उपचारका लागि आएका बालबालिका, उनीहरुका अभिभावक साथै चिकित्सक र अन्य स्टाफहरू उनीहरूको काम चाख मानेर हेर्छन् र विभिन्न प्रतिक्रिया दिन्छन् । व्यस्त अस्पतालको रुखो भित्तामा जसै एउटा चित्रले पूर्ण आकार पाउँछ, त्यसमा जीवन्तता र सौन्दर्य थपिन्छ ।
सिद्धार्थ आर्ट ग्यालरीको सहयोगमा सञ्चालित ‘हेल्थ ट्रान्सफम्र्ड बाई आर्ट’ कला परियोजनामा आबद्ध छन्, श्रेष्ठ र महर्जन । यो परियोजनाले काठमाडौंका अस्पतालमा कलाको चिकित्सकीय मूल्य स्थापनाका लागि काम गरिरहेको छ ।
“धेरैजसो ग्यालरीमै सीमित हुने चित्रकलालाई हामीले बाहिर ल्याउने सोच्यौं” परियोजनाकी संयोजक सृष्टि शाक्य भन्छिन्, “विशेषगरी अस्पताल जस्ता ठाउँमा, जहाँ कलाको अभिव्यक्ति, आकर्षण र चिकित्सकीय ऊर्जा महत्वपूर्ण हुन्छ ।” त्यसैले राजु गिरी र अनोज सुवेदी समेत रहेको संयोजक समूहले देशभरका बालबालिका आउने कान्ति बाल अस्पताललाई छनोट गर्यो ।
२ साउनमा आयोजित कला उद्घाटन समारोहलाई सम्बोधन गर्दै कला समीक्षक प्राध्यापक अभि सुवेदीले भने, “कलाको उद्देश्य सधैं मानसिक र आध्यात्मिक कल्याण रहँदै आएको छ ।” वैशाख २०७२ को भूकम्पपछि कलाकारका धेरै समूहले प्रभावित क्षेत्रका बालबालिकालाई आघातबाट बाहिर निकाल्न चित्रकला कार्यशाला आयोजना गरेका थिए । उक्त कार्यशालाबाट विद्यालय फर्किएका बालबालिकाले चित्र बनाएर आफ्ना भावना व्यक्त गरेका थिए । बालबालिका लागि तनावबाट मुक्त हुन चित्रकला एउटा माध्यम हुनसक्छ भन्ने यसबाट पनि पुष्टि भएको छ । यद्यपि नेपालमा अझै पनि कलाको चिकित्सकीय मूल्य पहिचान गरिएको छैन ।
यो परियोजनाका लागि कलाकार लज्जा दीक्षितले ११ जना कलाकारलाई ‘आर्ट थेरापी’ बारे प्रशिक्षित गरेकी थिइन् ।
कान्ति बाल अस्पतालमा भित्ते चित्र (मुराल) मात्रै होइन अस्पतालबाट निस्कासित मानव स्वास्थ्यमा हानि नपुर्याउने बोतल, बिर्को, कन्टेनर, ट्यूब जस्ता वस्तुबाट काठमाडौं विश्वविद्यालय र सिर्जना कलेज अफ फाइन आर्टस्का विद्यार्थीले विभिन्न चित्र र प्रतिस्थापन कला समेत बनाएका छन् ।
यद्यपि सरकारी अस्पताललाई कलाले सजाउने काम कलाकारहरुका लागि कम चुनौतीपूर्ण थिएन । कान्तिमा काम गर्ने स्वीकृति पाउनै उनीहरुलाई ६ महीना लाग्यो, त्यसमाथि चिकित्सकहरूको ‘राउण्ड’ का बेला काम गर्ने अनुमति दिइएन । राति ११ बजेसम्म खटिएर गरेको कामको परिणाम अहिले देखिन्छ– रानी कान्तिको सालिकमाथि चम्किने सुनौलो रंगको फिनिक्स र सिलिङमा झुण्डिएका रंगीन चराहरू । यी चित्रकला हेरिरहँदा बिरामी बालबालिका आफ्ना समस्या बिर्सेर रमाउने गर्छन् । रोइरहेका बालबालिका रंगीन भित्ता र चित्र देखेर मुस्कुराउन थालेको देखिन्छ ।
यो परियोजनाले सबै नेपालीका लागि स्वास्थ्य सेवा सहज र सुलभ कसरी बनाउन सकिन्छ भन्ने चिकित्सा–राजनीति सम्बन्धी सूक्ष्म सन्देश पनि बोकेको छ । मेख लिम्बूको प्रतिस्थापन कलामा औषधिका साना शिशीको लहर प्रदर्शन गरिएको छ, तर ती शिशीमा औषधिको नामको ठाउँमा नेपालका जडिबुटीहरूको चित्र बनाइएको छ । नेपाल औषधीय वनस्पतिमा धनी भए पनि औषधि अभाव व्यहोर्नु परेकोबारे यो कलाले व्याख्या गर्छ ।
अस्पताल आर्ट ग्यालरी जस्तो बनेकोमा अस्पतालका निर्देशक गणेश राई पनि खुशी छन् । भन्छन्, “मलाई कलाबारे धेरै थाहा छैन, तर अस्पतालको फेरिएको यो रुपको धेरैले प्रशंसा गरेका छन् । यसले सकारात्मक ऊर्जा सञ्चार गरेको छ, खासगरी बालबालिकाका लागि ।”
यो परियोजना नेपालका अन्य अस्पतालमा पनि विस्तार गर्ने सिद्धार्थ आर्ट ग्यालरीको योजना छ । “अहिलेको समय क्रूर छ, तर कलाकारहरूको मिहिनेत, इमानदारी र आदर्श भावनाले हामीले यतिसम्म गर्न सकेका छौं”, ग्यालरीकी निर्देशक संगीता थापा भन्छिन् । थापाको स्वास्थ्यमा हालै देखिएको जटिलता पनि परियोजनाका लागि प्रेरणा थियो ।
“अस्पताललाई कलाले सजाइरहँदा म अस्पतालमा थिएँ, कलाकारहरूका समस्या र विचार सुनेर दैनिक एकपछि अर्को निर्णय गरिरहनुपथ्र्यो” उद्घाटन समारोहमा भावुक देखिएकी थापाले भनिन्, “तर, अस्पतालको यो रुप व्यक्तिगत रूपमा पनि मेरा लागि महत्वपूर्ण छ । किनभने अरूलाई उपचारमा सहयोग गर्ने यो परियोजनाका क्रममा म आफैं पनि सञ्चो भएकी छु ।”