त्यसको एक दिनमै रौतहट राजापुर नगरपालिकाको दामाद चोकमा साथीहरू शेख वकिल, मौलाना दरखसिद, मो. जिक रुल्लाह, जमिल अख्तर आदिसँग सडक किनारको एक चियापसलमा कुरा गरिरहँदा दाइजो विरुद्ध एउटा अभियान थाल्ने आफ्नो भित्री इच्छा सुनाए । चियागफकै क्रममा यस्तो अभियान शुरू गर्न चुनौतीपूर्ण भए पनि असम्भव नभएको निष्कर्षमा उनीहरू पुगे ।
“हो, यसरी शुरू भयो हाम्रो अभियान” रौतहट यमुनामाई गाउँपालिका–५ झुनखुनवाका राँकी भन्छन्, “हामीले धार्मिक विश्वासलाई नै दाइजो रोक्ने ढाल बनायौं ।”
मध्य तराईको रौतहटमा यो अभियान थाल्न २० कात्तिक २०७३ मा मुस्लिम समुदायका अगुवा खासगरी मस्जिदका मौलाना, सरकारी अधिकारी र बुद्धिजीवी लगायत ३०० भन्दा बढीको भेला डाकियो । भेलामा रौतहटका तत्कालीन प्रमुख जिल्ला अधिकारी नरहरि बराल, सशस्त्र र जनपदका उपरीक्षकहरू भगवान मल्ल र डा. गणेश रेग्मीले पनि साथ दिने वाचा गरे । मुस्लिम समुदाय केन्द्रित भेलामा भारत विहारको सीतामढीका प्रतिष्ठित व्यक्तित्व हजरत मौलाना इजारुल हक पनि उपस्थित थिए । यसले दुवै देशका सीमान्त मुस्लिममा यो अभियान थाल्न सहज बनाइदियो । कानूनले दाइजोको लेनदेनलाई अपराध मानेर वर्जित गरेकै थियो । भेलाले रौतहटकै एक जना १०५ वर्षे वयोवृद्ध मौलाना अब्दुल अजित सिद्धिकीको संयोजकत्वमा मौलाना र मुस्लिम अगुवाहरू सम्मिलित ‘तिलक दहेज बन्द अभियान समिति’ बनायो । योजनाअनुरूप मौलानाहरूलाई बिहेको निकाह (मन्त्र) पढ्दा ‘तिलक दहेज लिए वा दिएको छैन’ भनेर दुलाहा र दुलही पक्षका अभिभावकलाई वाचा गराउन लगाइयो । निकाह पढ्दा यो कुरालाई आचारसंहिताका रूपमा पालना गर्नुपर्ने र पालना नगर्नेलाई कारबाही समेत गर्ने थिति बसालियो । राँकी भन्छन्, “धर्म भाक्ने यो सूत्रले हाम्रो समाजमा साँच्चै काम गर्यो ।”
एक वर्षअघि रौतहटको कनकपुर जंगलसरियामा एक मौलानाले दाइजोको कारोबार भएको बिहेको निकाह पढेको शंका लाग्यो । त्यसपछि अभियान समितिले ती मौलानालाई मस्जिदमा लगेर दाइजोको कारोबार भए/नभएको सत्यतथ्य भन्न लगायो । धार्मिक विश्वासमा अडिग उनी मस्जिदभित्र कुरान छोएपछि असत्य बोल्न सकेनन् । त्यसपछि आत्मग्लानिसाथ आफूले निकाह पढेको बिहेमा दाइजोको कारोबार भएको स्वीकारे ।
उनलाई समितिले रु.५० हजार जरिवाना गर्यो । जरिवानाबाट रु.१५ मात्र राखी समितिले तीन हप्तापछि भेला डाकेर उनलाई आइन्दा दहेज लिइएको विवाहमा निकाह नपढ्ने कसम खुवाई रु.४९ हजार ९८५ फिर्ता गर्यो । वास्तवमा समितिसँग जरिवाना उठाउने अनुमति र योजना थिएन । राँकी भन्छन्, “गलत गर्दा वा ढाँट्दा सजाय पाइन्छ भन्ने चेत भर्नु थियो । उनले १५ रुपैयाँ भए पनि जरिवाना तिरेको छु भन्ने सम्झ्रिहून् र गल्ती नदोहोर्याउन् भन्ने मात्र हाम्रो उद्देश्य थियो ।” मौलानाले ढाँट्दा रु.५० हजार जरिवाना तिरेको खबर तीन साताभित्रै फैलिसकेको थियो । यो खबरले अरू मौलानालाई पनि पर्याप्त चेतावनी दियो ।
समितिले रौतहटका एक हजार जति मौलानालाई तिलक दहेज लेनदेन भएको बिहेको निकाह पढ्दिनँ भन्ने वाचा गराएको छ । जसले आफूले निकाह पढेको प्रत्येक बिहेमा तिलक दहेजको कारोबार भएको छैन भन्ने व्यहोराको एउटा कागजमा बेहुला–बेहुली पक्ष र गाउँगाउँमा बनेका तिलक दहेज बन्द अभियान समितिका सदस्यलाई साक्षी राखेर सही गरिदिन्छन् । रौतहटका गाउँगाउँमा यस्ता ७० वटा तिलक दहेजविरुद्ध अभियान समिति बनेका छन् ।
रु.२० लाख दहेज रोकियो
चैत २०७३ मा घरमै बसिरहेका राँकीलाई रौतहटको इस्लामपुरमा एउटा बिहेमा रु.२० लाख दाइजोको कारोबार हुन लागेको खबर कसैले सुनायो । १२ जना साथीहरूको एउटा समूह जुटाएर राँकी विवाहमण्डपमा पुगे । दुवै पक्षका अभिभावकलाई बोलाएर एकान्तमा कुरा गर्दा दुवै पक्षले दहेजको कारोबार नभएको जिकिर गरे । राँकीले ‘त्यसो भए मस्जिदमा गएर कुरान छोएर दहेज लेनदेन गरेका छैनौं भन्ने वाचा गरौं’ भन्ने प्रस्ताव राखे । कतारमा रहेका बेहुलीका बाबुले उतैबाट बेहुला पक्षलाई दहेजबापत रु.२० लाख दिने वाचा गरेको बेहुलीका हजुरबुबालाई थाहा थिएन । बेहुलीका हजुरबुबा मस्जिद पसेर वाचा–कसम खान तयार भए । तर, दहेज लिने योजनामा रहेको बेहुला पक्ष मस्जिदमा पसेर बाचा गर्न अन्कनायो । मौलाना र कुरानका अगाडि बेहुला पक्षले दहेज लेनदेन गर्ने सहमति कतारमा रहेका बेहुलीका बाबुसँग भइसकेको बताउन बाध्य भयो । त्यसपछि ठूलो समूहमा उभिएर बेहुला पक्षले ठूलो स्वरमा ‘वचन पाइसकेको दहेज लिन्नौं” भने । अनि, मस्जिद पसेर कसम खाए । राँकी भन्छन्, “७५ ठाउँमा त म आफैं उपस्थित भएर यसरी दाइजो फिर्ता गराएको छु ।”
गोपाल गड्तौला