‘स्तनपानः जीवनको आधार’ भन्ने मूल नारासहित १ अगस्ट (१६ साउन) देखि विश्व स्तनपान सप्ताह मनाइँदैछ। स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख मुकुन्दराज गौतम भन्छन्, ‘स्तनपानले बच्चाको शारीरिक र मानसिक विकास गर्न मद्दत पुर्याउँछ।’
हामीले पहिलो पल्ट स्वास्थ्य सेवा विभागमा नमूना स्तनपान कक्ष स्थापना गरेका छौं । यो वर्ष क्षेत्रीय र अञ्चल अस्पताल गरी ३० ठाउँमा स्तनपान कक्ष स्थापना गर्ने योजना छ । साथै, स्तनपानको महत्व बुझाउन ठूला अस्पतालहरूमा पम्प्लेट र पोस्टर वितरण तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूसँग अन्तरक्रिया गरिरहेका छौं ।
निजी कार्यालय तथा अस्पतालहरुमा स्तनपान कक्ष राख्न स्वास्थ्य मन्त्रालयले के गर्दैछ ?
स्तनपान कक्ष नराखे निजी अस्पतालहरूलाई स्वीकृति नै नदिने व्यवस्था ल्याउँदैछौं । अहिले सरकारी कार्यालयका महिला कर्मचारीलाई स्तनपानका लागि ९८ दिनसम्म सुत्केरी विदा दिने गरिएको छ । निजी कार्यालयलाई पनि यति दिन नै विदा दिन जिम्मेवार बनाउँदैछौं ।
स्तनपान गराउन किन जरुरी छ ?
बच्चा जन्मेदेखि दुई वर्षसम्मको अवधि शारीरिक र मानसिक विकासका लागि महत्वपूर्ण हुने भएकाले यो अवधिमा स्तनपान अति जरुरी हुन्छ । बच्चालाई ६ महीनासम्म आमाको दूध मात्र र त्यसपछि दुई वर्षसम्म स्तनपानसँगै पूरक खाना खुवाउनुपर्छ । स्तनपानले बच्चामा रोग प्रतिरोधात्मक क्षमता समेत बढाउँछ ।
स्तनपान नगराए के हुन्छ ?
स्तनपान नगराए बच्चामा झाडापखाला, कुपोषण, पुड्कोपन जस्ता स्वास्थ्य समस्या देखा पर्छन् । स्तनपान नगराए आमालाई स्तन क्यान्सर हुने सम्भावना रहन्छ । मोटोपन जस्ता समस्या पनि निम्तिन सक्छन् ।
कृत्रिम दूधको प्रयोग बढ्दा आमाको दूध खुवाउने क्रम घट्दै गएको छ । यस्तो समस्या हटाउन के योजना छ ?
कृत्रिम दूधको बिक्री–वितरण र नियमन गर्न ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुुको बिक्री–वितरण नियन्त्रण ऐन २०४९’ बनेको छ । तर, ऐन कार्यान्वयन हुनसकेको छैन । यसको कार्यान्वयनका लागि प्रदेश र स्थानीय स्तरमा पदाधिकारी नै तोकेर जिम्मेवारी दिंदैछौं ।