२०६१ सालमा स्थापना भएको जनवादी विद्यालयले २०६८ सालमा सरकारी स्वीकृति पाउँदै ‘वासु क्षितिज नमूना निम्नमाध्यमिक विद्यालय’ को नामबाट सञ्चालन हुँदै आएको छ । तर, सरकारी पाठ्यक्रम अनुसार पठनपाठन भइरहेको विद्यालयले शिक्षक अभावका साथै जीर्ण भौतिक पूर्वाधारको समस्या खेपिरहेको छ ।
भूमेस्थान गाउँपालिकास्थित यस विद्यालयमा पर्याप्त शिक्षक छैनन् । कक्षा ८ सम्म पढाइ हुने विद्यालयमा १५२ जना विद्यार्थीका लागि तीन जना मात्र स्थायी शिक्षकको दरबन्दी छ । यो दरबन्दी पनि प्रावि तहकै भएको प्रधानाध्यापक विष्णु शर्मा बताउँछन् । “प्रावि तहको दरबन्दीबाटै निमावि तह चलाउँदै आएका छौं । हामीसँग विषयगत शिक्षक छैनन्”, प्रधानाध्यापक शर्मा भन्छन्, “शिक्षकको अभाव टार्न तीन जना राहत कोटा, एक जना निजी स्रोत र एक जना स्वयंसेवक शिक्षक राखेर कक्षा चलाइरहेका छौं ।” उनका अनुसार, अहिले भएका राहत कोटा र निजी स्रोतका शिक्षक नगन्ने हो भने विद्यालयमा थप ६ जना शिक्षक चाहिन्छ ।
प्रदेश निर्माणको क्रममा रुकुम जिल्ला पूर्व र पश्चिममा बाँडिए पनि शिक्षकहरूको दरबन्दी मिलान नहुँदा समस्या भइरहेको हो । विद्यालयमा भौतिक पूर्वाधारको अवस्था समेत दयनीय छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भानदेव रोकायाले पर्याप्त शिक्षक दरबन्दी नहुँदा र भौतिक पूर्वाधार जीर्ण बन्दा पठनपाठनमा समस्या भइरहेको बताए । विद्यालयका जम्मा १० वटा कोठामध्ये ६ कोठा जीर्ण अवस्थामा छन् । उनले भने, “अर्कातिर विद्यालयमा खानेपानीको सुविधा छैन । शौचालय पनि अपुग छ ।” २०६१ देखि कक्षा ४ सम्म मात्र पढाइ हुने गरेको विद्यालय २०६८ सालमा प्रावि क्याङसीसँग गाभिएर निम्न माध्यमिक तहमा विस्तार हुँदै कक्षा ८ सम्म पठनपाठन हुन थालेको हो ।
भूमे गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका शिक्षा समितिका अध्यक्ष रामसुर बुढाले विद्यालयको समस्या समाधानका लागि गाउँपालिकाले पहल गर्ने बताउँछन् । उनका अनुसार, यो आर्थिक वर्षमा विद्यालयमा कम्प्युटर ल्याबको व्यवस्था गरी कम्प्युटर शिक्षामा जोड दिने योजना छ ।
द्वन्द्वकालमा यस विद्यालयमा कखरादेखि नै युद्धसम्बन्धी शब्दावली जोडेर सिकाइन्थ्यो । ‘क’ बाट कमरेड, ‘ख’ बाट खतरा ‘ग’ गण, ‘छ’ बाट छापामार भनेर पढ्ने विद्यार्थीलाई ‘ए’ फर आर्मी, ‘बी’ फर ब्लास्ट, ‘सी’ फर कमब्याट जस्ता शब्दबाट पढाइन्थ्यो । तर, २०६८ सालमा सरकारी स्वीकृति पाएसँगै सरकारी पाठ्यक्रम अनुसार पठनपाठन भइरहेको छ । द्वन्द्वपीडित, शहीद, बेपत्ता, घाइते लगायतका छोराछोरीहरू अन्य बालबालिका जस्तै कपुरी क, खरायो ख भनेर रमाउँदै पढ्ने गरेका छन् ।
अहिले विद्यालयमा नियमित पढाइसँगै विद्यार्थीलाई शान्ति र मेलमिलाप सम्बन्धी ज्ञान पनि दिन थालिएको प्रधानाध्यापक शर्मा बताउँछन् । उनी भन्छन्, “बाल मस्तिष्कमा सकारात्मक प्रभाव परोस् भनेर शान्ति र मेलमिलाप सम्बन्धी ज्ञानलाई प्राथमिकता दिएका हौं ।”
प्रविर ददेल, पूर्व रुकुम