२७ साउन - २ भदौ २०७५ | 12-18 August 2018

अँध्यारोबाट उज्यालिएकी आश्ना

Share:
  
- सोनिया अवाले
अवसादको ऐंठनलाई कला मार्फत अभिव्यत्त गर्छिन् र शान्त हुन्छिन्, आश्ना।

आश्ना लामा अल्बमका पाना पल्टाउँदैछिन् । काला पानामा सेता धर्काले बनेका प्रत्येक चित्र आँखाबाट भित्रसम्म पुग्छन् । कोही उभिएका, कोही पल्टेका वा ध्यानस्थ महिला आकृति । झ्वाट्ट हेर्दा प्रवाहदार देखिने यी चित्रभित्र सेरामिकका टुक्रा जस्ता तिखा आकृति पनि छन्, मानौं शरीरभित्र ठूलो पीडा गडेको छ । भित्रभित्रै काँडाको घोचाइ सहेर अनुहारमा हँसिलो मुखौटा लगाउन बाध्य छन्, महिलाहरू ।

प्रफुल्ल देखिने २१ वर्षीया आश्ना आफैंमाथि व्यंग्य गरेर सुरिलो आवाजमा हाँस्छिन् पनि । यो हँसमुख अनुहार देखेका कमैलाई मात्र थाहा छ, उनले अवसादको कठोर पीडा भोगेकी छन् ।

कलाकार परिवारमा जन्मेकी आश्ना एक्रेलिक र टर्पेन्टाइनको गन्ध सँुघेरै हुर्किइन् । कलालाई पीडा अभिव्यक्तिको माध्यम बनाएकी उनले सानै उमेरदेखि चित्र कोर्न शुरु गरेकी हुन् । अहिलेको शृंखला ‘द फ्राजिलिटी अफ एन्जाएटी’ चाहिं २०७२ सालको भुईंचालो लगत्तै बनाइएको हो, जुन बेला उनलाई एन्जाएटी र डिप्रेसनले नराम्ररी गाँजेपछि उपचार गर्नु परेको थियो ।

“त्यसबेला म ठूलो मानसिक आघातमा थिएँ । चार दिनसम्म कसैसँग बोल्नै सकिनँ । मनमा अनेकौं विचार आइरहन्थे– सिलसिला नमिलेका, किरिङमिरिङ विचारले मथिंगल रन्किरहन्थ्यो” आश्ना सम्झिन्छिन्, “त्यसपछि मैले स्केचबुक समाएँ र चित्र बनाउन शुरु गरें । चित्रमा ध्यान एकोहोरिएपछि अरु सोच्नु परेन । चित्रहरू प्रवाहित हुँदै गए, म पनि शान्त र स्थिर ।”

तीन वर्षपछि आश्नाका तिनै चित्रहरू प्रदर्शन हुँदैछन्, उनका कवितासँगै । २७ साउनमा होटल अन्नपूर्णमा हेर्न पाइनेछ यी चित्र । आश्ना भन्छिन्, “नोटबुकका काला पानाहरू मसँग कुरा गर्न र श्लोक जस्तै गुञ्जायमान हुन थाले अनि कविता बन्यो ।” आफ्नो अवसादको ऐंठनलाई उनले कविता मार्फत अभिव्यक्त गरेकी छन् ।

मानसिक स्वास्थ्यसँग कलाको ऐतिहासिक सम्बन्ध छ । भनिन्छ पिकासो सिजोफ्रेनिक थिए र भ्यान गो अवसादग्रस्त । फ्रेडा काह्लोले मानसिक चोट व्यवस्थापन गर्न आफ्नै पोट्रेट बनाउन थालेकी थिइन्, मोनेट अति व्यग्र थिए । आश्ना उनको कलालाई आन्तरिक अशान्तिको प्रतिबिम्ब भन्छिन् ।

“जब प्रेसरकुकर पड्किने अवस्थामा पुग्छ र सिट्ठी लाग्छ, त्यसबेला निस्किएको वाफ कला हो । सम्हालिन नसक्ने भएपछि म चित्र कोर्छु”, आश्ना भन्छिन् । आफ्ना व्यक्तिगत अनुभूतिहरू सार्वजनिक गर्ने निर्णय आश्नाका लागि सहज थिएन । तर पनि नेपालमा मानसिक स्वास्थ्यबारे चेतना विस्तार गर्न उनले यो गर्नै पथ्र्यो, गरिन् ।

किशोर अवस्थामा आश्नाको औषधिमाथिको निर्भरता निकै बढी थियो । एकपटक औषधि नभेट्टाउँदा तीव्र बेचैनी भएपछि उनले भित्तामा टाउको ठोक्न थालिन् । कलामा ती भावना अभिव्यक्त गर्न थालेपछि भने उनको औषधिमाथिको निर्भरता घट्दै गयोे । उनी भन्छिन्, “मानसिक स्वास्थ्यमा समस्या भएका अरुलाई पनि निकासको यस्तो कुनै माध्यम उपयुक्त हुन सक्छ ।”

मानसिक स्वास्थ्यबारे आफूले खुलेर कुरा गर्न थालेपछि अरु पनि खुल्न थालेको अनुभव छ उनकोे । आश्नाका अनुसार उनीहरू एक्लिएका हुन्छन् र यस्तो समस्या भोग्ने आफू मात्रै हुँ कि भन्ने भ्रम हुन्छ । त्यसैले पीडा बाँड्यो भने हलुका हुन्छ । “नेपालमा मानसिक स्वास्थ्य बारेको बुझाइ निकै कम छ । यसलाई रोगका रुपमा मात्रै लिइँदैन । त्यसैले म कला प्रदर्शनीका माध्यमबाट मानसिक स्वास्थ्यबारे बहस शुरु गर्न चाहन्छु”, आश्ना भन्छिन् ।

कुनै बेलाकी विज्ञानकी छात्रा र पार्ट टाइम मोडल आश्ना चित्रमै रुचि बसेपछि तीन वर्षअघि इटालीको फ्लोरेन्सस्थित आर्ट स्कूलमा भर्ना भइन् । माइकल एञ्जेलो, बोटिसेली, राफेल र दाँते जस्ता महान् हस्तीहरूको शहरमा औपचारिक अध्ययन गरिरहेकी उनलाई अभिव्यक्तिका धेरै माध्यमबारे जान्ने अवसर मिलेको छ । पढ्दै गर्दा पारिश्रमिक लिएर अरुका लागि पनि चित्र बनाउँछिन्, आश्ना । ती चित्र भने उनकोे चिनारी जस्तै बनेको कालो र सेतो रंगमा मात्रै नभई सप्तरंगी पनि हुन्छन् । भविष्यमा नेपाल फर्किएर थाङ्का पेन्टिङ सिक्ने चाहना छ आश्नाको । भन्छिन्, “मेरो आफ्नै खाले कला बनाउनका लागि पत्थर पिसेर रंग तयार पार्नेछु, म गरेरै छाड्छु ।”

जीवनको उज्यालोका लागि कालो पृष्ठभूमिमा तयार पारिएको कला प्रदर्शनी उनका लागि राम्रो घर फिर्ती हुनेछ ।

सेवा भट्टराई

comments powered by Disqus

रमझम