बीमा ऐन २०४९ लाई विस्थापित गर्ने नयाँ प्रस्तावित ऐनमा बीमा क्षेत्रको हालको नियामक बीमा समितिलाई प्राधिकरणमा परिणत गर्ने प्रावधान छ । विधेयकको दफा १६९ ले प्राधिकरणको संरचना, सदस्य र कर्मचारीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा विनियम बनाउँदा मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्थाले प्राधिकरणको संगठन संरचना र कर्मचारी विनियमावली बनाउने अधिकार मन्त्रालय आफैंले राखेर समिति (प्रस्तावित प्राधिकरण) को स्वायत्ततामा अंकुश लगाउन खोजेको डा. बसौला बताउँछन् ।
विधेयकको दफा १७२ मा बीमा समितिको सञ्चालक समिति नयाँ ऐनअनुसार हुने उल्लेख छ । अर्थमन्त्रीले समितिको अहिलेको नेतृत्व हटाउन चलाखीपूर्वक यो प्रावधान राखेको अनुमान गरिएको छ । आर्थिक रूपमा पनि समितिलाई कस्न खोजिएको आशंका छ । विधेयकको दफा २० मा समितिको कोषमा जम्मा हुन आएको रकममध्ये वार्षिक कुल बजेटको अतिरिक्त थप ५० प्रतिशत बाहेक अन्य रकम राज्य कोषमा अनिवार्य रूपमा दाखिला गर्नुपर्ने प्रावधान छ । यो प्रावधानले बीमा क्षेत्रको नियामकको खातामा पर्याप्त रकम नहुने अवस्था ल्याउने छ । अर्थमन्त्री डा. खतिवडाले यसअघि नै बीमा समितिलाई प्यानमा दर्ता हुन अनिवार्य गरिसकेका छन् ।
प्रस्तावित ऐनले बीमा क्षेत्रलाई सबल बनाउने व्यवस्था गरेको छैन । जस्तो, बीमक संस्थाको कार्यकारी प्रमुख हुन अनुभव नचाहिने व्यवस्था विधेयकमा छ । विधेयकको दफा ५८ ले स्नातकोत्तर गरेका व्यक्तिलाई बीमा क्षेत्रको अनुभव नभए पनि प्रमुख कार्यकारी अधिकृत (सिईओ) हुने बाटो खोलिदिएको छ । यो व्यवस्थाले सञ्चालक समितिले आफूनिकटलाई बीमक कम्पनीको सिईओ बनाएर आफूअनुकूल निर्णय गराउन सक्ने जोखिम बढाउँछ । विधेयकले बीमा कम्पनीका सिईओको कार्यकाल बढीमा दुई पटक मात्रै हुने व्यवस्था नयाँ ऐन कार्यान्वयनपछि मात्र लागू हुने भनेको छ । यसले एकातिर दुई कार्यकाल पूरा गर्न लागेका सिईओहरूको चाहना पूरा गरिदिएको छ भने अर्कातिर बीमक कम्पनीहरूको आन्तरिक संस्थागत सुशासनमा प्रश्न उठाएको छ ।
बिमित (बीमा गर्ने) को अधिकार संरक्षणमा पनि प्रस्तावित ऐन चुकेको छ । यसमा बीमा कम्पनी खारेजीमा गए सरकार र नियामकले उठाउनुपर्ने सबै रकम उठाएपछि मात्र बिमितले रकम पाउने व्यवस्था छ । यो प्रावधानले बीमा कम्पनी खारेजीमा जाँदा बिमितहरूलाई तेस्रो प्राथमिकतामा राखेको छ । जबकि, ब्यांक तथा वित्तीय संस्था खारेज हुँदा निक्षेपकर्तालाई पहिलो प्राथमिकतामा राखेर रकम फिर्ता गर्नुपर्छ । यो व्यवस्थाले बीमा क्षेत्रप्रति सर्वसाधारणको आश्वस्तता घटाउनेछ ।
फितलो नियमन
पाटन उच्च अदालतले गत वैशाखमा चौधरी समूह अन्तर्गतको सिजी इलेक्ट्रोनिक्स सहित तीन कम्पनीले किर्ते बीमा दाबी गरेको ठहर गर्यो । अदालतले सीजी इलेक्ट्रोनिक्सलाई भर्पाई गराएको रु.२४ करोड असुल्न बीमा समितिलाई निर्देशन दियो । सर्भेयरले २०६९ असोजमा सतुङ्गलस्थित सीजीको गोदाममा आगो लाग्दा रु.५८ करोड भन्दा बढीको क्षति भएको प्रमाणित गरेका थिए । युनाइटेड इन्सुरेन्स कम्पनीले सोही बमोजिम अग्नि बीमा बापतको रकम सीजीलाई भुक्तानी गरेको थियो । किर्ते दाबी भन्दै यसविरुद्ध उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीमा समितिलाई छानबिन गर्न निर्देशन दिएको थियो । समितिको छानबिनले आगलागीबाट रु.३४ करोडको मात्र क्षति भएको ठहर गर्दै बाँकी रकम फिर्ता गर्न सीजीसहितका कम्पनीलाई निर्देशन दिएको थियो । यसबारेको मुद्दामा उच्च अदालतले समितिको छानबिनलाई सदर गरेको थियो ।
यो घटनामा बीमा दाबी र रकम भुक्तानी गर्ने कम्पनीहरू व्यावसायिक घराना चौधरी समूह अन्तर्गतकै थिए । बीमा रकम दाबी गर्ने सिजी इलेक्ट्रोनिक्स, सीजी इम्पेक्स र ईओए चौधरी समूहको पूर्ण स्वामित्व भएको कम्पनी हुन् भने बीमा रकम भुक्तानी दिने युनाइटेड इन्सुरेन्समा चौधरी समूहको करीब २६ प्रतिशत शेयर लगानी छ । बीमा रकम भुक्तानी दिने कम्पनीले आगलागीको सर्वेक्षण गर्न पठाएको नेपाली सर्भेयरको समेत यो घटनामा मिलेमतो देखिएको थियो । ठूलो बीमा रकम दाबी र भुक्तानीमा विदेशी सर्भेयर खटाउनुपर्नेमा त्यस्तो भएको थिएन ।
केही वर्षअघि यस्तै बीमा दाबी र भुक्तानीको घटना भएको थियो । व्यावसायिक घराना खेतान समूह अन्तर्गतको मायोज चाउचाउको काभ्रेस्थित कारखानामा भएको आगलागीमा एभरेष्ट इन्स्योरेन्सले रु.४ करोड बीमा भुक्तानी गरेको थियो । सर्भेयरको प्रतिवेदन नै नआई दाबी भुक्तानी गरेको भन्दै बीमा समितिले एभरेष्टलाई कारबाही गरेको थियो । बीमा रकम दाबी गर्ने मायोज उत्पादक हिमालयन स्न्याक र बीमा भुक्तानी गर्ने एभरेष्ट इन्स्योरेन्स दुवैमा खेतान समूहको लगानी थियो ।
आफ्नै लगानीको बीमा कम्पनीमा आफ्ना स्वामित्वका कम्पनीहरूको बीमा गराएर भुक्तानी दुरुपयोग गरिंदै आएको देखिन्छ । नेपालका अधिकांश बीमा कम्पनीहरूमा व्यापारिक घराना वा समूहको दबदबा छ । आलोचकहरू विभिन्न उद्योग तथा व्यापारिक गोदामहरूमा हरेक वर्ष हुने आगलागी तथा चोरीका घटना फर्जी दाबी र भुक्तानीका लागि हुने गरेको बताउँछन् । नियामक निकाय प्रभावकारी नहुँदा कम्पनीहरूमा संस्थागत सुशासनको अभाव भएको र बीमा क्षेत्र जोखिममा परेको उनीहरूको मत छ । बीमा क्षेत्रमा नियमन असाध्यै फितलो रहेको बताउँदै डा. बसौला भन्छन्, “प्रभावकारी नियमन नगरे यो क्षेत्र जोखिममा पर्न सक्छ ।”
२० वटा निर्जीवन बीमा कम्पनी, १८ जीवन बीमा कम्पनी र एउटा पुनर्बीमा कम्पनीलाई नियमन गर्ने जिम्मेवारी बोकेको बीमा समितिसँग प्रभावकारी नियमन र सुपरीवेक्षण क्षमता छैन । समितिले उजुरी परेपछि मात्र बीमा कम्पनीहरूको सुपरीवेक्षण गरिरहेको छ, आफैं सक्रिय भएर अनुगमन र सुपरीवेक्षण गर्दैन । समितिका एक उच्च अधिकारी यति धेरै बीमा कम्पनीलाई अनुगमन–नियमन गर्ने जनशक्ति र पूर्वाधार नै नभएको स्वीकार्छन् । नियमन क्षमता कमजोर भएकै कारण बीमामा सिंगल प्रिमियम (बीमा लेख अवधिमा एक पटक मात्र बीमा शुल्क भुक्तानी गर्ने) बुझएर ऋण लिने शंकास्पद कारोबार बढेको छ । बीमा कम्पनीहरूले प्रिमियम तिरेको बीमांक रकमको ९० प्रतिशतसम्म ऋण दिन्छन् । अन्यत्र सम्पत्तिको स्रोत खोज्ने डरले बीमा मार्फत कालो धनलाई वैध बनाउने प्रयास भएको हुनसक्ने अनुमान छ ।
अघिल्लो वर्षभन्दा गत आर्थिक वर्षमा सिंगल प्रिमियम रकम एकतिहाइले बढेर रु.१ अर्ब ३७ करोड पुगेको छ । पर्याप्त आम्दानीको स्रोत नभएका व्यक्तिले समेत एक करोडसम्म बीमाङ्क भएका बीमालेख स्वीकृत गराएर बीमालेख अवधि भुक्तान नहुँदै बीचैमा सरेण्डर गरी रकम वैध बनाउने प्रयास बढिरहेको छ ।
राष्ट्र ब्यांकले ब्यांक तथा वित्तीय क्षेत्रमा आफ्नो नियमन कमजोर भएपछि मर्जर नीति अघि बढाएको छ । नियमन चुनौतीपूर्ण बन्दै जाँदा बीमा समितिले पनि बीमा कम्पनीहरूको मर्जरको विकल्पमा पहल थालिसकेको छ । समितिले आगामी पुस मसान्तभित्र तोकिएको निर्जीवन बीमा कम्पनीको रु.१ अर्ब र जीवन बीमा कम्पनीको रु.२ अर्ब चुक्ता पूँजी पुर्याउन नसक्ने बीमा कम्पनीहरूलाई मर्जरमा जाने विकल्प अघि सारेको छ । समितिका अध्यक्ष चिरञ्जीवी चापागाई तोकिएको समयमा पूँजी नपुर्याउनेका लागि मर्जर विकल्प हुनसक्ने बताउँछन् । उनी भन्छन्, “तर, अझै ६ महीना समय भएकाले अहिल्यै मर्जरको विषयमा निक्र्योल गर्न मिल्दैन ।”
अर्थ मन्त्रालयले अघिल्लो वर्ष मात्र १० वटा नयाँ बीमा कम्पनीलाई अनुमति दिंदा पहुँचवाला र आर्थिक चलखेलले काम गरेको भन्दै चर्को आलोचना भएको थियो । बीमा समितिका अध्यक्ष चापागाई भने ती कम्पनीहरूको चुक्ता पूँजी पुगिसकेकाले नयाँ अनुमति दिनुले समस्या आएको भन्न नमिल्ने बताउँछन् । “बीमकको संस्थागत सुशासनका लागि नीतिगत व्यवस्था मार्फत कडाइ गर्दै लगिएकाले बीमामा दुरुपयोगको जोखिम कम छ” उनी भन्छन्, “नियमनका लागि समिति प्रभावकारी छ ।”
डा. बसौला भने नियामक आफैं कमजोर रहेकाले यति ठूलो संख्याका बीमा कम्पनीहरूको प्रभावकारी नियमन गर्न सक्नेमा शंका रहेको बताउँछन् । उनका अनुसार, वास्तविक नोक्सानीमा परेकाले निर्जीवन बीमाको दाबी भुक्तानी लिन अझ्ै कठिन छ । “बीमा समितिले भुक्तानी दिलाउन प्रभावकारी भूमिका खेल्न सकेको छैन”, उनी भन्छन् ।
भुक्तानीमा समस्या
निर्जीवन बीमाको भुक्तानी लिन कम्ती अप्ठ्यारो छैन । बीमा कम्पनीहरूले भुक्तानी दिन आनाकानी गर्छन् । आर्थिक वर्ष २०७४/७५ को अन्त्यसम्ममा निर्जीवन बीमा कम्पनीहरूमा दाबी परेको रु.७ अर्ब ५० करोडभन्दा बढी रकम भुक्तानी दिन बाँकी छ । बीमा कम्पनीहरूले दाबी भुक्तानी नगरेमा ११५ प्रतिशत रकम प्रोभिजन राख्नुपर्ने व्यवस्था छ । गत आवको अन्त्यसम्ममा यस्तो प्रोभिजन रकम रु.८ अर्ब ६६ करोड पुगेको बीमा समितिको तथ्यांकमा देखिन्छ । यो अघिल्लो वर्षभन्दा ४९ प्रतिशत बढी हो ।
कम्पनीहरूले क्षतिबापत दाबी गरेको बीमा रकम भुक्तान नगरेको अवस्थामा आवको अन्त्यमा खुद दाबी रकममा थप १५ प्रतिशत थपेर प्रोभिजनिङ (दायित्व भुक्तानी हुन बाँकी दाबीबापतको व्यवस्था) गर्नुपर्छ । बीमा कम्पनीहरूले वास्तविक दाबी र भुक्तानी हुन बाँकी रकम देखाउँदा नाफा कम हुने कारणले थोरै मात्र दाबी रकम देखाउने गरेको आरोप छ । यो आधारमा, बीमा बापतको दाबी रकम यो भन्दा बढी हुनसक्छ ।
बीमा विनियमावली अनुसार, बिमित कम्पनी वा व्यक्तिको कुनै दुर्घटना भएको जानकारी पाउने वित्तिकै बीमकले सर्भेयर खटाएर आवश्यक जाँचबुझ् गरी १५ दिनभित्र बीमकको दायित्व निर्धारण गरिएको प्रतिवेदन बुझउनुपर्छ । सर्भेयरले विमकसमक्ष प्रतिवेदन पेश गरेको सामान्यतया ३५ दिनभित्र दायित्व निर्धारण गरी बिमितलाई दाबी रकम भुक्तानी गर्नुपर्छ । कम्पनीहरू त दायित्व भुक्तानी गर्न आलटाल गर्छन् नै, नियामक बीमा समिति पनि भुक्तानीका लागि प्रभावकारी हुन नसकेको जानकारहरू बताउँछन् । त्यसै कारण, हरेक वर्ष भुक्तानी हुन बाँकी दाबीबापतको व्यवस्था (प्रोभिजन फर क्लेम) रकम बढिरहेको छ (हे. तथ्यांक) ।
जानकारहरू नेपालमा बीमा शुरू भएको आधा शताब्दी बितिसके पनि यसको अपेक्षित वृद्धि र विकास नभएको औंल्याउँछन् । आव २०७४÷७५ सम्ममा कुल जनसंख्याको ११ प्रतिशतमा मात्र बीमा कभरेज पुगेको छ । भवन र सम्पत्तिमा बीमाको विस्तार भएको छैन । उच्च भूकम्पीय जोखिम रहेको देशमा अधिकांश सरकारी भवनको समेत बीमा हुनसकेको छैन ।
कुल गार्हस्थ्य उत्पदनमा बीमाको योगदान करीब २.५ प्रतिशत मात्रै छ । कृषि बीमा, स्वास्थ्य बीमा जस्ता स्किम अघि सारे पनि ग्रामीण क्षेत्र बीमाको पहुँचमा छैन । चालू आवको बजेट मार्फत सरकारले दुई वर्षभित्र कुल बीमा कारोबारमध्ये लघु बीमा कारोबार कम्तीमा १० प्रतिशत पुर्याउनुपर्ने व्यवस्था गरेको छ । बीमा समितिका अध्यक्ष चापागाई कतिपय बाध्यकारी व्यवस्था गरेर मात्रै लघु बीमा बढाउन सकिने बताउँछन् । गत आवमा जीवन बीमातर्फ पहिलो प्रिमियम शुल्क रकम ५० प्रतिशत र कुल कारोबार ३१.६ प्रतिशतले बढेको छ । निर्जीवन बीमातर्फ पनि प्रिमियम संकलन साढे १६ प्रतिशत पुगेको छ । बीमा समितिका अध्यक्ष चापागाई बीमा गर्न सक्ने क्षमता भएका ७० प्रतिशतभन्दा बढी जनतासम्म यसको अवसर पुर्याउने चुनौती रहेको बताउँछन् ।