१३-१९ साउन २०७५ | 29 Jul - 4 Aug 2018

हरित छत

Share:
  

हरियाली नासिएर शहरी क्षेत्र ‘अर्बन हिट आइल्याण्ड’ का रुपमा विकसित भइरहेका बेला हरित छतले धेरै हदसम्म राहत दिन सक्छ ।

हरित छतको सामान्य अर्थ घरको छतमा वनस्पतिको हरियाली विकास गर्नु हो । हरित छत प्रणालीका लागि उच्चस्तरको वाटरप्रुफिङ तह, जल निकासको व्यवस्था, छान्ने प्रणाली र हलुका खालका वनस्पतिको आवश्यकता हुन्छ । आवासीय घरमा मात्रै नभएर ठूला व्यावसायिक संरचनामा हरित छत बनाउन सकिन्छ ।

गर्मीका बेला घर शीतल बनाउन मात्रै होइन जाडो याममा घरभित्र धेरै चिसो हुन नदिनमा पनि हरित छत प्रभावकारी हुन्छ । सन् २००५ मा क्यानडाको युनिभर्सिटी अफ टोरन्टोले गरेको अनुसन्धानले हरित छतले ऊर्जा उपभोगमा पनि व्यापक कमी ल्याएको पाइएको थियो । हरित छतले घर तातो वा चिसो पार्दा खपत हुने विद्युत्मा ५० प्रतिशतसम्म कमी ल्याएको उक्त अनुसन्धानमा उल्लेख छ ।

कोष्टारिकाका हरित घर ।
शहरका अधिकांश घरहरुमा हरित छत हुने हो भने ‘अर्बन हिट आइल्याण्ड इफेक्ट’ मा पनि व्यापक कमी आउने अनुसन्धानले देखाएको छ । अमेरिकाको सिकागोस्थित सिटी हलमा हरित छत प्रणाली जडान गर्दा गर्मीका दिनमा तापक्रम ४.४ डिग्री सेल्सियससम्म कम भएको पाइएको छ । सिकागोमा हरित छत प्रणाली स्थापनाका लागि सहुलियत समेत दिने गरिएको छ । एक अध्ययनका अनुसार शहरका सबै घरहरुमा हरित छत निर्माण गर्दा शहरी क्षेत्रको तापक्रम ७ डिग्री सेल्सियससम्म कमी आउने जनाइएको छ ।

ग्रिन रुफ एसोसिएसनका अनुसार वर्षाको पानीबाट शहरमा आउने बाढीको समस्या पनि यसबाट न्यूनीकरण हुन्छ । किनभने वर्षाको पानी छतमा रहेको बगैंचाले सोस्छ र वाष्पीकरण भएर पुनः वायुमण्डलमा पुग्छ । त्यसैगरी छतबाट बग्ने पानीको गति पनि यसले कम गर्न सहयोग गर्छ ।

हरित छतले पारिस्थितिकीय लाभ पनि मिल्छ । हरित छतमा रहेका वनस्पतिले माहुरी, पुतली जस्ता लाभदायक कीरा र चराहरु आकर्षित गर्छन् । त्यसैगरी हरित छतले वातावरणमा अक्सिजनको मात्रा बढाउने र कार्वनडाइअक्साइड र अन्य प्रदूषण सोस्ने हुँदा यसले मानव स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने क्यानडामा गरिएको एक अध्ययनबाट देखिएको छ । हरित छतले आवाजको प्रदूषण कम गर्ने, आगलागी नियन्त्रणमा सहयोग पुर्‍याउने र इलेक्ट्रोम्याग्नेटिक रेडियशन न्यूनीकरणमा पनि सहयोग पुर्‍याउँछ । त्यस्तै, छतमै तरकारी फलाउँदा र फूल लगाउँदा घरको सुन्दरतामा समेत वृद्धि हुन्छ ।

भारतको केन्द्रीय खनन् एवम् अनुसन्धान संस्थानको अध्ययनमा हरित छतबाट शहरमा रेडिएशन र प्रदूषण कम हुने पाइएको उल्लेख छ । भारतका मुम्बई, कोयम्बटूर, चेन्नई र बेंगलुरु जस्ता स्थानमा हरियो छतको अवधारणा शुरु भइसकेको छ ।

जर्मनीको ड्यूसेलडर्फ शहरका अधिकांश घरहरुमा हरित छत बनाइएको छ । शहरलाई हरित छतका रुपमा विकसित गरेकोमा यो शहरले अन्तर्राष्ट्रिय ग्रीन रुफ एसोसिएसनको पुरस्कार समेत प्राप्त गरेको छ । फ्रान्समा व्यावसायिक क्षेत्रका घरहरुमा हरित छत प्रणाली वा सौर्य ऊर्जा प्रणाली मध्ये एकलाई अनिवार्य गरिएको छ ।

अमेरिकी संस्था नासाका अनुसार स्क्यान्डिनेभियाबाट शुरु भएको हरित छतको अवधारणा सन् १९६० मा जर्मनीमा पनि शुरु गरियो । अहिले जर्मनीको १० प्रतिशतभन्दा बढी घरहरुमा हरित छत छन् । त्यसैगरी, फ्रान्स, डेनमार्क, स्विट्जरल्याण्ड जस्ता देशहरुमा पनि हरित छतलाई प्रोत्साहन गरिएको छ ।

comments powered by Disqus

रमझम