउनु उनको ड्यूटी रहेछ । त्यो दिन उनलाई सेनाका जवानले भनेछन्, ‘बाजे, थाहा पायौ ? हिजो राति डा. तुलसी गिरीले सरकारको दर्शन गरे नि !’

तिनै गुप्तचरले गृहमन्त्रीलाई यो सूचना दिएका रहेछन् । वास्तवमा सरकारका लागि त्यो सानो सूचना ठूलो सूचनाको ढोका खोल्ने साँचो थियो । गुप्तचरी विधिमा त्यस्तै छोटा वाक्यले अरू धेरै सूचना खोज्न ढोका खोलिदिन्छ ।

राजालाई भेट गर्दा को को थिए, या एक्लै थिए, कतिबेर कुरा गरे, फर्कंदा अनुहार (प्रसन्न वा खिन्न) कस्तो थियो– यस्ता सूचनाले धेरै संकेत गर्छ । गुप्तचरीमा विस्तृत कुरा पत्ता लगाउन एकभन्दा बढी स्रोत परिचालन गर्नुपर्ने भन्दै सूर्यबाबुले गुप्तचर प्रणालीको विस्तृत सूचना नै दिए । उनी निकै सहयोगी थिए, हामी पत्रकारका लागि ।

गिरी र थापा फकिएछन्

त्यतिबेला नेपाली कांग्रेसमा विश्वेश्वरप्रसाद, सुवर्णशमशेर, गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, कृष्णप्रसाद भट्टराई, डा. तुलसी गिरी, विश्वबन्धु थापा, श्रीभद्र शर्मा, महेन्द्रनारायण निधि, परशुनारायण चौधरी लगायत नेताहरू आ–आफ्नोपनका लागि महŒवपूर्ण मानिन्थे । यीमध्ये अरूलाई आफ्नो पक्षमा ल्याउन नसक्ने देखेपछि महेन्द्रले डा. गिरी र थापाको मनपेट बुझ्ी जाल हानेछन् । गिरीले पछिसम्म साथ दिने कुरामा ढुक्क हुन नसकेपछि गिरीको अग्निपरीक्षा गर्न मन्त्रीबाट राजीनामा गर्न पनि भनेछन् । शायद पछि प्रधानमन्त्री बनाउने सुर्केनी पनि हाले होलान् । प्रधानमन्त्री नै हुने लोभमा डा. गिरीले कोइराला सरकारको परराष्ट्रमन्त्री पदबाट राजीनामा गरेको अनुमान गरियो ।

विश्वबन्धु थापा प्रतिनिधिसभामा नेपाली कांग्रेसका ‘चीफ ह्विप’ नै थिए । उनी अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको १५औं अधिवेशनमा भाग लिंदै थिए, २०१७ असोज १५ देखि । यता, राजाको पुस १ को ‘कु’ पछि डा. गिरी पनि थुनिएका थिए, जो ५ पुसमा छुटे । त्यो काण्डको पक्राउपछि छुट्नेमा उनी पहिलो हुन् । ७ पुसमा अमेरिकाबाट फर्कंदै गरेका विश्वबन्धु त्रिभुवन विमानस्थलमै पक्राउ परी केही घण्टामै छुटे । असोजदेखि नेपालमा नभएका विश्वबन्धुसँग दरबारले शायद सम्पर्क गर्‍यो र उनी नेपाल फर्केका हुन सक्छन् । यद्यपि विश्वबन्धुले मुख नखोली यो मुद्दा टुङ्गिदैन ।

राजा महेन्द्रले २०१७ पुस १२ गते १० सदस्यीय मन्त्रिपरिषद् बनाए, जसमा डा. गिरी परराष्ट्र, रक्षा, नहर, निर्माण तथा संचार, विद्युत् तथा राजदरबार र विश्वबन्धु गृह, विकास र स्थानीय स्वायत्त शासनमन्त्री भए । पछि डा. गिरी मन्त्रिपरिषद्का उपाध्यक्ष, अध्यक्षमा र विश्वबन्धु पनि उपाध्यक्षमा बढुवा भए ।

डायरी पाउने भए !

‘डा. गिरीले राजा भेटेको’ गुप्तचरको सूचनापछि गृहमन्त्री उपाध्यायले के गरे भन्ने उनको डायरीमा हुनुपर्ने हो । उपाध्याय पक्कै पनि डायरी लेख्थे होलान्, जो प्राप्त छैन । त्यस्ता व्यक्तिका परिवारले डायरी प्रकाशित गर्ने चलन बसेको छैन, हामीकहाँ । त्यसकारण इतिहासमा पर्दापछाडि के के घटना–परिघटना भए भन्ने हामीलाई थाहा हुँदैन । उक्त गुप्तचरको सूचनापछि पनि के भयो भन्ने अन्धकारमा छ ।

गृहमन्त्रीले पत्रकारलाई कति विश्वासमा लिन्थे, हामी कति विश्वासपात्र थियौं, यसको राम्रो उदाहरण हो माथिको घटना । गुप्तचरीय शास्त्र र संहिताको दुनियाँ गम्भीर एवं रहस्यमयी रहेछ भन्ने सूर्यबाबुले हामीलाई बुझए ।

comments powered by Disqus

रमझम