३-९ भदौ २०७५ | 19- 25 August 2018

भित्तामा चित्र

Share:
  

बिक्रम राई
आजकाल विभिन्न सामग्री, विधि, डिजाइनको प्रयोग गरेर घरलाई आकर्षक साजसज्जा दिने चलन बढेको छ । घर सजाउने क्रममा कोठाको भित्ता सजावट पनि महत्वपूर्ण हुन्छ । भित्ताको साजसज्जाका लागि बजारमा उपलब्ध अनेकौं खालका सजावटका सामग्रीमध्ये हरेकको रुचि र सोख फरकफरक हुन्छ । तैपनि, कोठालाई भव्य र आकर्षक देखाउने पेन्टिङ नरुचाउने कमै होलान् । पेन्टिङ रुचि र सोख मात्र होइन, प्रतिष्ठाको विषय पनि बनेको छ ।

प्राकृतिक भू–दृश्य, मनोरम छटा, मुहार चित्र, जीवनशैली, सांस्कृतिक प्रतिबिम्वन वा अमूर्त विचार पोखिएका अनेकौं कलाकृति भित्तामा झुण्ड्याएर आनन्द लिने चलन नयाँ होइन । पेन्टिङले कोठाको शोभा बढाउने मात्रै होइन मान्छेलाई ऊर्जावान र सृजनशील पनि बनाउँछ । आर्थिक हैसियत उच्च भएका कलापारखीहरूको मात्रै रुचिमा पर्ने ठानिंदै आएको पेन्टिङप्रति पछिल्लो समयमा सामान्यजनको पनि रुचि जागेको छ ।

खर्चिलो मानिने यस्ता कलाकृति खरीद गर्दा पारखीहरू मूल्यलाई महत्व दिंदैनन् । आर्थिक कारणले महँगा पेन्टिङ खरीद गर्न नसक्नेहरूले पनि मध्यमखालका र सस्ता तर आकर्षक पेन्टिङ भित्तामा झुण्ड्याउन थालेका छन् । बजारमा धेरै बिक्री हुने पनि मध्यमस्तरकै पेन्टिङ हुन् ।

पेन्टिङको छनोट चाहिं व्यक्तिगत रुचि र आर्थिक हैसियतमा भर पर्छ । नेपाली बजारमा रु.२ हजारदेखि लाखौं रुपैयाँका पेन्टिङ किन्न पाइन्छ । एउटै पेन्टिङ तयार पार्न महीनौंसम्म मिहिनेत गर्ने कलाकारहरू पनि छन् । कागजको क्यानभासमा बनाइने पेन्टिङ अन्य माध्यममा बनाइने भन्दा केही सस्ता हुन्छन् । व्यावसायिक रुपमा पेन्टिङ बनाउँदै आएका कलाकारले रु.५ हजारदेखि रु.२५ हजारसम्मका राम्रा पेन्टिङ बिक्री गरिरहेका छन् । पेन्टिङ संकलनको सोख भएकाहरूले भने अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका नेपाली कलाकारहरूबाट रु.२० लाखभन्दा बढीसम्म तिरेर पेन्टिङ खरीद गर्ने गरेको जानकारहरू बताउँछन् ।

कोठामा कस्तो पेन्टिङ सुहाउँछ भन्ने निर्धारण गर्न सजिलो भने छैन । यो व्यक्तिगत रुचि, सोच र दर्शनमा निर्भर रहन्छ । कसैलाई कोठाको भित्तामा लगाइएको रंगसँग तालमेल गर्ने रंगको पेन्टिङ मन पर्ला कसैलाई बिल्कुल अलग रंगको पेन्टिङ मन पर्न सक्छ । कसैलाई शान्त र शीतल खालका पेन्टिङ मन पर्ला कसैलाई विद्रोह र आक्रामक पेन्टिङ रुचिकर लाग्छ । कसैलाई सदृश्य मूर्त पेन्टिङ मन पर्ला कसैलाई अमूर्त । तथापि, घरका सदस्य र आगन्तुकहरूले पनि रुचाउने मनलाई आनन्दित पार्ने, सुन्दर, शान्त, शीतल एवं सकारात्मक चिन्तन र ऊर्जा दिने खालका पेन्टिङ राख्नुपर्छ ।

घरको कोठा अनुसार पेन्टिङ पनि फरक–फरक राख्दा उपयुक्त हुन्छ । जस्तै, शयनकक्षमा प्रेम एवं स्नेह झल्काउने पेन्टिङ उपयुक्त हुन्छ भने बैठक कोठामा प्राकृतिक दृश्य देखाउने मनोरम छटाका, परिवारका सदस्यको मुहारचित्रका पेन्टिङ उपयुक्त हुन्छ । लेखपढ गर्ने कक्षमा चिन्तनशील, उत्साह जगाउने र अमूर्त पेन्टिङ उपयुक्त हुन सक्छ । हिंस्रक खालका, आक्रामक तथा नकारात्मक भाव पैदा गर्ने पेन्टिङ कोठामा सुहाउँदैनन् । मानिसको चिन्तन र विचार निर्माणमा समेत पेन्टिङको प्रभाव पर्ने भएकाले यसको छनोट गर्दा विशेष ध्यान पुर्‍याउनुपर्छ । घरमा उत्साह र खुशीको माहोल बढाउने पेन्टिङ राम्रो मानिन्छ ।

पेन्टिङ खरीद गर्नुअघि कुन कोठामा झुण्ड्याउने भन्ने निश्चित गर्नुपर्छ । पेन्टिङमा पर्याप्त प्रकाश पर्ने गरी भित्तामा झुण्ड्याउनुपर्छ । तर, कृत्रिम प्रकाश दिंदा विशेष ध्यान पुर्‍याउनुपर्छ । पेन्टिङको सुरक्षाका लागि सोझै घाम पर्ने वा ओसिलो ठाउँमा झुण्ड्याउनुहुँदैन ।

comments powered by Disqus

रमझम