तराईका बासिन्दाको निम्ति लालीगुराँस दुर्लभ भए झैं गुराँसबारे अध्ययन अनुसन्धान गर्नेका निम्ति नेपालमा पाइने सबै ३३ प्रजाति देख्ने अवसर हम्मेसी जुर्दैन । त्यसमा पनि नेपालबाहेक अन्त कतै नपाइने रैथाने गुराँसका प्रजाति अवलोकन गर्ने अवसर निश्चित अनुसन्धानकर्ताले मात्रै पाएका छन् । ती दुई प्रजातिमध्ये एकको वनस्पतीय नाम ‘रोडोडेन्ड्रन ल्वोन्डेसी’ हो । यो प्रजाति मध्य तथा पश्चिम नेपालका केही जिल्लामा सीमित मात्रामा पाइन्छ । यसअघि बोट मात्रै देखेको पंक्तिकारले गएको जेठमा म्याग्दी जिल्लामा फुलेकै अवस्थामा यो प्रजाति हेर्ने अवसर पायो ।
म्याग्दी जिल्लास्थित मिरिष्टी खोला हाइड्रो–इलेक्ट्रिक प्रोजेक्टले त्यस क्षेत्रको जैविक विविधताबारे एउटा टोली बनाएर अनुसन्धान गर्दैछ । यसै सिलसिलामा पंक्तिकार सहित कुलप्रसाद लिम्बू (विराटनगर) र राजेन्द्र बसौला (पोखरा) को टोली जेठको अन्तिम साता मिरिष्टी खोलाको किनारैकिनार अन्नपूर्ण प्रथमको आधारशिविर नजिक पुगेको थियो ।
अस्थायी पुलबाट खोला नाघेर, ठाडो भीरको डिलैडिल वनस्पति तथा जन्तुका तस्वीर खिच्दै, नमूना संकलन गर्दै जाँदा तीन रात ओडारको बास भयो । चौथो दिन हुम खोलाको झोलुङ्गे पुलनेर ‘रोडोडेन्ड्रन ल्वोन्डेसी’ देखियो । ठूलो ढुङ्गामाथि पलाएका झारहरूसँगै यो गुराँस फुलेको देखेपछि थकान यसै हरायो । सिजन सकिएकाले होला, बोटमा दुईचार वटा मात्रै फूल थिए । सहयोगी झपेन्द्र बुदुजा पुनको सहयोगमा तस्वीर खिचियो– माइक्रो लेन्सले ।
सानो फूल, ठूला पात
मिरिष्टी खोलाको उद्गमस्थल अन्नपूर्ण प्रथम हो । यसकै एउटा हाँगो हो हुम खोला । जेठको अन्तिम साता हुम खोला किनारमा पाइएको ‘रोडोडेन्ड्रन ल्वोन्डेसी’ को बोट जमीनमाथि ४ इन्च जति उठेको थियो । काण्डको एक इन्च जति भाग जमीनमै लत्रेको थियो । पातको लम्बाइ ०.६ इन्च र चौडाइ ०.२ इन्च थियो । पातको वरिपरि धार (मार्जिन) मा करीब १ मिलिमिटर जति लम्बाइका मसिना रौं थिए । यस्तो रौं काण्डमा समेत रहेको प्रष्टै थाहा पाइन्थ्यो ।
‘रोडोडेन्ड्रन ल्वोन्डेसी’ को पूmल पातको तुलनामा निकै ठूलो हुन्छ । हल्का सेतो पहेंलो रंगको फूल ०.८ इन्च चौडासम्मको पाइयो । फूलको पछिल्तिरको पुष्पपत्र र त्यससँग जोडिएका दुई पुष्पपत्रमा प्रष्ट देखिने गाढा पहेंलो बुट्टा थियो । झ्वाट्ट हेर्दा यो फूल गुराँसकै अर्को प्रजाति ‘रोडोडेन्ड्रन लेपिडोटम्’ सँग मिल्छ । तर, दुवै प्रजातिका पात र बोटमा भने स्पष्ट भिन्नता हुन्छ । ‘रोडोडेन्ड्रन लेपिडोटम्’ को पात तथा काण्डमा रौं हुँदैन र फूल हल्का रातो हुन्छ । यसको पुङ्केसर ८ देखि १० वटासम्म हुन्छ भने ‘रोडोडेन्ड्रन ल्वोन्डेसी’ को १० वटा । यसैगरी अघिल्लोको पुङ्केसरको तल्लो भागमा बाक्लो रौं हुन्छ भने पछिल्लोको त्यही भाग चिल्लो हुन्छ ।
दुर्लभ वनस्पति
नेपालको उच्च हिमाली भेगमा पाइने धेरै वनस्पति बेलायतमा पनि उमारिएका छन् । ‘रोडोडेन्ड्रन ल्वोन्डेसी’ पनि बेलायत र स्कटल्याण्डमा आधा शताब्दी अघि नै नेपालबाट बीउ लगेर हुर्काइएको छ । अन्यत्र उमारेर हुर्काइए पनि यो प्रजाति प्राकृतिक रूपमा नेपालमा मात्र पाइने हुँदा, नेपालको इन्डेमिक अर्थात् रैथाने भनेर चिनिन्छ ।
नेपालका वनबारे अध्ययन गरेका बेलायती नागरिक जेडिए स्टेन्टनले सन् १९५४ मा माथिल्लो कालीगण्डकी क्षेत्रबाट ‘रोडोडेन्ड्रन ल्वोन्डेसी’ को बीउ बेलायत पुर्याएका हुन् । उनले अन्य वनस्पतिका बीउ पनि प्रशस्तै संकलन गरे होलान् । त्यसबारे भने अभिलेख छैन । यद्यपि सन् १९७८ मा प्रकाशित हिरोसी हारा, डब्ल्यूटी स्टर्न र एलएचजे विलियम्स सम्पादित एन इनुमरेसन अफ द फ्लावरिङ प्लान्टस् अफ नेपाल–१ अनुसार बेलायतमा ‘रोडोडेन्ड्रन ल्वोन्डेसी’ सहित नेपालका अन्य १५ प्रजातिका गुराँस रोपिएका थिए ।
नेपालबाट वनस्पतिका बीउ संकलन गरेर लैजानेमध्येका मुख्य हुन्, बेलायतका रोय लान्कास्टर । सन् १९७१ मा उनी सहितको टोलीले पूर्वी नेपालको उच्च हिमाली भेगमा तीन महीना बीउ संकलन गरेर बेलायत लगेको लान्कास्टर लिखित अ प्लान्टस्म्यान इन नेपाल (सन् १९९५) पुस्तकमा उल्लेख छ ।
‘रोडोडेन्ड्रन ल्वोन्डेसी’ केही जिल्लामा, कतैकतै मात्रै पाइने भएकाले दुर्लभ वनस्पति त हो नै, यसको विभिन्न कोणमा खिचिएको तस्वीर पनि शायदै छापिएको छ । केशवराज राजभण्डारी र मार्क एफ. वाट्सन लिखित रोडोडेन्ड्रन्स अफ नेपाल (सन् २००५) पुस्तकमा एउटा मात्र तस्वीर छापिएको छ ।
नेपाल सरकारको वन नीति २०७१ ले ‘संकटापन्न, दुर्लभ, लोपोन्मुख वनस्पति र वन्यजन्तुको स्व–स्थानीय र पर–स्थानीय संरक्षण गरिनेछ’ भनेको छ । तर, अहिलेसम्म यस्ता वनस्पतिको संरक्षण कहाँ कहाँ गरियो, जानकारी छैन । यसतर्फ वन मन्त्रालयले ध्यान दिनुपर्छ । अन्यथा, सुन्दर फूल फुल्ने नेपालको एकथरी रैथाने गुराँस हेर्न बेलायत नै पुग्नुपर्ने हुनसक्छ ।