देशभित्रको उत्पादनले नपुगेपछि दैनिक औसत रु.८ करोडको चामल आयात भइरहेको भन्सार विभागको तथ्यांक छ । कुल कृषि उत्पादनको पाँच भागको करीब एक भाग ओगट्ने धानको मात्र होइन, सबै अन्नबाली, तरकारी, फलफूल लगायत कृषिजन्य उपजको उत्पादकत्व स्थिर जस्तै छ, सरकारले कृषि क्षेत्रमा ठूलो रकम खन्याए पनि (हे. तथ्यांक) ।
अन्य क्षेत्रको तुलनामा कृषिको वृद्धि खुम्चँदा कुल गार्हस्थ्य उत्पादनमा यसको योगदान २७.५९ प्रतिशतमा झ्रेको छ, जुन एक दशकअघिसम्म झ्ण्डै एकतिहाइ थियो । लगानी अनुसार उत्पादकत्व नबढ्नुले सरकारी खर्च बालुवामा पानी भइरहेको देखाउँछ । पूर्व कृषि सचिव डा. हरि दाहाल सरकारी लगानीले उत्पादकत्व वृद्धि नभई उत्पादकत्वलाई कायम राख्न मात्र योगदान गरेको बताउँछन् । उनी कृषिमा उत्पादकत्व बढाउन आमूल सुधार आवश्यक देख्छन् । अर्का कृषि विज्ञ डा. कृष्ण पौडेल कृषिको लगानी र खर्च वास्तविक किसानकहाँ पुग्दै नपुगेको बताउँदै भन्छन्, “अनुत्पादक काममा भइरहेको खर्चले उत्पादन कसरी बढ्छ ?”
उत्पादकत्व बढाउन सरकारी ढुकुटीबाट ठूलो रकम खन्याइए पनि मकै, कोदो, फापर, गहुँ, जौ जस्ता प्रमुख अन्नबाली तथा फलफूल, तेलहन, दलहनमा उत्पादकत्व खासै बढेको छैन । बरु, माग बढेर आयात बढिरहेको छ । भारत लगायतका देशबाट वर्षेनि रु.२ खर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात हुन थालेको छ । गत आवको जेठसम्ममा रु.४० अर्बभन्दा बढीको अन्न र रु.१० अर्बभन्दा बढीको तरकारी सहित रु.१ खर्ब ८५ अर्बको कृषिजन्य वस्तु आयात भयो ।
सरकार र दातृ संस्थाहरूले रासायनिक मल, उन्नत बीउबिजन, सिंचाइ, खेती पद्धति आदिमा ठूलो रकम खन्याए पनि कृषि उत्पादकत्वमा अढाइ दशक अगाडिको स्थितिबाट फड्को मारेको भन्न सकिने अवस्था छैन । सन् १९९० मा प्रतिहेक्टर २४०० किलो रहेको धानको उत्पादकत्व बल्लतल्ल १००० किलोले बढेको छ । मकैको उत्पादकत्वमा पनि अढाइ दशकमा १६०० बाट २६०० पुगेको छ । कोदो र जौको उत्पादकत्व भने २५ वर्ष अगाडिकै अवस्थामा छ । कतिपय विज्ञ त सरकारले औसतभन्दा राम्रो उत्पादन हुने स्थानको मात्र तथ्यांकको आधारमा उत्पादकत्व देखाएको बताउँछन् ।
मासु, दूध, अण्डा र माछाको उत्पादन सामान्य बढे पनि लगानी अनुसारको उत्पादकत्व छैन । सात वर्षको अवधिमा कृषि क्षेत्रको लगानी तीन गुणाभन्दा धेरै बढेको छ । आ.व. २०६८–६९ मा कृषि (वन, मत्स्यपालन र शिकार समेत) क्षेत्रमा रु.२६ अर्ब ६० करोड खर्च भएकोमा आ.व. २०७४–७५ को आँकडा रु.८१ अर्ब ३२ करोड छ । कृषि उत्पादन बढाउनमा भन्दा प्रशासनिक र अन्य खर्च बढी भएर लगानी अनुसार प्रतिफल नआएको आलोचकहरू बताउँछन् । कृषि विज्ञ डा. पौडेल कृषि बजेटको तीन चौथाइ रकम तलब, भत्ता र पहुँचवालालाई अनुदानमा खर्च भइरहेको बताउँछन् । “बाँकी रकम छरछारमा सकिन्छ” उनी भन्छन्, “यो स्थितिमा कृषि उत्पादन बढ्ने आशा गर्नु नै बेकार हो ।”
व्यर्थको अनुदान
उत्पादन वृद्धि गर्न सरकारले विभिन्न परियोजना मार्फत कृषकहरूलाई नगद र प्राविधिक सहयोग गरिरहेको छ । यसमा अन्तर्राष्ट्रिय विकास साझेदारहरूको पनि साथ छ । तर, अनुदानबाट कृषि उत्पादन वृद्धिमा योगदान नपुगेको जानकारहरूको मत छ । अनुदानको ठूलो हिस्सा पहुँचवाला र राजनीतिक कार्यकर्तालाई बाँड्दा यो अवस्था आएको उनीहरू बताउँछन् । डा. पौडेल वास्तविक किसानले छिटपुट मात्र सरकारी अनुदान भेट्टाएको बताउँछन् ।
महालेखा परीक्षकको कार्यालयले पनि अनुदान र उत्पादन वृद्धिबीच सहसम्बन्ध हुनुपर्नेमा नभएको पछिल्लो वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ । आ.व. २०७३–७४ मा कृषि विकास मन्त्रालयले रु.१० अर्ब ७८ करोड अनुदान वितरण गरेको थियो । आ.व. २०६९–७० मा यस्तो अनुदान रु.४ अर्ब ८९ अर्ब मात्र थियो । पाँच वर्षमा अनुदान रकम १२० प्रतिशतले बढे पनि खाद्यान्न, फलफूल र तरकारी उत्पादनमा क्रमशः ६.९४ प्रतिशत, ३.८३ र २०.५७ प्रतिशत मात्र बढेको छ । यस बाहेक, राष्ट्रिय–अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाहरूले समेत कृषिमा लगानी गर्दै आएका छन् ।
सरकारले कृषि र पशुपालन प्रोत्साहनका लागि हरेक वर्ष विभिन्न सुविधा घोषणा गर्दै आएको छ । यस्ता दर्जनभन्दा बढी कार्यक्रम सञ्चालनमा छन् । तर, उन्नत खेतीका लागि मलखाद र बीउबिजनदेखि ट्र्याक्टर लगायत कृषि औजारसम्मका खरीदमा खर्च भइरहेको अनुदानको प्रतिफल नगन्य छ । कृषिमा त्यस्ता क्षेत्र कमै छन् जसमा सरकारी अनुदान र अन्य किसिमका सुविधाको घोषणा नभएको होओस् । तर, यस्ता अनुदान र सुविधा वास्तविक किसानले पाउनै नसकेको तथ्य लुकेको छैन । दाताको सहयोगमा सञ्चालित कृषिका परियोजनाहरूको ठूलो रकम परामर्श, प्रशासनिक, सवारी साधन लगायतका शीर्षकमै खर्च हुन्छ । पछिल्लो सात वर्षमा वैदेशिक सहायतामा सञ्चालित कृषि उत्पादन बढाउने सात वटा परियोजनामा रु.१५ अर्ब ६८ करोडभन्दा बढी खर्च भएको छ । करोडौंका यस्ता आयोजना पाउन लेख्नुपर्ने प्रस्ताव र प्रक्रिया साना किसानले भेउ नै नपाउने गरिको जटिल छ । व्यावसायिक कृषिका नाममा आउने यस्तो अनुदान राजनीतिक कार्यकर्ता र टाठाबाठाका लागि दुहुनो गाई बनिरहेका छन् ।
कृषि अनुदानमा खरीद गरिएको ट्रयाक्टर किसानका खेतमा नभई अन्य व्यावसायिक काममा प्रयोग हुने गरेको छ । कृषि विकास मन्त्रालयले कागजमा मात्र खुलेका र उत्पादनको अत्तोपत्तो नभएका प्रांगारिक मल कारखानालाई समेत अनुदान दिएको समाचार नयाँ रहेन । राजनीतिक–प्रशासनिक पहुँच र मिलेमतोमा अनुदान दुरुपयोग हुँदै आएको छ । कृषिविद् पौडेल सरकारको नीति नै किसान प्रवद्र्धन गर्ने नदेखिएको बताउँछन् । उनी भन्छन्, “उत्पादन वृद्धि गर्ने यौटै परियोजना छैनन्, किसानका नाममा बजेट बर्बाद भइरहेको छ ।”
राष्ट्रिय कृषक समूह महासंघ, नेपालका अध्यक्ष उद्धव अधिकारी कृषिका परियोजनाहरूमा गरिएको खर्च तलब भत्ता, प्रशासनिक खर्च र छरछारमै सकिंदा कृषकसम्म लाभ नपुगेको बताउँछन् । उनी यस्ता परियोजनाका केही रकम पहुँचवाला टाठाबाठा र राजनीतिक कार्यकर्ताले भेट्टाए पनि वास्तविक किसानलाई सरकारी अनुदान र सहयोग बारे थाहै नभएको तर्क गर्छन् । उनी भन्छन्, “व्यावसायिक कृषिका नाममा पहुँचवालाहरूलाई अनुदान दिंदा कमिशन उठाउन पनि सजिलो हुने भएको हुँदा सरकारी अधिकारीहरू त्यतै ध्यान दिन्छन् ।”
ब्यांक तथा वित्तीय संस्थाले पनि कृषि कर्जा बढाइरहेको उल्लेख गर्दै आएका छन् (हे. ग्राफ) । गत एक वर्षको अवधिमा मात्रै कृषि क्षेत्रको कर्जा झ्ण्डै ५० प्रतिशतले बढेको छ । आ.व. २०७३–७४ को जेठसम्म रु.८८ अर्ब ७३ करोड कृषि क्षेत्रमा ऋण प्रवाह भएकोमा आ.व. २०७४–७५ को जेठसम्म कृषि क्षेत्रमा भएको ऋण लगानी रकम रु.१ खर्ब ३३ अर्ब पुगेको नेपाल राष्ट्र ब्यांकको तथ्यांक छ ।
पछिल्ला आठ वर्षमा ब्यांक तथा वित्तीय संस्थाको कृषि क्षेत्रको कर्जा लगानी वर्षेनि औसत ३० प्रतिशतको दरमा बढिरहेको छ । यो रकम कसले पाए र त्यसले कृषि उत्पादन बढाउन कस्तो सहयोग पुर्यायो भन्ने प्रश्न चाहिं अनुत्तरित नै छ । एक ब्यांकर भन्छन्, “कृषि शीर्षकमा देखाइएको ऋण किसानले पाएको भए पो उत्पादन बढ्थ्यो ।”