१०-१६ भदौ २०७५ | 26 Aug - 1 Sep 2018

बिम्स्टेक र नेपाली कूटनीति

Share:
  
- टीकाराम राई
नेपाल बिम्स्टेक सम्मेलनको आयोजक राष्ट्र हुनु भनेको नेपाली कूटनीतिको प्रभाव सदस्य राष्ट्रहरूमा पर्नु हो।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को काठमाडौंमा हुने चौथो शिखर सम्मेलन (भदौ १४ र १५) को अन्तिम तयारी यतिबेला चलिरहेको छ । केही वर्षयता नेपालको कूटनीति भारत र चीनमा बढी केन्द्रित भइरहेको अवस्थामा अध्यक्ष राष्ट्रको हैसियतले यो सम्मेलन आयोजनाबाट दायरा फराकिलो भएर क्षेत्रीय तहमा पुगेको छ । सन् २०१४ को तेस्रो सम्मेलनपछि नेपाल यसको अध्यक्ष राष्ट्र भएको हो ।

सन् १९९७ मा जन्मेको बिम्स्टेकमा नेपालले २००४ मा सदस्यता पायो । यो संगठनमा सार्कका पाकिस्तान, अफगानिस्तान, माल्दिभ्स बाहेक नेपाल, भारत, बंगलादेश, भूटान, श्रीलंका, म्यानमार र थाइल्याण्ड सदस्य छन् । बिम्स्टेकले यातायात तथा सञ्चार, पर्यटन, प्रतिआतंकवाद तथा सीमा वारपार अपराध, वातावरण तथा प्रकोप व्यवस्थापन, ऊर्जा, जनस्वास्थ्य, गरीबी निवारण, जलवायु परिवर्तन, व्यापार तथा लगानी आदि विषयलाई प्राथमिकता दिएको छ । यीमध्ये नेपालले गरीबी निवारण अगाडि बढाएको विषय हो । भारतले पक्षपोषण गरेको विषय प्रतिआतंकवाद तथा सीमा वारपार अपराध नियन्त्रण, यातायात, सञ्चार, पर्यावरण तथा प्रकोप व्यवस्थापन हो । बंगलादेशले व्यापार तथा लगानी र जलवायु परिवर्तनलाई बढी महŒव दिएको छ ।

काठमाडौंमा हुने सम्मेलनमा बिम्स्टेक विकास कोष र बिम्स्टेक पूर्वाधार बैंक स्थापनाका लागि सहमति हुने सम्भावना छ । ऊर्जा ग्रिड इन्टरकनेक्सन सम्बन्धी समझ्दारीपत्रमा पनि हस्ताक्षर हुने भएको छ । यसअघि सन् २००४ मै बिम्स्टेक स्वतन्त्र व्यापार ढाँचामा सदस्य राष्ट्रहरूबीच सहमति भइसकेको छ । सन् २०१४ मा बिम्स्टेक प्रसारण अन्तर जडान समझ्दारीपत्रमा हस्ताक्षर भएको छ ।

संघीय प्रतिनिधिसभाले अन्तर्राष्ट्रिय आतंकवाद, सीमापार सांगठनिक अपराध र अवैध ओसारपसार सम्बन्धी बिम्स्टेकको सन्धिलाई ३ भदौमा अनुमोदन गरेको छ । यसले नेपालको कानूनसरह मान्यता पाउनेछ । बिम्स्टेक सदस्य राष्ट्रहरूले यस सन्धिमा सन् २००९ मा हस्ताक्षर गरेका थिए । भारत यो सन्धिलाई सदस्य राष्ट्रहरूमा अनुमोदन गराउन सक्रिय छ ।

भारतले पाकिस्तानलाई अन्तर्राष्ट्रिय आतंकवादको संरक्षक भएको आरोप लगाउने गरेको छ । भारत सो सन्धि मार्फत बिम्स्टेक सदस्य राष्ट्रहरूलाई पाकिस्तान विरुद्ध भड्काउन सक्रिय छ । पाकिस्तानमा १९औं सार्क शिखर सम्मेलन हुन नदिन भारतले काश्मिरको पठानकोट हवाई अड्डामा सन् २०१६ जनवरी २ मा भएको आतंककारी हमलालाई निहुँ बनायो । सो हमलापछि भारतले नोभेम्बर २०१६ मा इस्लामावादमा हुने तय भएको सार्क सम्मेलनमा आफू सहभागी नहुने जनाउ सार्क सचिवालयलाई दियो । त्यति मात्र नभई भूटान र नेपाललाई पनि त्यसमा सहमति गराई वक्तव्य जारी गर्न लगायो । तथापि पछि अर्को वक्तव्य मार्फत नेपालको परराष्ट्र मन्त्रालयले अघिल्लो वक्तव्यको खण्डन गर्‍यो ।

दक्षिणएशियामा पाकिस्तान र चीनलाई निषेध गर्न सार्कको विकल्पका रूपमा बिम्स्टेकलाई भारतले उपयोग गरिरहेको आरोप छ । १९औं सार्क सम्मेलन भाँड्न भारत सक्रिय भएबाट त्यो आरोपलाई बल पुर्‍याउँछ । सार्कमा चीन पर्यवेक्षकको भूमिकामा रहे पनि पछिल्लो समय पाकिस्तान मार्फत प्रभावशाली बनिरहेको छ । सार्कमा चीनको प्रभाव बढ्दा भारतको रणनीतिक स्वार्थमा प्रतिकूल असर पर्न सक्ने हुँदा ऊ सार्कलाई कोमामै राख्न चाहन्छ । देउवा सरकार त्यसका लागि सहयोगी बन्यो ।

बिम्स्टेक सम्मेलनलगत्तै भारतको पहलमा दक्षिण भारतमा सदस्य राष्ट्रहरूको प्रतिआतंकवाद सैन्य अभ्यास हुँदैछ । सो कार्यक्रमले पाकिस्तान र चीनलाई सशंकित बनाएको छ । प्रतिआतंकवाद सैन्य अभ्यास भनिए पनि त्यो पाकिस्तान र चीन विरुद्ध लक्षित भएको भारतीय सुरक्षा सल्लाहकार अशोक मेहताले बीबीसी नेपाली सेवासँगको अन्तरवार्तामा बताए । प्राविधिक तथा आर्थिक क्षेत्रमा सहकार्य गर्न स्थापित क्षेत्रीय संस्थालाई सैन्य उद्देश्यका लागि प्रयोग गरिनु चिन्ताको विषय हो ।

नेपालले बिम्स्टेकलाई गरीबी निवारण र ऊर्जा निर्यातमा उपयोग गर्न खोज्नु स्वागतयोग्य छ । गरीबी निवारणका लागि विकास कोष र पूर्वाधार बैंक स्थापना हुँदैछ । ऊर्जा प्रसारण लाइन सदस्य राष्ट्रहरूबीच पुर्‍याउन नेपाल र बंगलादेशले यो सम्मेलनमा विशेष पहल गर्ने भएका छन् । यो प्रयास सफल भए नेपाली ऊर्जाले म्यानमारसम्म पहुँच पाउने नेपाली अधिकारीहरूको दाबी छ ।

नेपाल बिम्स्टेक सम्मेलनको आयोजक राष्ट्र हुनु भनेको नेपाली कूटनीतिको प्रभाव सदस्य राष्ट्रहरूमा पर्नु हो । नेपाल अब सार्क सम्मेलन गराउन पनि सक्रिय हुनुपर्छ । सार्कको जीवन्ततासँग नेपालको सुन्दर भविष्य जोडिएको छ ।

comments powered by Disqus

रमझम