२७ साउन - २ भदौ २०७५ | 12-18 August 2018

रिपोर्टिङमा लापरबाही

Share:
  
- भृकुटी राई
एक चौथाइभन्दा कम पत्रकार महिला भएका न्यूजरुमहरूमा लैंगिक हिंसाप्रतिको दृष्टिकोण आपत्तिाजनक भन्न सकिने खालको छ।

कञ्चनपुरकी १३ वर्षीया बालिकालाई बलात्कार र हत्या गरिएको समाचार मूलधारका नेपाली मिडियामा आउने अपराध शृङ्खलाको पछिल्लो चर्चित घटना थियो । अपराधका समाचारको दिक्कलाग्दो ‘कभरेज’ नियमित कर्मकाण्ड जस्तै छ, नेपाली मिडियामा ।

कञ्चनपुर घटनाको कभरेज गरेको एउटा राष्ट्रिय दैनिकले समाचारसँगै बालिकाको शवको तस्वीर पनि छाप्यो । सामाजिक सञ्जालमा निकै फैलिएको त्यो तस्वीर हटाउन गरिएको अनुरोध कसैले सुनेनन् । यो घटनाबारेका समाचार जसरी प्रकाशन गरियो, त्यसले आम–आक्रोश बलात्कारका अपराधी समात्न नसक्ने प्रहरी/प्रशासनसँगै मिडियातर्फ पनि सोझ्यिो ।

बलात्कार र यौन हिंसा सम्बन्धी रिपोर्टिङमा पत्रकारिताको आचार तथा मानकबारे छलफल हुँदा दक्षिणएशियाका अधिकांश न्यूजरुम कमजोर साबित हुन्छन् । यस्ता घटनाका समाचार तयार गर्दा पीडित र उसको परिवारबारे कतिसम्म जानकारी सार्वजनिक गर्नु आवश्यक हुन्छ ? यस्ता अपराधबारे रिपोर्टिङ नै कसरी गर्ने ? लगायतका विषयमा स्पष्ट नभई ‘न्यूज कभरेज’ गर्दा प्रत्युत्पादक हुन्छ भन्ने ख्याल गरेको पाइँदैन । कतिपय घटनामा त पीडितमाथि नै आरोप लगाएको देखिन्छ । केही महीनाअघि काठमाडौंको दरबारमार्गस्थित एक होटलमा भएको बलात्कारको घटना त्यसको दृष्टान्त हो । त्यस घटनाको कभरेज गर्दा बलात्कारपीडित युवतीको शारीरिक बनावट, उनको व्यक्तिगत जीवन र सम्बन्ध मात्र नभई बलात्कार गर्नेहरूसँगै मदिरा सेवन गरेको जस्ता विषयहरू पनि उछालेर अपराधलाई ओझेलमा पार्न खोजियो ।

नेपालमा बलात्कार र बलात्कारको प्रयासका घटनाहरू एक दशकमा चार गुणाले बढेको नेपाल प्रहरीको तथ्याङ्कले देखाउँछ । गएको वर्ष बलात्कारका ११०० उजुरी प्रहरीमा दर्ता भएका थिए । सबैलाई थाहा भएकै कुरा हो, बलात्कारका सबै घटना प्रहरीसम्म पुग्नै पाउँदैनन् । जति उजुरी प्रहरीकहाँ पुग्छन् या घटना सार्वजनिक हुन्छन्, तिनमा पत्रपत्रिका र टेलिभिजनका अधिकांश प्रस्तुति पीडितको पीडामा नूनचूक छर्ने किसिमका हुन्छन् ।

पत्रकारहरू यस्ता समाचारलाई सनसनीपूर्ण बनाउनेतिर लाग्छन्, त्यस्तै शीर्षक राख्छन् । पीडितको चित्कार दबाउन यस्ता संवेदनाहीन भाषा प्रयोग गरिन्छ कि त्यसले यौन हिंसाबारे परम्परागत पितृसत्तात्मक सोचकै पक्षपोषण गरिरहेको हुन्छ । तस्वीरले पीडितमाथि अन्याय थप्छ भन्ने सामान्य हेक्का समेत राखेको पाइँदैन ।

१४४ देश रहेको विश्व लैंगिक समानता सूचीमा नेपाल १११औं स्थानमा छ । बोक्सीको आरोपमा हुने हिंसा, घरेलु हिंसा, यौन हिंसा जस्ता धेरै हिंसाले थिचिएका छन् नेपाली महिला । यस्ता विषयमा पुरुषबहुल न्यूजरुमले प्रस्तुत गर्ने रिपोर्टिङ पीडितप्रति संवेदनशील देखिंदैन । यौन हिंसा, बलात्कार र हत्या सम्बन्धी अधिकांश समाचार प्रहरीको सूचनामा आधारित हुन्छन् । यसले घटनाबारे यथेष्ट रिपोर्टिङ नै नभएको प्रष्ट पार्छ ।

अपराधको रिपोर्टिङ गर्दा सबभन्दा चुनौतीपूर्ण भनेको पीडितलाई विश्वस्त पारेर यथार्थसँगै ‘साइड स्टोरी’ सार्वजनिक गर्नु हो, जुन धेरैजसो पत्रकारले गरेका हुँदैनन् । पत्रिकामा समाचारहरू पढ्दा वा टिभी प्रस्तुतिहरू हेर्दा तुरुन्त बुझ्न्छि, बलात्कार वा यौन हिंसाका घटनामा हाम्रा न्यूजरुमहरू हुनुपर्ने जति सजग र संवेदनशील नै बन्दैनन् । मानौं, प्रहरीले दिएको सूचनालाई सनसनीपूर्ण बनाएर प्रस्तुत गर्नु नै पत्रकारिता हो ।

धेरैजसो समाचार घटना विवरणमा मात्र केन्द्रित र कर्मकाण्डी हुन्छन् । अपराधको प्रवृत्ति, अपराध नियन्त्रणका संस्थागत असफलता लगायतका पाटाहरूतिर आँखा चिम्लिएर लेखिएका समाचारमा परम्परागत पुरुष सोच हावी भइदिन्छ । अधिकांश बलात्कारका घटनाबारे किन उजुरी पर्दैनन् ? हाम्रो अपराध अनुसन्धान शैली कस्तो छ ? दण्ड–सजायको दर किन निकै कम छ ? पत्रकारका लागि सबभन्दा महत्वपूर्ण, यो समाचार प्रकाशन÷प्रसारणले पीडितको जीवनमा कस्तो परिवर्तन ल्याउला ? यस्ता विषयमा हाम्रा न्यूजरुमहरूले ध्यान नै नदिएको प्रतीत हुन्छ ।

बलात्कार र यौन हिंसाबारे नेपाली मिडियामा भएका संवेदनहीन रिपोर्टिङबारे बोल्दा–बोल्दा थाकेपछि हामीले हाम्रो पडकास्ट ‘बोजुबज्यै’ को हालैको शृङ्खलामा काठमाडौंका रिपोर्टर र सम्पादकहरूसँग छलफल गर्यौं, जसमा धेरैजसोले यो विषयमा न्यूजरुमहरू ढिलो संवेदनशील भएको बताए ।

वास्तवमा, पीडितको परिचय नखोल्ने बाहेक कुनै पनि न्यूजरुममा थप ‘गाइडलाइन’ छैन । अधिकांशले स्टोरीसँगैको पीडितको तस्वीर सार्वजनिक गरिदिन्छन्, अनुहार ब्लर गरिदिए पुग्छ भन्नेछ । केहीले काठमाडौं र वरपरका समाचारले बढी प्राथमिकता पाउने गरेको बताए । एक जना सम्पादकले चाहिं ‘बारा होस् वा दरबारमार्ग सबतिरका समाचारले उत्तिकै प्राथमिकता पाउनुपर्छ’ भने ।

तीन चौथाइ पुरुष पत्रकार भएका न्यूजरुमहरूमा लैंगिक हिंसाप्रतिको दृष्टिकोण उदेकलाग्दो थियो । हामीले कुरा गरेकामध्ये धेरैजसो रिपोर्टरले महिलाको मृत्यु नहुँदासम्म कुटपिटका घटनाले प्राथमिकता नपाउने सुनाए । वरिष्ठ रिपोर्टरहरू यस्ता घटनालाई ‘कभर’ गरिरहन नपर्ने ‘हल्का’ विषय ठान्दा रहेछन् । पत्रकारहरूमा महिलालाई ‘वस्तु’ ठान्ने रुढिवादी धारणा नहटेसम्म समाचार लेख्दा वा अन्तर्वार्ता लिंदा महिला र पुरुषबारे फरक मापदण्ड राख्न छाड्ने छैनन् ।

comments powered by Disqus

रमझम