पछिल्लो समय हिमाली क्षेत्रमा लामखुट्टे उक्लिएसँगै औलो पनि पुगेको छ । मुगुको खत्याड गाउँपालिका ८ र १० वडाका गाउँहरूमा मात्रै एक वर्षमा १४४ जना औलोका बिरामी देखिएका छन् । यही असार महीनामा मात्रै यहाँ ५४ जनामा औलोको संक्रमण पाइयो । योसँगै हिमाली जिल्ला मुगु अन्य जिल्लाको तुलनामा औलोको उच्च जोखिममा रहेको सेभ द चिल्ड्रेनका एन्टोमोलोजिस्ट रोहित शाह बताउँछन् ।
“बिरामीमा ज्वरो आउने, टाउको दुख्ने, वाक्वाकी हुने जस्ता लक्षण देखिएपछि रगत जाँच गर्दा औलोको संक्रमण भएको पाइयो”, प्रभावित क्षेत्रमा खटिएकी सुकाढिक स्वास्थ्य चौकीकी अनमी लीला बुढा बताउँछिन् । “एक हप्तादेखि कामज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने समस्याले थला परेकी थिएँ, घरमै आएका डाक्टरले जाँच्दा मलेरिया (औलो) हो भनेका छन्” खत्याड ८ रिगाकी १४ वर्षीया सोबिना उपाध्या भन्छिन्, “औषधि खाइरहेकी छु ।”
झूल वितरण
गर्मीयाममा मात्र होइन, असोज र कात्तिक महीनामा पनि औलोको संक्रमण पाइएको छ । गत वर्ष असोजमा रिगामा मात्रै २९ जना र कात्तिकमा ५१ जनामा औलोको संक्रमण पाइएको थियो । औलोका कारण कसैको ज्यान गएको भने अहिलेसम्म थाहा भएको छैन ।
उच्च हिमाली जिल्ला मुगुको विकट गाउँमा औलोको प्रकोप बढेपछि स्वास्थ्य विभाग, क्षेत्रीय स्वास्थ्य निर्देशनालय, सेभ द चिल्डे«न, जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय स्वास्थ्यकर्मी सहित १५ जनाको विशेषज्ञ टोली गएको असार अन्तिम साता रिगा, आम, सुकाढिक र ठाम्लेक गाउँ पुगेको थियो । १० दिनसम्म गाउँमै रहेको टोलीले बिरामीको जाँच, रगत परीक्षण गर्नुका साथै रोगबाट बच्ने उपाय समेत सिकाएको थियो ।
टोलीले ८ र १० वडाका औलो प्रभावित गाउँ रिगा, आम, सुकाढिक, ठाम्लेक र ह्याङ्लुमा दुई हजार कीटनाशक झुल निःशुल्क वितरण गरेको छ ।
बालबालिका प्रभावित
मुगु सदरमुकाम गमगढीदेखि पैदल दुई दिनको दूरीमा रहेको रिगामा औलोबाट १५ वर्ष मुनिका बालबालिका बढी प्रभावित भएका छन् । यस क्षेत्रमा खटिएको विशेषज्ञ टोलीका अनुसार एक वर्षमा भेटिएका १४४ जना संक्रमितमध्ये ८५ जना १५ वर्ष मुनिका छन् ।
स्वास्थ्य चौकी सुकाढिककी अनमी लीला बुढाका अनुसार धेरैजसो बालबालिकामा संक्रमण दोहोरिएको पाइएको छ । उनका अनुसार दुर्गम र विपन्न यो गाउँका बालबालिका पूरै जीउ ढाक्ने कपडा नलगाउने, हिमाली जिल्ला भएकाले झ्ुल प्रयोग नगर्ने, तीतो औषधि खान बालबालिकाले नमानेर बीचमै छोड्ने गर्दा पनि औलोको संक्रमण दोहोरिएको हुन सक्छ ।
देशमा औलो उन्मूलनको तयारी भइरहेका बेला खत्याडको ८ नम्बर वडामा मात्र गएको वर्ष ८४ र यस वर्षको असारसम्म ५४ जनामा औलो रोग देखापरेको छ । “यो ठूलो चुनौती थपिएको छ, हाम्रा लागि औलो नयाँ रोग हो” वडाध्यक्ष रामबहादुर रावत भन्छन् । स्थिति कस्तो छ भने अधिकांश स्थानीयलाई औलोबारे थाहा छैन । खत्याडमा औलोलाई पाला, बेले वा चाउथे ज्वरो भनिन्छ । गएको वर्ष भदौमा पालाज्वरोले सात दिनसम्म थला परपेछि जचाउँदा औलो लागेको थाहा भएको खत्याड–१० रिगाका नवराज जैसी बताउँछन् ।
सरकारले सन् २०२२ सम्म नेपालमा औलो रोगका बिरामीको संख्या शून्यमा झर्ने र सन् २०२६ मा नेपालमा औलो उन्मूलन भएको घोषणा गर्ने तयारी गरे पनि मुगुमा देखिएको औलोले चुनौती थपिदिएको प्याकुरेलको भनाइ छ ।
झुलको प्रयोग नगर्ने, घर वरपर सफाइ नगर्ने, १४ दिन खानुपर्ने औषधिको पूरै मात्रा नखाने जस्ता कारणले पनि औलोको संक्रमण बढेको एन्टोमोलोजिस्ट शाहको भनाइ छ ।
कसरी भित्रियो औलो
तराई वा भारतमा लामो समय बसेर आएकाहरूबाट शुरूमा औलो भित्रिएको हुनसक्ने विशेषज्ञ टोलीको अनुमान छ । यद्यपि औलो रोगको संक्रमण गराउने लामखुट्टे नै मुगुमा पाइन थालेपछि त्यो मात्रै अब औलोको कारण रहेन ।
६ वर्ष पहिले खत्याडकै दुई जनामा औलोको संक्रमण पहिलो पटक पाइएको थियो । उनीहरूको सही उपचार नहुँदा र रोग नियन्त्रणका लागि सावधानी नअपनाउँदा २०७४ साउनमा पुनः खत्याडमा औलो देखिएको एन्टोमोलोजिस्ट शाह बताउँछन् । उनका अनुसार, एक पटक औलोबाट संक्रमित बिरामीको राम्रोसँग उपचार नहुँदा केही वर्षपछि पुनः दोहोरिन सक्छ र अर्को व्यक्तिमा सर्ने सम्भावना पनि हुन्छ । औलोका परजीवी मानिसको शरीरमा सुषुप्तावस्थामा लामो समय रहन सक्ने र केही वर्षपछि फेरि सक्रिय हुने उनी बताउँछन् ।